Logo

गण्डकी प्रदेश

भैंसी फार्ममा आगलागी हुँदा करिब २२ लाख बराबर क्षति



तनहुँ शुक्लागण्डकी नगरपालिका–७ को टुडास्थित खुर्सानीबारीमा रहेको भैँसी फार्ममा गए राति आगलागी हुँदा १३ भैँसी र १५ खरायो गरी २८ वस्तु मरेका छन् । कृषक रामकली भण्डारीको गोठमा रातको समयमा अचानक आगलागी हुँदा पशु चौपाया तथा अन्य भौतिक संरचनामा क्षति पुगेको हो ।

इलाका प्रहरी कार्यालय बेलचौतराका प्रमुख प्रहरी निरीक्षक सरोज गिरीका अनुसार आगलागीबाट करिब २० देखि २२ लाख रुपैयाँसम्म क्षति भएको छ । राति करीब १०ः३० बजेको समयमा भण्डारीको भैँसी फार्ममा अचानक आगलागी हुँदा अन्य तीन भैँसी घाइते हुनुका साथै दुई वटा टौवामा रहेको करिब ३०० भारी परालसमेत जलेर नष्ट भएको छ ।

आगलागीबाट दुई वटा खरले छाएको गोठ जलेका छन् । स्थानीयले आगो निभाउने प्रयास गरे पनि असफल भएको र राति करीब १ बजेको समयमा सदरमुकाम दमौलीबाट दमकल पुगेपछि आगो नियन्त्रणमा आएको प्रहरी निरीक्षक गिरीले जानकारी दिए । उक्त आगलागी के–कसरी भयो भन्नेबारे यकिन जानकारी प्राप्त नभएकाले अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार १०:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।