Logo

टिप्पणी

केपी ओली तंग्रिएपछि नेकपामा बबण्डरको तयारी



सत्तारुढ नेकपाभित्र विस्तारै प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा पर्दै गएका छन् । उनको इच्छा विपरीत सभामुखमा अग्निप्रसाद सापकोटा निर्वाचित भए भने राष्ट्रियसभामा पुनः युवराज खतिवडालाई मन्त्रीपरिषद्को सिफारीसमा सदस्य बनाउने उनको प्रयासमा पार्टीको सचिवालय बाधक बनिरहेको छ ।

ओलीको दोस्रो पटकको मृगौला प्रत्यारोपण सफल भएपछि लामो समयदेखिको स्वास्थ्य चिन्ता लगभग सकिएको छ र आठ दस वर्ष फेरि सक्रिय राजनीतिक जीवनमा रहन सक्ने सम्भावना देखिएको छ । तर, सत्तारुढ दल नेकपाभित्र भने उनको मुढेबल विरुद्ध नेताहरु एकत्रित भएका छन् । यसले पार्टीको स्वास्थ्य विग्रहने हो कि भन्ने चर्चा परिचर्चा सुरु भएका छन् ।

आफ्नो कमजोर स्वास्थ्य अवस्थाको उपयोग गर्दै ओली पार्टी अध्यक्षदेखि प्रधानमन्त्रीसम्म बनेका थिए । दोस्रो पटकको मृगौला प्रत्यारोपणले ओलीको स्वास्थ्य बलियो बनाएको छ । अब उनमा दम्भ झनै चुलिने सम्भावना पनि उत्तिकै छ । अधिकांश चिकित्सकहरुले ठूलो चुनौती ठानेको दोस्रो प्रत्यारोपणमा जानु अघि त सिंगो पार्टी सचिवालयलाई चुनौती दिएका ओलीले अब उठेपछि के गर्लान भन्ने जिज्ञासा नेकपाभित्र र बाहिर उत्तिकै छ । अब ओलीले पार्टीका अरु नेताहरुलाई ठाडै ललकार्ने सम्भावना छ ।

ओलीले अपरेसन कक्षमा जानु अघि सांसद पदावधि सकिए्रका युवराज खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त गरे तर पार्टी सचिवालय बैठकले सर्वसम्मत निर्णय गरेको वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णयलाई सुनेको नसुन्यै गरिदिए । यसले नेकपामा टकराव बढ्ने सम्भावना देखाएको थियो । त्यसको आन्तरिक तयारी नेताहरुले गरिरहेका छन् ।

ओली अस्पतालको बेडमा भएकाले अहिले नेताहरु चुप रहेपनि उनीहरु आन्तरिक गृहकार्यमा भने लागेकै छन् । जीवन मरणको दोसाधयुक्त अवस्थाको स्वास्थ्य उपचारका लागि तयारी गरिरहेको व्यक्तिमाथि अनावश्यक दबाब बढाएर तनाव दिएको आरोप लाग्ला भनेर नेकपा सचिवालयमा रहेका अन्य नेताहरु चुप बसेका छन् । ओली उठेर आएपछि पार्टी निर्णय नमाने राजनीतिक लडाई सुरु गर्ने तयारीमा उनीहरु छन् ।

वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णयबाट ओली पछाडि हट्ने अवस्थामा ओली विरुद्ध अविश्वासको प्रस्ताव अघि बढाउनेसम्मको तयारीमा नेताहरु छन् । पूर्व माओवादी खेमाले यसको तयारी गरेको हो । भैंसेपाटी बैठकमा खासगरी माधवकुमार नेपाललाई अरु नेताहरुले चार पटक खारेको बताइन्छ ।

तपाईबाट धोका त हुँदैन नि भन्ने हिसाबमा नेपालको प्रतिबद्धता खोजिएको बुझिएको छ । नेपालले पनि कुनै हालतमा ब्याक हुन्न भनेका रहेछन् । तर, ओलीसँग भेटेपछि माधव पछि हटिसके भन्ने चर्चालाई पूर्व माओवादीहरुले विश्वास गरिहालेका छैनन् । किनकी ओलीले मृगौला प्रत्यारोपणको तिथी टुंगो लागिसकेको कुरा थाहा पाएपछि माधव नेपालले नै हालका लागि मानवीय पक्ष हेरेर दबाब नबढाउने सुझाव दिएको उच्च स्रोतको भनाई छ ।

ओली तंग्रिएर आउँदा नेकपाका अर्का अध्यक्ष प्रचण्डलाई दबाब परेको छ । पहिले आलोपालो प्रधानमन्त्री चलाउने सहमति गरेका ओलीले बीचमा धोका दिएर कार्यकारी अध्यक्षको ललिपपमा प्रचण्डलाई फसाएका थिए । ओलीले आफू बाँचुन्जेल प्रचण्ड र नेकपा भित्रका अरु कसैलाई अध्यक्ष र प्रधानमन्त्री बन्न दिनेमा शंका बढेको छ ।

ओलीको अवसानमा आफ्नो उत्थान देखेकालाई गाह्रो छ । अबका केही वर्ष ओलीले सबैलाई पेलेर जाने उनको क्रियाकलाप हेर्दा देखिन्छ । नेकपाको ओली ईतर पक्ष वा प्रचण्ड पक्षले चट्टानी एकता र अडान देखाएमात्र उनको रवैयालाई तोड्न सक्नेछन् । भैंसेपाटी सहमतिबाट ओली ईतर पक्षका नेताहरु तितरवितर भएनन् भने ओली सत्तालाई चुनौती आउनेछ ।

तर, पूर्वमाओवादी खेमा भैसेपाटी सहमतिबाट नेपाल पछि हट्ने हुन कि भन्ने शंकामा नै छ । नेपाल र उनी पक्षका नेताले लोभीपापी चरित्र देखाए भने प्रचण्डले आफ्नो बाटो रोज्नुको विकल्प हुने छैन । जे होस नेकपा भित्र राजनीतिक वारपारको लडाई ओली उठेपछि सुरु हुने पक्का छ अभियान टाइम्सबाट ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलवार ११:४५   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।