काठमाडौं। नेपाली सेनाले विगतका वर्षमा सञ्चालित उद्धार तथा राहत अभियानबाट प्राप्त अनुभव र सिकाइलाई आधार मानेर यस वर्ष मनसुनपूर्व व्यापक तयारी तथा प्रतिकार्य योजना तयार गरी कार्यान्वयनमा ल्याउने भएको छ।
सेनाले यस अभियानमा संघीय, प्रदेश तथा स्थानीय सरकारका निकाय, अन्य सुरक्षा निकाय, गैरसरकारी संस्था र स्थानीय समुदायसँग सहकार्य र समन्वयलाई विशेष प्राथमिकता दिएको छ।
सेनाका अनुसार विपद्का समयमा तत्काल परिचालन हुन सक्ने गरी जिल्लास्थित गण तथा गुल्ममा आवश्यक सङ्ख्यामा फौज तयारी अवस्थामा राखिएको छ।
साथै, प्रदेशस्तरका सबै पृतनामा विशेष क्षमतायुक्त खोज तथा उद्धार टोली तैनाथ गरिएको छ, जसले बाढी, पहिरो र अन्य विपद्का घटनामा छिटो र प्रभावकारी उद्धार सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।
दुर्गम क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्याउन सेनाले हेलिकप्टर र अन्य हवाई साधनहरू पनि तयारी अवस्थामा राखेको छ। काठमाडौँबाहेक सुर्खेत र इटहरीमा एक/एक वटा हेलिकप्टर ‘स्ट्यान्डबाइ’ राखिएको छ भने मौसम पूर्वानुमान अनुसार थप हवाई साधनलाई उपयुक्त स्थानमा पूर्वतैनाथ गर्ने योजना रहेको छ।
राजमार्ग अवरुद्ध भएमा तत्काल यातायात सञ्चालन गर्न ‘बेलिब्रिज’ तथा द्रुत यान्त्रिक पुलहरू तयारी अवस्थामा राखिएको छ। धादिङ, चितवन र बाराका विभिन्न स्थानमा बेलिब्रिज राखिएका छन् भने गौचरस्थित ब्यारेकमा तीन वटा द्रुत यान्त्रिक पुल राखेर आवश्यक परेको अवस्थामा छिटो परिचालन गर्न सकिने व्यवस्था मिलाइएको छ।
मनसुनजन्य विपद्को समयमा घाइते र प्रभावित नागरिकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन सैनिक अस्पतालबाट चिकित्सकसहितको टोली परिचालन गर्न सकिने गरी जनशक्ति, उपकरण र औषधि तयारी अवस्थामा राखिएको छ। प्रत्येक पृतनामा औषधि, खाद्यान्न र अन्य राहत सामग्री पनि व्यवस्थापन गरिएको छ।
सैनिक इन्जिनियरिङ विभागबाट आवश्यक परेको अवस्थामा ‘हेभी इक्विप्मेन्ट’ र अपरेटरसहितका सवारीसाधन परिचालन गर्न सकिने व्यवस्था मिलाइएको छ। यसले पहिरो पन्छाउने, सडक खुलाउने र क्षतिग्रस्त संरचनाको मर्मतमा सहयोग पुर्याउने विश्वास गरिएको छ।
नेपाली सेनाले विपद् व्यवस्थापन केवल एउटा निकायको प्रयासमा सीमित नरहने भएकाले स्थानीय समुदाय र सबै सरोकारवालासँग समन्वय र योजनाबद्ध प्रतिकार्य आवश्यक रहेको बताएको छ। विगतका मनसुनजन्य विपद्बाट सिकेका पाठका आधारमा केन्द्रदेखि जिल्ला तहसम्म तयारी अझ प्रभावकारी बनाइएको छ।
यसै क्रममा सेनाको नेतृत्वमा विभिन्न सरकारी निकाय, राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहभागितामा वैशाख २१–२३ गते जङ्गी अड्डामा ‘अभ्यास हातेमालो’ सञ्चालन गरिएको थियो। अभ्यासले विपद्सम्बन्धी गतिविधि समीक्षा, प्रतिकार्य क्षमता अभिवृद्धि र सरोकारवालाबीच समन्वय बलियो बनाउने उद्देश्य राखेको थियो।
सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार प्रत्येक वर्ष दोहोरिने मनसुनजन्य विपद्का प्रभावकारी प्रतिकार्यका लागि पूर्व तयारी योजनाअनुसार संयुक्त अभ्यास सञ्चालन गर्दै सबै सरोकारवालासँग समन्वय गरेर जनधनको क्षति न्यूनीकरण गर्न नेपाली सेना कटिबद्ध छ।
सेनाको यो व्यापक तयारीले विपद् व्यवस्थापन प्रणाली सुदृढ बनाउने मात्र होइन, नागरिकमा सुरक्षा र भरोसाको भावना पनि बढाउने अपेक्षा गरिएको छ।





















प्रतिक्रिया