वरिष्ठ पत्रकार कुसुम कुसुमले सामाजिक सञ्जालमा स्याटेलाइट प्रक्षेपण सम्बन्धि विचार पोष्ट गरेका छन् । उनी अगाडि यसरी लेख्छन्,नेपालको एउटा नानो स्याटेलाईट अन्तरीक्षमा पुगेकोमा हामी खुशी मनाइरहेका छौं । बुटवलमा कुन चाहिँ भाइले कार बनाए रे ।
पुर्वतिर कुन चाहिँ भाइले हेलिकोप्टर बनाए रे । खै कता कुन चाहिँ भाइले जहाज नै बनाउँदैछन् भन्ने खबर आउँछ । एकजना चिकित्सकले एडसको औषधि पत्ता लगाएर भनेर हल्ला गर्न थालेको धेरै भो । कसैले क्यान्सर निको पार्ने त कसैले कपाल उमार्ने औषधि पत्ता लगाए भन्ने खालका खबरहरु पनि हामी पढछौं ।
विज्ञान र प्रविधिको क्षेत्रमा योजस्तो हास्यास्पद कुरा केही हुनसक्दैन । कार, हेलीकोप्टर, जहाज बनाउने उन्नत प्रविधि विश्वमा विकास भइसकेको छ । अब त्यसकै लागि कुनै नेपालीले आविश्कार गर्नु जरुरी छैन । जेनरेटर या पानी तान्ने पम्पका मोटर जोडेर कार बनाउनु पनि जरुरी छैन र त्यसमा राज्यले लगानी गर्नु बेकार हो । देश धनी भयो भने विश्वबाट एक से एक प्राविधिक र प्रविधि झिकाएर स्वदेशमै ति चिज उत्पादन गर्न सकिन्छ ।

रह्यो कुरा स्याटलाइटको । यो हाम्रो प्राथमिकता र क्षमताको कुरा हैन । अरुको देशबाट अरुकै बुई (रकेट) चढेर तिन चार महिनाका लागि नेपालीले बनाएको एउटा खेलौना ‘जसको आयु बढीमा ६ महिना हो’अन्तरीक्षमा हुत्याएर काठमाडौँँका शासकहरुले जनताको आँखामा छारो हाल्ने काम नगर्दा हुन्छ । अमेरीकाले उहिल्यै अपोलो मिसन बन्द गरेको थियो । रुसले अचेल अन्तरीक्ष मिसनमा खासै लगानी गर्दैन । विकसीत मुलुकहरुले पनि आफ्नो देशका अन्य सारा प्राथमिक मुद्दाहरुको हल भइसकेपछि मात्र अन्तरीक्षतिर आँखा डुलाउने हुन् ।
प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डलाई मेरो आग्रह छ, पहिला यो देशलाई भारतको ‘स्याटेलाइट’को हैसियतबाट मुक्त गर्नुस, त्यसपछि एउटा हैन, दर्जनौं स्याटेलाइट अन्तरीक्षमा पठाउँला ।चिजलाई ठिक ठिक ढंगले बुझ्ने मेरो बानी छ । ठिक ढँगले बुझ्दा कहिलेकाँही मानिस मलाई नकारात्मक सोच राखेको पनि भन्ने गर्छन्, मलाई त्यसको परवाह छैन ।
















प्रतिक्रिया