Logo

समाचार

पाथीभरा केबलकारविरुद्ध पहिचानवादी पुनः आन्दोलित, सीडीओमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र



विराटनगर। ताप्लेजुङको मुक्कुमलुङ–पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकार परियोजनाको विरोधमा पहिचानवादी पक्ष पुनः आन्दोलनमा उत्रिएको छ ।

कोशी प्रदेशका अरुणपूर्वका नौ जिल्लामा गठित लिम्बूवान जिल्ला स्तरीय अन्तरदलीय संघर्ष समितिले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै आन्दोलन जारी रहने चेतावनी दिएको हो ।

समितिले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार गठनपछि केबलकार परियोजना रोक्ने आश्वासन पाएको दाबी गरेको छ । तर, लामो समय बित्दासमेत निर्माण कार्य नरोकिएको तथा परियोजना क्षेत्रमा राखिएको सशस्त्र प्रहरीको बेसक्याम्प नहटाइएकाले पुनः आन्दोलन गर्नुपरेको उनीहरूको भनाइ छ ।

ज्ञापनपत्रमा मुक्कुमलुङ क्षेत्र लिम्बु/याक्थुङ समुदायको धार्मिक, सांस्कृतिक तथा मुन्धुमी आस्थासँग जोडिएको पवित्र स्थल भएकाले यसको संरक्षण गरिनुपर्ने उल्लेख गरिएको छ । उनीहरूले ‘पाथीभरा’ नामकरणमार्फत राज्यले २०५३ सालदेखि उक्त क्षेत्रलाई व्यापारीकरणतर्फ धकेलेको आरोपसमेत लगाएका छन् ।

संघर्ष समितिले २०७५ सालमा तत्कालीन मन्त्रिपरिषद्ले स्वीकृति दिएको पाथीभरा देवी दर्शन केबलकार योजना तत्काल खारेज गर्न माग गरेको छ ।

निर्माणाधीन परियोजना अवैध रूपमा अघि बढाइएको दाबी गर्दै उनीहरूले यसले वातावरणीय असर पार्ने, स्थानीय संस्कृतिमा हस्तक्षेप गर्ने तथा समुदायको अधिकारमाथि गम्भीर प्रभाव पर्ने बताएका छन् ।

यसअघि सरकार परिवर्तनपछि परियोजना रोक्ने र निर्माणस्थलमा खटाइएको सशस्त्र प्रहरी हटाउने आश्वासन पाएको भन्दै पहिचानवादी आन्दोलनका अगुवाले सामाजिक सञ्जालमार्फत स्वागत गरेका थिए । तर, ती प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै उनीहरूले आन्दोलनलाई पुनः सक्रिय बनाएका हुन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार ०८:०३   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।