Logo

अन्तर्राष्ट्रिय

भारतमा बाढी-पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित



काठमाडौं । उत्तरी भारत र नेपालमा पछिल्ला तीन दिनदेखि भइरहेको अविरल वर्षापछि आएको बाढी तथा पहिरोमा परी कम्तीमा ६८ जनाको मृत्यु भएको छ। भारतको उत्तर प्रदेशमा मात्रै वर्षा र बाढीजन्य घटनामा ५६ जनाको मृत्यु भएको छ भने नेपालमा १२ जनाले ज्यान गुमाएका छन्।

उत्तर प्रदेशको राहत आयुक्तको कार्यालयका अनुसार बाढी र वर्षाका कारण एक हजारभन्दा बढी घरमा क्षति पुगेको छ। लगातारको वर्षाले राज्यका विभिन्न क्षेत्रमा जनजीवन प्रभावित हुनुका साथै कृषि क्षेत्रमा समेत ठूलो क्षति पुगेको अधिकारीहरूले बताएका छन्।

नेपालमा गत अगस्ट २६ मा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रहरूमा पुनः बाढी र पहिरोका घटना देखिएका छन्। नेपालका विपद् व्यवस्थापन अधिकारीका अनुसार बिहीबारयता भएका बाढी तथा पहिरोका घटनामा १२ जनाको मृत्यु भएको छ भने सात जना अझै बेपत्ता छन्।

वैज्ञानिकहरूले पछिल्ला वर्षमा दक्षिण एसियामा चरम मौसमी घटनाको आवृत्ति र तीव्रता बढ्दै गएको बताउँदै आएका छन्। उनीहरूले यस्तो घटनालाई जलवायु परिवर्तन तथा बढ्दो तापक्रमसँग जोडेर हेरेका छन्।

गत महिना चीन–नेपाल सीमाक्षेत्रमा हिमनदीसहितको पहाड खस्दा आएको विनाशकारी बाढीमा एक हजार ४ सयभन्दा बढी मानिसको मृत्यु भएको र हजारौँ बेपत्ता भएको विवरण सार्वजनिक भएको थियो।

उत्तर प्रदेशमा जुनदेखि सेप्टेम्बरसम्म रहने मनसुन अवधिमा हरेक वर्ष भारी वर्षा र आँधीबेहरीका घटना हुने गर्छन्। यसपटक बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली स्थलतर्फ सर्दा वर्षाको तीव्रता बढेको अधिकारीहरूले बताएका छन्।

राज्यमा शुक्रबारदेखि आइतबारसम्म ६६.५ मिलिमिटर वर्षा मापन गरिएको छ। सो अवधिको औसत वर्षा भने ७.६ मिलिमिटर मात्र हुने गर्छ। अत्यधिक वर्षाका कारण खेतबारीमा लगाइएको बालीमा क्षति पुगेपछि किसानहरू आगामी सिजनको खेती प्रभावित हुने चिन्तामा छन्।

यसैबीच भारतको पूर्वी राज्य ओडिसामा पनि भारी वर्षापछि नदीहरूको जलस्तर बढेको छ। तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने ७० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

वर्षाका कारण पुल तथा कल्भर्टमा क्षति पुगेपछि ओडिसाको लोकप्रिय पर्यटकीय गन्तव्य ‘देवकुण्ड’ पनि अस्थायी रूपमा बन्द गरिएको छ।

भारतमा लामो गर्मीयामपछि मनसुन सुरु भएसँगै हरेक वर्ष बाढी, पहिरो र डुबानजस्ता विपद्ले ठूलो जनधनको क्षति पुर्‍याउने गरेको छ। यस वर्ष पनि निरन्तरको भारी वर्षाले विभिन्न राज्यमा जनजीवन प्रभावित बनाएको छ।

 

प्रकाशित मिति : ११ आश्विन २०८३, आईतवार २०:५५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।