Logo

अर्थ

राष्ट्रिय वाणिज्य बैंकले एकैपटक नयाँ १४ शाखा संचालन गर्ने



राष्ट्रिय वाणिज्य बैंकले एकैपटक १४ वटा नयाँ शाखा प्रारम्भ गर्ने भएको छ । सबै शाखाको संयुक्त उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडाले अनलाइन माध्यमबाट गर्ने कार्यक्रम तय भएको बैंकले जनाएको छ ।

त्यसनिम्ति भोलि बुधबार काठमाडौंको होटल याक एण्ड यतिमा बैंकले एक विशेष कार्यक्रमको आयोजना गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठ मंगलबार सूचना जारी गरेर जानकारी दिएका छन् । उद्घाटन समय बुधबार दिउँसो ३ः३० बजे तय भएको कुरा सूचनामा जनाइएको छ ।

एकैपटक १४ वटा शाखा संयुक्त रुपमा उद्घाटन गरी संचालनमा ल्याउन लागिएको संभवतः यो पहिलो हो । राष्ट्रिय वाणिज्य बैंकको अहिलेसम्म देशैभर गरी २ सय २२ शाखा संचालन छन् । नयाँ थपसहित २ सय ३६ शाखा पुग्ने अपरेसन विभागका सरोज बस्नेतले जानकारी दिए ।

नयाँ थपिने १४ शाखा काठमाडौंमा कोटेश्वर र टोखा, रौतहटको चन्द्रपुर, झापा, कपिलवस्तुको चन्द्रौटालगायत क्षेत्रमा रहेको बैंकले जनाएको छ । सेवाग्रहीको विश्वास जित्दै आएको यस बैंकले नयाँ शाखा विस्तार तथा संचालनले बैंकिङ सेवामा थप विश्वास जित्न सफल हुने बैंकको विश्वास छ ।

उद्घाटन कार्यक्रममा गभर्नर डा. चिरिञ्जीवि नेपालको विशेष उपस्थिति रहने जनाइएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलवार ०८:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।