Logo

अर्थ

राष्ट्रिय गौरवका आयोजनाको लागत २४ खर्ब १५ अर्ब पुग्यो



काठमाडौँ। सरकारले आमनागरिकलाई विकासको प्रवाहमा समाहित गर्ने र तीव्र आर्थिक विकासका लागि भनेर अगाडि बढाएका राष्ट्रिय गौरवका आयोजनामा गरिएको लगानीबाट अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको पाइएको छ।

महालेखापरीक्षकको ६३औँ प्रतिवेदनअनुसार राष्ट्रिय गौरवका आयोजनामा पाँच खर्ब चार अर्ब ५५ करोडबराबर लगानी भएको छ। त्यसमध्ये हालसम्म तीनवटा मात्रै त्यस्ता आयोजना सम्पन्न भएका छन्। कुल २७ वटा राष्ट्रिय गौरवका आयोजनामा गरिएको लगानीअनुसारको प्रतिफल हासिल हुन नसकेको प्रतिवेदनमा उल्लेख छ।

राष्ट्रिय गौरवका आयोजनाको संशोधित लागत अनुमान रु २४ खर्ब १५ अर्ब छ करोड ९७ लाख र ६९ दशमलव सात करोड अमेरिकी डलर रहेको छ। गौतमबुद्ध विमानस्थल, माथिल्लो तामाकोशी जलविद्युत् आयोजना र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलमात्रै सम्पन्न भएका छन्।

समष्टिगत रूपमा भौतिक प्रगति ८० प्रतिशत वा सोभन्दा माथि हासिल गर्ने पाँचवटा आयोजना छन्। यस्तै, ५० देखि ८० प्रतिशत हासिल गर्ने चारवटा छन्। पचास प्रतिशतभन्दा न्यून प्रगति भएका आयोजनाको सङ्ख्या नौ, भौतिक प्रगति नखुलेका चार र सुरु नै नभएका दुई आयोजना छन्।

आव २०७८/७९ सम्म सम्पन्न गर्नुपर्ने अवधि रहेको पशुपति क्षेत्र विकास कोषको हालसम्मको प्रगतिसमेत नखुलेको प्रतिवेदनमा उल्लेख छ।

अधिकांश आयोजना कार्यक्षेत्र थप गर्दै जाने तथा निर्माण सम्पन्न गर्नुपर्ने अवधिमा नसकिएका कारण लगानीअनुसारको प्रतिफल हासिल हुनसकेको छैन। तोकिएको अवधिमा सम्पन्न हुनेगरी आयोजनाको व्यवस्थापन हुनुपर्नेमा प्रतिवेदनले जोड दिएको छ।

यस्तै, आयोजनाको बारम्बार म्याद थपिने प्रवृत्ति देखिएको छ। सोही कारणले लागत वृद्धि हुनुका साथै आयोजनाको प्रभावकारितामा समेत प्रश्न उठेको छ।

प्रकाशित मिति : १ जेष्ठ २०८३, शुक्रबार १९:३९   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।