म्याग्दी। अविरल वर्षासँगै शुक्रबारदेखि आएको बाढी र पहिरोमा परी म्याग्दीमा ६ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। जिल्ला प्रशासन कार्यालय म्याग्दीका अनुसार आइतबार साँझ ६ बजेसम्म जिल्लामा उक्त मानवीय क्षति भएको हो।
मृत्यु हुनेमा अन्नपूर्ण गाउँपालिका–३ का ७५ वर्षीया शिलकुमारी पाइजा र ५४ वर्षीया योगमाया पाइजा, अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडा खुर्कका १९ वर्षीय सबिन गुरुङ रहेका छन्।
त्यस्तै मालिका गाउँपालिका–३ रुम डाँडागाउँ औलका ३१ वर्षीय नीरन पुन र २८ वर्षीय देवबहादुर पुन तथा अन्नपूर्ण गाउँपालिका–६ की ५ वर्षीया जेनी पुर्जाको पनि बाढी–पहिरोमा परी मृत्यु भएको प्रशासनले जनाएको छ।
बाढी तथा पहिरोपछि अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडा खुर्कका २१ वर्षीय मनोज गुरुङ, बेनी नगरपालिका–३ भकिम्लीकी कुमारी विक र अन्नपूर्ण गाउँपालिका–६ का ७५ वर्षीय ओमबहादुर तिलिजा बेपत्ता छन्।
अविरल वर्षाका कारण बेनी–बागलुङ सडकखण्डबाहेक जिल्लाका अधिकांश सडकखण्ड अवरुद्ध भएका छन्। अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
सडक अवरुद्ध भएपछि सवारीसाधन तथा पैदल उद्धारसमेत गर्न नसकिने अवस्थामा रहेका अन्नपूर्ण गाउँपालिका–५ शिख पाउद्वारलगायत क्षेत्रका ७८ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रशासनले जनाएको छ।




















प्रतिक्रिया