दैलेख । दैलेखको भैरवी गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा चालकसहित तीन जनाको ज्यान गएको छ । पाँच जना गम्भीर घाइते भएका छन् ।
सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको सु.प. ०१–००१ च. ४९६४ नम्बरको जिप भैरवी गाउँपालिका–५, कालगौँडामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाका अनुसार दुर्घटनामा कालीकोटको शुभकालिका गाउँपालिका–५ का ३५ वर्षीय चालक कलबहादुर रोकाय, शुभकालिका गाउँपालिका–४ का ३८ वर्षीय मित्र सुनार र शुभकालिका गाउँपालिका–६ की ५५ वर्षीया पुल्तीसरा विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा शुभकालिका गाउँपालिका–४ का अन्दाजी ३८ वर्षीय चक्र सुनार, २६ वर्षीय सुमत विक, ४० वर्षीय नैन सुनार, शुभकालिका गाउँपालिका–६ का २० वर्षीय भरत विक तथा शुभकालिका गाउँपालिका–५ का २५ वर्षीय कलम सुनार गम्भीर घाइते हुनुभएको छ ।
प्रहरीका अनुसार घाइतेहरूको दुर्घटनास्थलबाट उद्धार गरी जिल्ला अस्पताल दैलेखमा उपचारका लागि ल्याइएको थियो । तर अवस्था गम्भिर भएकाले थप उपचारका २६ वर्षीय सुमत विक र ४० वर्षीय नैन सुनारलाई प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको छ ।
३८ वर्षीय चक्र सुनार, २० वर्षीय भरत विक र कलम वर्ष २५ को जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान गर्नका लागि प्रहरी प्रमुख श्रवणकुमार विकको संयोजकत्वमा छानबिन समिति गठन गरी घटनाबारे अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।




















प्रतिक्रिया