काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो, डुबान, हावाहुरी र चट्याङका घटना भइरहेकाले जोखिम अझै कायम रहेको भन्दै उच्च सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेका छन् ।
आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री शाहले असोज ८ गतेदेखि हालसम्म विपद्का घटनामा परी देशभर २१ जनाको मृत्यु भएको जानकारी दिए ।
उनका अनुसार म्याग्दी, डोल्पा, धनुषा, पाल्पा, बागलुङ, लमजुङ, रुकुम पश्चिम, काभ्रे, धादिङ, मकवानपुर र सुर्खेतलगायत जिल्लामा मानवीय क्षति भएको छ । घटनामा पाँच जना घाइते भएका छन् भने पाँच जना बेपत्ता रहेको विवरण प्राप्त भएको उनले बताए ।
मनाङमा हिमपहिरोमा परी मानिस बेपत्ता भएको सूचना प्राप्त भएकाले त्यसबारे विवरण संकलन भइरहेको प्रधानमन्त्री शाहले जानकारी दिए ।
उनका अनुसार बाढी, पहिरो, डुबान र चट्याङसहित देशभर ४३९ वटा मनसुनजन्य घटना भएका छन् । विपद्का कारण सडक, पुल, जलविद्युत् आयोजना, खानेपानी प्रणालीलगायतका पूर्वाधारमा क्षति पुगेको छ । प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सुरक्षाकर्मीहरू परिचालन गरिएको उनले बताए ।
सरकारले यसअघि नै सम्भावित विपद्लाई ध्यानमा राखेर राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत कमान्ड पोस्ट सक्रिय बनाएको, सूचना सम्प्रेषण तथा रात्रीकालीन यातायात र विद्यालय बन्दलगायतका सावधानीका निर्णय गरेको प्रधानमन्त्री शाहले बताए । ७७ वटै जिल्ला कमान्ड पोस्ट सक्रिय अवस्थामा रहेको उनको भनाइ छ ।
बाढीका कारण नारायणी नदीमा क्रुजसिप बगेर पुलमा अड्किएपछि सावधानीका लागि पूर्व–पश्चिम राजमार्ग बन्द गरिएको छ । पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथसहित काठमाडौं उपत्यका जोड्ने तथा विभिन्न जिल्लाका दर्जनभन्दा बढी सडक प्रभावित भएका छन् । भोटेकोशी–त्रिशूली नदी तटीय क्षेत्रका सडकमा पुनः क्षति पुगेको र कालीगण्डकीको पक्की पुलसमेत बगेको प्रधानमन्त्रीले बताए ।
क्षतिग्रस्त सडकहरू मर्मत गरी यातायात सञ्चालनमा ल्याउन सरकार प्रतिबद्ध रहेको उनले उल्लेख गरे ।
बाढी र पहिरोका कारण कालीगण्डकी करिडोर, मर्स्याङ्दी तथा सेती–मादी करिडोरलगायतबाट राष्ट्रिय प्रसारण प्रणालीमा १ हजार १३ दशमलव २ मेगावाट विद्युत् आपूर्ति बन्द भएको छ ।
त्यसमध्ये ३१८ मेगावाट क्षमताका आयोजना प्रसारण लाइनका टावर ढलेका कारण पूर्ण रूपमा बन्द भएका छन् भने जोखिमका कारण ६९५ दशमलव २ मेगावाट क्षमताका आयोजनाको उत्पादन सुरक्षात्मक रूपमा बन्द गरिएको प्रधानमन्त्री शाहले बताए ।
विद्युत् आपूर्ति यथाशीघ्र पुनःस्थापना गर्न प्राविधिक टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको उनले जानकारी दिए ।
महाकाली नदीमा जलसतह बढेपछि कञ्चनपुरको गड्डाचौकीबाट हुने नेपाल–भारत आवागमनसमेत प्रभावित भएको छ । सेती, नारायणी र कमला नदीमा पानीको सतह बढेको तथा कुलेखानी क्षेत्रमा समेत यातायात रोकिएको प्रधानमन्त्रीले बताए ।
हुरीसहितको वर्षाका कारण धान, तरकारीलगायत कृषि बालीमा समेत ठूलो क्षति पुगेको उनले उल्लेख गरे ।
प्रधानमन्त्री शाहले नदी तटीय तथा पहाडी क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गर्दै अत्यावश्यक कामबाहेक यात्रा नगर्न अपिल गरेका छन् । संकटमा परे शुल्क नलाग्ने १२३४ नम्बरमा सम्पर्क गर्न उनले आग्रह गरेका छन् ।
विपद्का बेला भ्रामक सूचना फैलाउने, पीडितको गोपनीयता भंग गर्ने तथा कालोबजारी गर्नेहरूमाथि सरकारले निगरानी राखिरहेको पनि प्रधानमन्त्री शाहले बताएका छन् ।
‘खतरा अझै टरेको छैन, जोखिम कायमै छ,’ भन्दै प्रधानमन्त्री शाहले धैर्य, संयम र एकताका साथ विपद्को सामना गर्न नागरिकलाई आग्रह गरेका छन् ।



















प्रतिक्रिया