Logo

अनलाइनपाना खोज

प्रधानमन्त्रीको सार्वजनिक बोली – सिमलभुवाभन्दा हलुङ्गो हावा जस्तो उडन्ते भएपछि…



असार २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा सर्वथा नयाँ र आजसम्म नै कतै पनि चर्चा समेत नभएको तर यो कुरा स्थापित भए देशका लागि एउटा ठूलो, ऐतिहासिक प्राप्ती हुने खालको जानकारी दिए ।

आदिकवि भानु जयन्तीका अवसरमा आफ्नो निवास बालुवाटारमा आयोजित सार्वजनिक समारोहमा उनले एउटा घोषणा नै गरे –भगवान रामको जन्मभूमि अयोध्या नेपालको ठोरीमा छ, भारतीय अयोध्या नक्कली हो ।

प्रधानमन्त्री किन अपत्यारिलो

भगवान रामलाई नेपाली बनाउन खोजिएको यो विषय धेरै नै महत्वको थियो र नेपाली नागरिकले अति गौरव नै मान्नुपर्ने खालको पनि । तर प्रधानमन्त्री जहिले पनि धेरैजसो उट्पट्याङ बोल्ने भएर हो कि वा छिमेकी देश भारतसंगको सम्वन्ध चरम अवस्थामा विग्रिएको तर्फ चर्चा भैरहेको सन्दर्भले हो सांसरकै ध्यान आकृष्ठ हुने यो विषय हावा जस्तो उडन्ते र सिमलभुवा भन्दा हलुका माने मानछेहरुले । यतिठूलो महत्वको पक्ष र त्यसमा देशको सर्वोच्च कार्यकारीको दावी हावादारी ठहरिनु आफैमा दुखद नैहो ।

प्रधानमन्त्रीको यो बोलीलाई सर्वसाधारणले त पत्याएनन नै, त्यो आफ्नो ठाउँमा थियो तर स्वयम् उनीमातहत नै रहेको मन्त्रालयले पनि पत्याएन । त्यसको भोलीपल्टै उसले खण्डन गर्‍यो – प्रधानमन्त्रीले ‘भगवान् श्रीरामको जन्मभूमि अयोध्या नेपाल कै भए पनि भारतले विवादित अयोध्या खडा गरेर नेपालमाथि सांस्कृतिक अतिक्रमण गरेकोमा यो भनाइ राजनीतिक विषयसँग सम्बन्धित नभएको प्रष्टपारिन्छ ।’

स्पष्टीकरणसहित विज्ञप्ति निकालेको यो कुरा प्रधानमन्त्रीले बोलेको भोलीपल्ट, ३० असारको हो ।

त्यसदिन प्रधानमन्त्रीले स्पष्टनै भनेका थिए –भगवान् श्रीरामको जन्मभूमि अयोध्या नेपालकै भए पनि भारतले विवादित अयोध्या खडा गरेर नेपालमाथि सांस्कृतिक अतिक्रमण गरेको हो । यो भनाइले नै स्पष्टपार्छ यो अर्को देश भारतसंग सिधै जाडिएको विषय हो । यसपछि अहिलेसम्म –भगवान् श्रीरामको जन्मभूमि अयोध्या रहेको मानिँदै आएको कुरालाई खण्डित गर्न खोजिएकोमा त्यो देशको चासो रहन्छ नै । त्यसैभएर होला भारतीय विदेश मन्त्रालयका प्रवक्ताले पनि नेपालले उठाएको वा नेपाली प्रधानमन्त्रीले भनेको यो कुरामा स्पष्टिकरण दिए । तर उनको त्यो प्रष्टिकरण अनौठाको थियो जसबाट नेपालका प्रधानमन्त्रीकाे बोली कति हलुङ्गो हुने गरेको छ भन्ने कुटनीतिक भाषमा जवाफ हुन्छ ।

परराष्ट्रको खण्डन भारतको समर्थन

यो ३१ असारको कुरा हो । यो मितिको पनि आफनो प्रकारकारकाे अर्थ रहन्छ । भारतीय विदेश मन्त्रालयबाट आएको प्रतिकृयाबारे नेपाली माध्यममा एजेन्सीको हवाला दिदै यस्तो समाचार आयो –

