धनगढी । सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले बजेट शून्यताको अवस्था अन्त्य गर्दै बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउन प्रदेश सरकारलाई आग्रह गरेका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सर्वदलीय बैठकले विगतमा बजेट निर्माणका क्रममा उठ्दै आएका प्रश्नलाई सम्बोधन गर्दै छिटो बजेट ल्याउन सरकारलाई आग्रह गरेको हो।
नेपाल कम्युनिस्ट पार्टी, प्रदेशसभा संसदीय दलका नेता तथा मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा बसेको बैठकमा बजेट निर्माणका लागि विगतमा सबै दलको सहमतिमा तय गरिएका मापदण्ड कार्यान्वयन गर्ने विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा टुक्रे तथा छरिएका योजनालाई निरुत्साहित गर्दै प्रदेशको आवश्यकता र प्राथमिकताका आधारमा बजेट तथा योजना निर्माण गर्नुपर्नेमा दलहरूले जोड दिएका छन्।
प्रदेशसभा सदस्यहरूले सिफारिस गर्ने योजनासमेत रणनीतिक महत्व र वास्तविक आवश्यकतामा आधारित हुनुपर्ने बैठकको निष्कर्ष छ। प्रदेशको समग्र विकासमा प्रभाव पार्ने रूपान्तरणकारी, ठूला तथा प्राथमिकताप्राप्त योजनालाई बजेटमा समेट्नुपर्नेमा दलहरूबीच सहमति भएको जनाइएको छ।
टुक्रे योजनाका नाममा हुने बेथिति रोक्दै बजेटलाई प्रदेशको दीर्घकालीन आवश्यकता र विकासका प्राथमिकतासँग जोडेर अघि बढाउने विषयमा पनि बैठकमा सहमति भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।


















प्रतिक्रिया