पाल्पा । अविरल वर्षासँगै आएको पहिरोले पाल्पाका विभिन्न स्थानमा जनजीवन प्रभावित भएको छ। पहिरोले दुईवटा घर पूर्ण रूपमा क्षतिग्रस्त बनाउनुका साथै जिल्लाका प्रमुख तथा ग्रामीण सडकहरू अवरुद्ध भएका छन्। रिब्दीकोट गाउँपालिका–६ धुस्तुङको गोलफानमा पहिरोमा परी एक महिला बेपत्ता भएकी छन्।
बिहीबार दिउँसो घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुंगा–माटो बगेर आउँदा स्थानीय केसुराम सारुमगर र रामबहादुर उचाईका कच्ची घर पहिरोले पुरिएका हुन्।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार रामबहादुरको चार जनाको परिवार सकुशल छ।
केसुरामको चार जनाको परिवारमध्ये उनकी ५९ वर्षीया श्रीमती कृष्णकुमारी सारु भने पहिरोमा परी बेपत्ता भएकी छन्। परिवारका अन्य सदस्य सुरक्षित रहेको प्रहरीले जनाएको छ। पहिरोले दुवै घर पूर्ण रूपमा क्षतिग्रस्त भए पनि चौपायामा भने क्षति नभएको प्रहरीले जनाएको छ।
निरन्तर वर्षा भइरहेका कारण उद्धार तथा खोजी कार्यमा कठिनाइ भएको छ। घरभन्दा माथिको मोटरबाटोबाट ढुंगा–माटोसहितको लेदो निरन्तर बगिरहेकाले बेपत्ता सारुको खोजीमा समस्या भएको प्रहरीले जनाएको छ।
यसैबीच सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–३ को तल्लो सिद्धबाबा मन्दिर नजिक तथा तिनाउ–५ को चरचरे र जोरधाराबीच विभिन्न स्थानमा माथिबाट ढुंगा खसेपछि सडक अवरुद्ध भएको थियो। पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइए पनि माथिबाट पहिरो खस्ने क्रम नरोकिएको प्रहरीले जनाएको छ।
रिब्दीकोट–५ को माराबास र बोदीस्थित बतासेबाट रैनादेवी छहरा जाने भित्री सडकखण्डमा पनि पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ। त्यस्तै तानसेन–हार्थोक–छहरा सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेपछि सवारी आवागमन ठप्प भएको छ।
हार्थोक–बतासे सडकअन्तर्गत कसुमखोला क्षेत्रमा निर्माणाधीन सडक माथिबाट पहिरो खसेपछि यातायात सेवा प्रभावित भएको स्थानीय भुवन रायमाझीले बताए। सडक अवरुद्ध हुँदा एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका सवारीसाधनसमेत बाटोमै रोकिएका छन्।
ग्रामीण क्षेत्रबाट सदरमुकाम तथा अन्य सहरमा दूध पुर्याउने सवारीसाधन रोकिँदा कृषक तथा व्यवसायीसमेत प्रभावित भएका छन्। दूधलगायत छिट्टै बिग्रिने वस्तुको ढुवानीमा अवरोध हुँदा थप समस्या भएको रायमाझीले बताए।
स्थानीय प्रशासन र सम्बन्धित निकायले पहिरो पन्छाएर सडक सञ्चालन गर्ने प्रयास गरिरहेका छन्। तर लगातार वर्षा भइरहेकाले उद्धार तथा सडक खुलाउने काममा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
सम्भावित बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै सिद्धार्थ राजमार्गको दोभान–सिद्धबाबा सडकखण्डमा रातिको समयमा सवारी आवागमन रोकिएको छ।
जिल्ला प्रशासन कार्यालय पाल्पाले बिहीबारदेखि सोमबारसम्म बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सवारी आवागमन बन्द गरेको जनाएको छ।


















प्रतिक्रिया