नेपालले अयोध्याबारे स्पष्ट पारिसकेकाले थप टिप्पणी आवश्यक छैन प्रवक्ता श्रीवास्तव । भारतले प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मभूमिबारे दिएको अभिव्यक्तिबारे नेपालले खण्डन गरेकाले नबोल्ने बताएको छ । बिहीबार साँझ भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले यस विषयमा स्पष्टिकरण दिएकाले आफूले नबोल्ने बताएका छन् । उनले भने, ‘भारतको विशाल र समृद्ध सांस्कृतिक विरासत विश्वभर परिचित छ । नेपालको विदेश मन्त्रालयले पनि यस बारेमा स्पष्टिकरण दिइसकेको छ । यसबारेमा थप टिप्पणी गर्न म चाहदिँन ।’

प्रधानमन्त्रीको बोलीमा मन्त्रालयको खण्डन

यो ठाँउमा ध्यान दिनुपर्ने विषय के देखियो भने प्रधानमन्त्रीले नक्कली अयोध्या खडा गरेको र आफनो संस्कृृति चोरको भनी जसमाथि आरोप लगाए त्यो देश भारतले आफनो आधिाकारिक भनाइ यही देश नेपालको परराष्ट्र मन्त्रालयले नै भनेको कुरा सही भएको भन्दै त्यसैलाई आफनो पनि भनाइ भन्यो । ‘नेपालले अयोध्याबारे स्पष्ट पारिसकेकाले थप टिप्पणी आवश्यक छैन’ भनिएकोले बुझाउँछ प्रधानमन्त्री र परराष्ट्रमन्त्रालयको यो अयोध्याका बारे कस्तो विलकुलै फरक धारणा रहेछ भन्ने । परराष्ट्रको त्योभनाई –

‘प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आदिकवी भानुभक्त आचार्यको २०७ औं जन्मजयन्ती समारोहमा व्यक्त गर्नुभएका विचारहरुलाई लिएर भइरहेका विविध व्याख्याहरु माथि सरकारको ध्यानाकर्षण भएको छ । उक्त सन्दर्भलाई परराष्ट्र मन्त्रालय यसप्रकारले स्पष्ट पार्न चाहन्छ :


१. प्रधानमन्त्रीको टिप्पणी कुनै राजनीतिक विषयसँग जोडिएको छैन र कसैको भावना र संवेदनालाई चोट पुर्‍याउने आशय राखिएको थिएन ।

२. श्रीराम र उहाँसँग सम्वद्ध स्थानहरुका बारेमा धेरै किंवदन्ती र भनाइहरु छन् । प्रधानमन्त्रीले श्रीराम र उहाँसँग जोडिएका विभिन्न स्थानहरुका बारे नयाँ तथ्यहरु प्राप्त गर्न रामायणले प्रतिनिधित्व गर्ने गहन सांस्कृतिक भूगोलको थप अध्ययन र अनुसन्धानको महत्वमाथि सामान्य जोड दिनुभएको हो ।

३. टिप्पणीले अयोध्याको महत्व र सांस्कृतिक मूल्यलाई अवमूल्यन गर्ने उद्देश्य राखेको छैन ।


स्मरणीय यो छ कि विवाह पञ्चमी समारोहको परम्परा, जसमा भारतको अयोध्याबाट जनकपुरमा जन्ती आउने गर्छन्, प्रत्येक वर्ष आयोजना हुँदै आएको छ । नेपाल र भारतका प्रधानमन्त्रीले सन् २०१८ को मे महिनामा रामायण सर्किटको उद्घाटन गर्नुभएको थियो, जसमा जनकपुर–अयोध्या यात्रु बस सेवा एउटा महत्वपूर्ण तत्वका रुपमा रहेको छ । यी तथ्यहरुले दुई देश र जनताबीचको सांस्कृतिक समानतालाई संकेत गर्छन् ।’

