Logo

बैंकिङ

कर्मचारीको सुविधाका लागि बाल हेरचाह केन्द्र निर्माण गर्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्ना कर्मचारीहरूका लागि बाल हेरचाह केन्द्र निर्माण गर्ने भएको छ। बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले बालुवाटारस्थित ब्लक ‘ए’ मा केन्द्र निर्माणका लागि करिब ३५ लाख रुपैयाँ बराबरको बोलपत्र आह्वान गरेको हो।

राष्ट्र बैंकले विशेषगरी साना बालबालिका भएका कर्मचारीहरूलाई कार्यस्थलमै सहज र सुरक्षित वातावरण उपलब्ध गराउने उद्देश्यले यो पहल थालेको जनाएको छ।

श्रम ऐन २०७४ अनुसार पनि धेरै महिला कर्मचारी कार्यरत रहेका संस्थाहरूले शिशु स्याहार केन्द्र वा स्तनपान कक्षको व्यवस्था गर्नुपर्ने प्रावधान छ।

बैंकले केन्द्र निर्माणका लागि ३४ लाख ९४ हजार ४ सय ३३ रुपैयाँ ९९ पैसा लागत अनुमान गरेको छ। इच्छुक नेपाली निर्माण व्यवसायीहरूले आगामी जुन १७, २०२६ (असार ३, २०८३) दिउँसो १२ बजेसम्म अनलाइनमार्फत बोलपत्र पेश गर्न सक्नेछन्।

बोलपत्र प्रक्रियामा सहभागी हुन ३ हजार रुपैयाँ दस्तुर तथा ९० हजार रुपैयाँ धरौटी राख्नुपर्ने सूचनामा उल्लेख छ।

निर्माण हुने केन्द्रमा बालबालिकाका लागि खेल्ने, सुत्ने तथा सामान्य सिकाइका सुविधा रहने जनाइएको छ। कार्यालय समयमा कर्मचारीहरूले आफ्ना बालबालिकाको सुरक्षाबारे चिन्ता लिनु नपरोस् भन्ने उद्देश्यले यस्तो सुविधा थप गर्न लागिएको बैंकको भनाइ छ।

विशेषगरी सुत्केरी बिदापछि काममा फर्किने महिला कर्मचारीहरूका लागि यो केन्द्र उपयोगी हुने अपेक्षा गरिएको छ। बालबालिका कार्यालय परिसरभित्रै सुरक्षित रहेको विश्वासले कर्मचारीहरूको मानसिक तनाव कम हुनुका साथै काममा ध्यान केन्द्रित गर्न सहज हुने बैंकको विश्वास छ।

बालबालिकाको हेरचाहका कारण धेरै महिला कर्मचारीले जागिर छाड्नुपर्ने अवस्था देखिने भएकाले यस्तो सुविधा निर्माणले अनुभवी जनशक्ति संस्थामै टिकाइराख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

राष्ट्र बैंकको यो कदमले अन्य बैंक तथा वित्तीय संस्थाहरूलाई पनि कर्मचारीमैत्री पूर्वाधार विकासतर्फ प्रेरित गर्ने विश्वास गरिएको छ।

प्रकाशित मिति : १२ जेष्ठ २०८३, मंगलवार १९:२७   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।