काठमाडौं । देशका अधिकांश क्षेत्रमा मौसम बदली भई लगातार वर्षा भइरहेको छ। बंगालको खाडीमा विकसित न्यूनचापीय क्षेत्रको प्रभावका कारण वर्षा जारी रहँदा विभिन्न खोलानालामा जलसतह बढेको छ।
वर्षाका कारण ठाउँठाउँमा पहिरो खसेर सडक अवरुद्ध हुन थालेका छन्। यसैबीच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को जोखिमका आधारमा ७७ जिल्लालाई रातो, सुन्तला र पहेँलो गरी तीन वर्गमा विभाजन गरेको छ।
प्राधिकरणका अनुसार २५ जिल्ला रातो वर्गमा छन्। यी जिल्लालाई बाढी तथा पहिरोको उच्च जोखिममा राखिएको छ। जोखिमलाई ध्यानमा राख्दै ती जिल्लामा राति र दिउँसो दुवै समयमा सवारीसाधन सञ्चालन पूर्णरूपमा बन्द गर्न प्राधिकरणले सुझाव दिएको छ।
त्यस्तै, २९ जिल्ला सुन्तला वर्गमा छन्। ती जिल्लामा रातिको समयमा सवारीसाधन सञ्चालन बन्द गर्न तथा दिउँसोको अवस्था हेरेर जिल्ला मनसुन प्रतिकार्य कमान्ड पोस्टले आवश्यक निर्णय लिन भनिएको छ।
बाँकी २३ जिल्ला पहेँलो वर्गमा छन्। यी जिल्लामा सम्भावित बाढी, पहिरो तथा अन्य मनसुनजन्य जोखिमप्रति सतर्क रहन प्राधिकरणले आग्रह गरेको छ।
लगातारको वर्षाका कारण सडक, नदी तथा खोलानालाको अवस्था जोखिमपूर्ण बन्न सक्ने भएकाले यात्रा गर्दा आवश्यक सावधानी अपनाउनसमेत सम्बन्धित निकायले अनुरोध गरेको छ।


















प्रतिक्रिया