प्रधानमन्त्रीको भनाई

प्रधानमन्त्री ओलीले त्यसदिन कुनै द्विविधा नराखिकन स्पष्टै शव्दमा भनको थिए – भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको छ, नेपाल सांस्कृतिक हिसाबले थिचिएको छ, भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेर नेपालको संस्कृतिमाथि थिचोमिचो गरको हो ।

‘हामी अलिकति सांस्कृतिक हिसाबले थिचिएका छौँ । तथ्यहरुमा अतिक्रमण भएको छ । हामी अहिले पनि ठानिरहेका छौँ हामीले ‘सीता’ भारतका राजकुमार रामलाई दियौँ । भारतका होइन अयोध्याकालाई दिएका हौँ हामीले । अयोध्या भनेको वीरगञ्जभन्दा अलि पश्चिमपट्टीको गाउँ हो । अहिले खडा गरिएको अयोध्या होइन । अयोध्या भीषण विवाद छ है त्याँ ।

हाम्रोमा विवाद नै गर्नुपर्दैन । अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा, बाल्मिकी आश्रम यहीँ (नेपालमा), र दशरथबाट सन्तान नभएपछि पुत्रीष्टी यज्ञ लगाउने पण्डितजी रिडीका । त्यसकारण सन्तान (राम) पनि भारतीय होइनन् ठाउँ (अयोध्या) पनि भारतीयको होइन । यहाँ जनकपुर उहाँ अयोध्या हुन्थ्यो भने कहाँ छोरीको विहे गर्न खोज्या छ, त्यसबेलामा न टेलिफोन न मोबाइल कताबाट थाहा होस् । थाहा हुन सम्भव थिएन । नजिकै पथ्र्योे सजिलैसँग गए होलान तर त्यो इतिहास बहस गरी साध्य छैन फेरि एक हमला माथि अर्को… ।’

उपाध्यक्षले भने –माफी माग्नु पर्ने

ओली प्रधानमन्त्री र सत्तारुढदलका अध्यक्ष पनि हुन् । प्रधानमन्त्रीका रुपमा उनले बोलेका कुरा उनको मन्त्रालयले नै विरोध गर्‍यो । त्यसको उदाहरणका लागि परराष्ट्र मन्त्रालयको विज्ञप्ती हो जसलाई संस्कृति चोरेका भनी आरोप लगाइएको सम्वन्धित देश भारतको विदेशमन्त्रालयले पनि आफूले भन्नु पर्ने कुरा ‘भनिदिएको’ भनिसकेको छ । पार्टिका अध्यक्षको हैसियतमा उनले बोलेका कुरामा यही पार्टीको उपाध्यक्ष बामदेव गौतमको भनाई त्यतिकै आधिकारिक होला । उनले सञ्जालमा भने –

‘नेपालका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष क.केपी शर्मा ओलीले हिजो अर्थात असार २९ गते कुनै कार्यक्रममा राम जन्मभूमि नेपालको पर्सा जिल्लामा पर्छ भन्दै दिनुभएको मन्तव्यले नेपाल र भारतमा अत्यन्त तिखो प्रतिक्रिया उत्पन्न गरेको छ । आज भन्दा दुई वर्ष पहिले उहाँलाई भेट्न म बालुवाटार गएका बखत यो बिषय बारे चर्चा गर्नुभएको थियो ।

मैले उहाँलाई यस सम्बन्धमा आफुले अध्ययन गरेका कतिपय सन्दर्भ सामाग्री उल्लेख गर्दै विना अनुसन्धान, विना तथ्य प्रमाण यस्तो विषयलाई तपाईले कहीँ कतै व्यक्त नगर्न भन्दै सल्लाह पनि दिएको थिएँ । मलाई यस विषयमा उहाँले कहीँ न कहीँ सार्वजनिक गरिहाल्नु हुन्छ कि भन्ने शंका पनि लागेको थियो । नभन्दै हिजो तथ्य प्रमाण विना त्यसलाई सार्वजनिक गरेरै छोड्नु भयो ।

