Logo

विविध

काफल बेच्ने महिला माथि नगर प्रहरीको दुर्व्यवहार नगरप्रमुखले दिइन् १० हजार क्षतिपूर्ति



सुर्खेत। वीरेन्द्रनगर नगरपालिकाका नगर प्रहरीबाट दुर्व्यवहारमा परेकी डोकाका काफल बेच्ने महिला धमिला चौलागाईलाई नगरप्रमुख मोहनमाया ढकालले १० हजार रुपैयाँ क्षतिपूर्ति दिएकी छन् ।

बुधबार नगरप्रमुखको कार्यकक्षमा बोलाएर ढकालले उनलाई राहत तथा प्रोत्साहनस्वरूप १० हजार रुपैयाँ प्रदान गरेकी हुन् ।

मंगलबार साँझ वीरेन्द्रनगर–६ स्थित सिटी बसपार्कमा फुटपाथ व्यवस्थापन गर्ने क्रममा नगर प्रहरीले धमिलाको काफलको डालो जबरजस्ती घोप्ट्याइदिएका थिए ।

सामान जोगाउन खोज्दा पनि प्रहरीले जबरजस्ती डालो पल्टाउँदा काफल भुइँमा छरपस्ट भएको भिडियो भाइरल भएको थियो ।

भिडियो सार्वजनिक भएपछि चौतर्फी आलोचना भएपछि नगरपालिकाले दुर्व्यवहार गर्ने प्रहरीलाई कारबाही र पीडित महिलालाई क्षतिपूर्ति दिने निर्णय गरेको थियो ।

कालीकोट घर भएकी धमिला हाल वीरेन्द्रनगर–३ मा बस्दै आएकी छन् । उनको करिब ७–८ सय रुपैयाँ बराबरको काफल नोक्सान भएको थियो । नगरप्रमुख ढकालले क्षतिको मूल्यसहित थप सहयोगस्वरूप १० हजार दिएको बताइन् ।

नगरप्रमुखले धमिलालाई सुरक्षित ठाउँमा बसेर व्यापार गर्न आग्रह गर्दै आगामी दिनमा समस्या भए सहयोग गर्ने आश्वासन पनि दिएकी छन् ।

क्षतिपूर्ति पाएपछि धमिला खुसी हुँदै फर्किएकी थिइन् भने उनको बुधबारको सबै काफल जनप्रतिनिधि र कर्मचारीले खरिद गरिदिएका थिए ।

प्रकाशित मिति : ६ जेष्ठ २०८३, बुधबार १८:३७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।