Logo

समाचार

अरुण नदीमा पानीको बहाव बढेपछि ड्यामको काम रोकियो



संखुवासभा । अरुण नदीमा पानीको बहाव बढेपछि मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्याम निर्माण कार्य रोकिएको छ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार नदीको बहाव बढेपछि आयोजनाको निर्माणस्थलमा पानी पस्न थालेको हो। ड्राइभर्सनका लागि अस्थायी रूपमा बनाइएको टनेलबाट पानी पर्याप्त रूपमा निकास हुन नसकेपछि अस्थायी ड्याममाथिबाट पानी बगेको उनले बताए।

पानी निर्माणाधीन स्थायी ड्यामतर्फ समेत जान थालेपछि तत्कालका लागि ड्याम निर्माणको काम रोकिएको राजवंशीले जानकारी दिए।

उनका अनुसार आयोजनास्थलमा अरुण नदीको पानीको सतह ८१८.५० मिटर पुगेको छ। आयोजनास्थलमा पानीको सतह ८१७ मिटरभन्दा माथि पुग्दा जोखिमपूर्ण मानिने गरिएको छ।

प्रहरीका अनुसार आयोजनास्थलमा नदीको बहाव र समग्र अवस्थाको निरन्तर निगरानी भइरहेको छ। नदीको बहाव बढेपछि आयोजनाको ड्याम निर्माण कार्य प्रभावित भएको हो।

यसैबीच, वर्षाको गतिविधि बढ्ने तथा जिल्लाका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान रहेकाले नदी तथा खोलाको तटीय क्षेत्र र पहिरोको जोखिममा रहेका बस्तीमा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।

 

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार २०:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।