क. केपी ओली अहिले मुलुकको प्रधानमन्त्री हुनुहुन्छ र सत्ताधारी पार्टीको अध्यक्ष पनि हुनुुहुन्छ । अहिले उहाँ चाहदा सबै पक्षबाट अनुसन्धान गर्न, तथ्यहरु जुटाउन, आएका अनुमानहरुको तथ्यसंगत विश्लेषण गर्न चाहिने साधनस्रोत जुटाउन सक्ने अवस्थामा हुनुहुन्छ । उहाँले उठाउनु भएको विषय सबै पक्षबाट तथ्य र तर्कसंगत सावित भएको अवस्थामा प्रधानमन्त्रीले हैन इतिहासकारहरुले सार्वजनिक गर्नु पर्दथ्यो ।

भगवान रामको जन्म जहाँ भए पनि यथार्थवादी कम्युनिष्टहरुका निम्ति केही फरक पर्दैन । रामका भक्तहरु नेपाल र भारतमा ठूलो संख्यामा रहेका छन् । यथार्थवादी भएका नाताले इतिहास प्रति हामी कम्युनिष्टहरुले अन्याय गर्न सक्दैनौ । नेपालको इतिहास निर्माणमा योगदान गर्ने महापुरुषहरुको नेपाल रहँदासम्म प्रसंशा गरिरहिने छ ।

संसारमा धेरै धर्महरु छन्, धेरै धार्मिक सम्प्रदायहरु छन् र तिनका अनुयायीहरु करोडौंको संख्यामा रहेका छन् । उनीहरुको धार्मिक आस्थामा चोट पुर्‍याउने क्रियाकलाप गर्न कसैले हुदैन । त्यसैगरी कुनै पनि धार्मिक संरचनालाई प्रयोग गरेर नत राष्ट्रले न समुदायले न कुनै व्यक्तिले आफ्नो स्वार्थ पुरा गर्ने दुश्कर्म गर्न हुन्न । यस अर्थमा हामी कम्युनिष्टहरु धर्म निरपेक्ष हुन चाहन्छौ ।

राम जन्मभूमिका सम्बन्धमा प्रधानमन्त्रीले दिनुभएको मन्तव्यबाट जुन राष्ट्रिय र अन्तर्राष्ट्रिय विवाद उत्पन्न गरेको छ त्यसको व्यापकतालाई ध्यानमा राख्दै उहाँले आफ्नो मन्तव्य फिर्ता लिदैं जनतासमक्ष आत्मालोचना गर्नु म उपयुक्त ठान्दछु ।

साथै प्राविधिक तथा इतिहासविद्हरुको टोली बनाई तत्सम्बन्धमा अनुसन्धान र तथ्य संकलनमा लाग्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष क.केपी ओलीलाई विनम्र अनुरोध पनि गर्दछु । असार ३० । ’

आधिकारिकताको माग

देशको कार्यकारी प्रमुख प्रधाननमन्त्रीको बोली आफैमा आधिकारिक हो । त्यसमा कतैबाट कसैले आधिकारिकताको प्रमाण दिनुपर्दैन र त्यसको माग पनि गर्नु पर्दैन । तर यो ठाउँमा त्यस्तो खोजियो । यस्तो महत्वपूर्ण कुरा र गरेको भनी धन्यवाद दिनुपर्ने ठाउँमा त्यस्तो बोलिको आधार खोजिनु भनेको सामान्य कुरा होइन ।

प्रमुख प्रतिपक्षीदल राज्यको एउटा सम्वैधानिक निकाय हो । तयही संस्था नेपाली कांग्रेसले सत्तारुढदल नेकपासंग यो बोलीको आधिकारिकता माग्यो । यो असार ३१ गतेको कुरा हो । उसले प्रधानमन्त्री ओलीका अभिव्यक्ति एकपछि अर्को विवादमा पर्ने गरेको अवस्थामा राम जन्मभुमी अयोध्याबारे दिएको भनाइ पनि त्यस्तै भएकोले उनले सरकारमा बस्ने नैतिक धरातल गुमाएको भनी बतायो ।

