Logo

बजार

अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो



चितवन । गर्मी मौसमसँगै अण्डा उत्पादन घटेपछि बजारमा मूल्य बढेको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घ ले आइतबार अण्डाको समर्थन मूल्य बढाएको जनाएको हो।

सङ्घका अनुसार ठूलो अण्डाको फार्म मूल्य प्रतिकरेट (३० वटा) ५१५ रुपैयाँ र मध्यम अण्डाको ४८५ रुपैयाँ कायम गरिएको छ। यसअघि ठूलो अण्डाको मूल्य ४८५ रुपैयाँ र मध्यम अण्डाको ४३५ रुपैयाँ थियो।

सङ्घका सचिव मदन पोखरेल का अनुसार उपभोक्ता मूल्य प्रतिगोटा २५ रुपैयाँ तोकिएको छ।

सङ्घका अध्यक्ष विनोद पोखरेल ले गर्मीका कारण उत्पादन घट्नु र दुई दिने सार्वजनिक बिदाका कारण पर्यटकको चहलपहल बढ्दा अण्डाको माग बढेको बताए।

“किसान कुखुरापालन व्यवसायबाट पलायन भइरहेका छन्, जनशक्तिको अभाव छ,” उनले भने, “विभिन्न रोगका कारण कुखुरा मरेपछि उत्पादनमा असर परेको हो।”

उनका अनुसार अण्डाको लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्ने भए पनि किसानले अझै लागतअनुसारको मूल्य पाउन नसकेको दाबी गरेका छन्। विभिन्न कृषि फार्मले निर्धारण गरेको मूल्यलाई समायोजन गरेर सङ्घले समर्थन मूल्य तय गर्ने गरेको उनले जानकारी दिए।

सङ्घले सार्वजनिक गरेको विवरणअनुसार नवलपरासीस्थित दाउन्ने एग्रो फार्ममा ठूलो अण्डाको मूल्य प्रतिपेटी ३ हजार ९५० रुपैयाँ र मध्यमको ३ हजार ७५० रुपैयाँ कायम गरिएको छ।

त्यस्तै, हिमचुली पोल्ट्री, खिलुङ एग्रो, जनकपुर एग्रो, पूर्वाञ्चल पोल्ट्री, शिवम् पोल्ट्री, लक्ष्य पोल्ट्री, खजाना एग्रो, नेशनल काजी एग्रो, सुविसर काठमाडौं त्रिशूली, मोडेल पोल्ट्री र एनएमए पोल्ट्रीले पनि प्रतिपेटी ३ हजार ९५० देखि ३ हजार ९८० रुपैयाँसम्म मूल्य निर्धारण गरेका छन्। एउटा पेटीमा सात क्रेट अर्थात् २१० वटा अण्डा हुने सङ्घले जनाएको छ।

व्यवसायीका अनुसार पछिल्ला केही वर्षयता लागतअनुसार मूल्य नपाउँदा किसान कुखुरापालन व्यवसायबाट बाहिरिन थालेका छन्। कुखुरामा रोग फैलिनु, उत्पादन घट्नु र बैंक ऋणको भार बढ्नुले व्यवसाय थप संकटमा परेको उनीहरूको भनाइ छ।

प्रकाशित मिति : ३ जेष्ठ २०८३, आईतवार २१:२३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।