काठमाडौं। गायक तथा निर्माता रामकृष्ण ढकालद्वारा निर्मित चलचित्र मालती मंगले बक्स अफिसमा अपेक्षाकृत व्यापार गर्न नसक्दा निर्माण पक्ष तनावमा छ।
ढकालविरुद्ध सामाजिक सञ्जालमै बहिष्कारको अभियानसमेत चल्न थालेपछि चलचित्रको व्यापार प्रभावित भएको निर्माण पक्षले जनाएको छ।
गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको उक्त चलचित्रले पहिलो सातामा ४४ लाख ७८ हजार रुपैयाँ मात्र कमाएको चलचित्र विकास बोर्डको बक्स अफिस विवरणमा उल्लेख छ।
व्यापार सुस्त देखिए पनि निर्माता ढकालले भने हालै दिएको एक अन्तर्वार्तामा चलचित्रले आफ्नो लगानी सुरक्षित गर्ने विश्वास व्यक्त गरेका छन्। केहि समय अघि ढकालले एक टेलिभिजनमा अन्तर्वार्ता दिएका थिए।
चलचित्र प्रवर्द्धनका क्रममा पत्रकार प्रकाश सुवेदीको कार्यक्रममा पुगेका ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आँफैले भगाएको बताएपछि उनी विवादमा तानिएका थिए।
कार्यक्रमको ‘चिन्नु हुन्छ?’ भन्ने सेगमेन्टमा सुवेदीले रवि लामिछाने नख्खु कारागारबाट रिहा हुँदा देखिएको एउटा पुरानो भिडियो देखाएका थिए।
जेन–जी आन्दोलनका बेला सामाजिक सञ्जालमा भाइरल भएको उक्त भिडियोमा लामिछानेलाई गाडीमा राखेर लैजाने व्यक्ति को हो भन्ने स्पष्ट भएको थिएन।
तर, ढकालले ‘गाडी मेरै हो र मैले नै चलाएको थिएँ’ भनी स्वीकार गरेपछि उनीमाथि चौतर्फी आलोचना सुरु भएको थियो। त्यसपछि सामाजिक सञ्जालमा केहि समूहले सहकारी मुद्दामा जेलमा रहेका लामिछानेलाई जेलबाट निस्कन सघाएको भन्दै चलचित्र बहिष्कार गर्ने अभियान चलाएका थिए।
कतिपयले ढकाललाई ‘खरानी ग्याङको ड्राइभर’ भन्दै टिप्पणी समेत गरेका थिए। निर्माण टिमले चलचित्रको व्यापक प्रचारप्रसार गरे पनि सामाजिक सञ्जालमा फैलिएको नकारात्मक टिप्पणी र बहिष्कार अभियानका कारण व्यापारमा प्रत्यक्ष असर परेको छ।
यता सोहि बिषयलाई व्यक्तिगत चरित्रमाथि नै आँच आउने गरी भ्रामक प्रचार गरिएको भन्दै ढकालले त्यस्ता व्यक्तिविरुद्ध मानहानिको कसुरमा कानुनी प्रक्रिया समेत अघि बढाएका छन्।






















प्रतिक्रिया