‘प्रधानमन्त्रीको अभिव्यक्ति नेपाल सरकार र नेकपाको मत होइन भने शासन गर्ने नैतिक र राजनैतिक आधार उहाँले गुमाएको थप पुष्टि हुन्छ । प्रधानमन्त्री पद देशको संस्कार, संविधान र संवेदनशीलता भन्दा पर ब्यक्तिगत सनकको कैदी बन्न मिल्दैन । संस्थागत जिम्मेवारी भन्दा अलग निर्दलीय आधिपत्य प्रधानमन्त्री पदमा संविधानले परिकल्पना गरेको छैन ।

प्रधानमन्त्रीको सोच, शैली, अभिव्यक्ति र ब्यवहार सम्पूर्ण रुपले बदल्ने या प्रधानमन्त्रीनै बदल्ने, उहाँकै दल नेकपाको बिषय हो, तर दुई प्रश्न, देशको प्रधानमन्त्रीको अभिव्यक्ति नेपाल सरकारकै संस्थागत अभिव्यक्ति हो कि होइन ? अनि उहाँको दल नेकपा पार्टीको विश्वास बमोजिमको हो होइन ? संस्थागत प्रस्टीकरण अनिवार्यसंग आवश्यक भएको छ । बाढी–पहिरोमा कयौंको मृत्युु भएको बेला देशको प्रधानमन्त्रीको दायित्व के हुन्छ र के हुनुपर्दछ ? केवल समवेदनाको एक वक्तव्य ले पुग्छ ?

लिम्पियाधुरासहितको भुभाग समेटेर संविधान संशोधन भएपछि सरकारले त्यहाँ भोगाधिकार स्थापित गर्न ठोस पहल गर्नुको साटो सत्ता राजनीतिको हतियारको रुपमा प्रयोग गरेको कतिको ठीक हो ? संसदबाट जारी भएपछि प्रधानमन्त्रीको दायित्व के हुन्छ ? गम्भीर कुटनैतिक पहलकदमी गर्ने कि नक्सालाई सत्ता राजनीतिको ब्यक्तिगत हतियारका रूपमा उपयोग गर्ने ? गम्भीर कुटनैतिक पहलकदमी भन्दा अयोध्याबारे विवादास्पद अभिव्यक्ति दिएर संवेदनशील बिषयमा असम्वेदनशील ब्यवहार प्रकट गरिएको छ ।’

सञ्जालमा विरोधको जाल

फेरी पनि भनौं प्रधानमन्त्रीले उठाएको कुरा वास्तवमा नै ऐतिहासिक हो । तर समय र आफनो सत्ता जोगाउने सन्दर्भमा प्रकट भएको हुँदा यो कतैमानय भएन । सिमलको भूवा जस्तो हलुलुङ्गो र हावा जस्तो उडान्ते भयो । त्यसै कारण होला सामाजिक सञ्जालमा सर्वसाधारणदेखि आफनो क्षेत्रका घघडान व्यक्तित्वहरुले समेत यसको धज्जी उडाए ।

राम्रो विषय नराम्रो हुनेगरी प्रस्तुत भएको यो सन्दर्भले यो विषयलाइनै ओझेलमा पार्ने हो कि र अवको अवस्थामा अध्ययन गरेर केही विवरण भेटिएभने पनि त्यसलाइ यो भनाइले अस्तित्व बिहीन बनाइदिने हो कि भन्ने त्रास खडा भएको छ । प्रधानमन्त्री जस्तो पदाधिकारीको बोलिको यस्तो हविगत किन भयो, अनुसन्धन गर्ने कि ?

यसबारे सामाजिक सञ्जालमा फैलिएको प्रतिकृयाको जालोले नै यस्तो माग गरेको पाइन्छ । अन्यथा जस्तो लाग्छ भने त्यसदिनदेखि आजसम्मका त्यस्ता सञ्जालका भित्ताहरु हेरौं । ती आफै चाहिजति र खोजिएको बेला आफै प्रकट हुनेगरी रेकर्डमा छन् ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार १८:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।