काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरनेशनलले नाइमा मोबिलिटी एक्स्पोमा नेपालमै एसेम्बल गरिएका नयाँ मोडलदेखि प्रिमियम विद्युतीय एसयूभीसम्म प्रदर्शनमा राखेको छ।
एक्स्पोमा हुन्डाईको मुख्य आकर्षणका रूपमा नेपालमै एसेम्बल गरिएको नयाँ पुस्ताको हुन्डाई भेन्युलाई प्रस्तुत गरिएको छ। हुन्डाई सोरुम थापाथलीका इन्चार्ज सुरेश श्रेष्ठका अनुसार नेपालमै एसेम्बल गरिएको भेन्युले एक्स्पोमा उपभोक्ताको विशेष ध्यान खिचिरहेको छ।
कम्पनीले युवा तथा स्पोर्टी ड्राइभिङ रुचाउने ग्राहकलाई लक्षित गर्दै भेन्यु एन लाइन पनि नेपाली बजारमा पहिलोपटक ल्याएको छ। नियमित भेन्युको तुलनामा थप स्पोर्टी डिजाइन र प्रिमियम विशेषतासहित आएको एन लाइनमा नयाँ डिजाइनको स्टेरिङ ह्विल, ठूलो टचस्क्रिनसहित आधुनिक सुविधा उपलब्ध छन्।
त्यस्तै, प्रिमियम र ठूलो आकारको विद्युतीय एसयूभी खोज्ने ग्राहकलाई लक्षित गर्दै कम्पनीले ७ सिट क्षमताको हुन्डाई आयोनिक ९ पनि एक्स्पोमा प्रदर्शनमा राखेको छ। हुन्डाईको लोकप्रिय एसयूभी क्रेटा समेत एक्स्पोमा ग्राहकले प्रत्यक्ष अवलोकन गर्न सक्ने गरी राखिएको छ।
लक्ष्मी इन्टरनेशनलले गाडी बिक्रीसँगै बिक्रीपछिको सेवामा पनि नयाँ अवधारणा अघि सारेको जनाएको छ। कम्पनीले राजमार्ग क्षेत्रमा ‘रिल्याक्स’ नामक नयाँ अवधारणा सुरु गरेको छ, जहाँ ग्राहकले एउटै स्थानमा सवारीसाधनको सर्भिसिङसँगै विद्युतीय गाडी चार्ज गर्ने सुविधा समेत पाउनेछन्।
एक्स्पोमा गाडी खरिद गर्न चाहने ग्राहकलाई सहज वित्तीय सुविधा उपलब्ध गराउन कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थासँग सहकार्य गरेको छ। यसबाट ग्राहकले एक्स्पोमै आवश्यक फाइनान्स प्रक्रियाबारे जानकारी लिनुका साथै गाडी खरिदका लागि वित्तीय सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
नेपालमा विद्युतीय तथा पेट्रोलियम दुवै प्रविधिका सवारीसाधनको माग बढिरहेका बेला हुन्डाईले एक्स्पोमार्फत स्थानीय रूपमा एसेम्बल हुने मोडलदेखि प्रिमियम विद्युतीय एसयूभीसम्मको आफ्नो उत्पादन दायरा प्रस्तुत गरेको हो।















प्रतिक्रिया