Logo

प्रदेश

ललनकुमार रायको निधनप्रति कांग्रेसद्धारा दुःख व्यक्त



नेपाली कांग्रेसले महासमिति सदस्य ललनकुमार रायको निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले शोक विज्ञप्तिमार्फ दुःख व्यक्त गरेका हुन् । महोत्तरीको मनरासिस्वा नगरपालिका–१० बथनाहाका ५८ वर्षीय रायको मंगलबार काठमाडौंबाट महोत्तरी जाँदै बस दुर्घटनामा परेर निधन भएको थियो ।

‘नेपाली कांग्रेसका महासमिति सदस्य ललनकुमार रायको दुर्घटनामा परी निधन भएको घटनाप्रति म गहिरो दुःख व्यक्त गर्दछु,’ सभापति देउवाले भनेका छन्, ‘स्वर्गीय रायले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी संगठनमा पु¥याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । उहाँको निधनबाट पार्टीले एक कुशल संगठनकर्तालाई गुमाएको र अपूरणीय क्षति पुगेको छ ।’
देउवाको तर्फबाट पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमार्फत घाइतको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् । दुर्घटनामा परेर गम्भिर घाइते भएका रायको उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लैजाँदै गर्दा बाटोमा निधन भएको थियो ।

दुर्घटनामा नेपाली कांग्रेस महोत्तरीका क्षेत्रीय सभापति राधवेन्द्र झा र सक्रिय व्यक्ति जयप्रकाश चौधरी गम्भीर घाइते भएको कांग्रेसले जानकारी दिएको छ । घाइतेको जनकपुरस्थित अस्पतालमा उपचार भइरहेको छ ।

राय नेपाली कांग्रेस महोत्तरीका पूर्वकोषाध्यक्ष र नेपाल विद्यार्थी संघ महोत्तरी जिल्लाको पूर्वकोषाध्यक्षसमेत रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । नेपालमा प्रजातन्त्र स्थापनाका लागि गरिएको संघर्षका क्रममा उनले करीब ३ वर्ष जेल जीवन बिताएका थिए । २०६२/६३ को जनआन्दोलनमा सहभागी हुँदा सुरक्षाकर्मीको प्रहारबाट उनको बायाँ खुट्टामा गम्भीर चोट लागेर रड राखिएको थियो ।

२०४९ को स्थानीय निर्वाचनमा जिल्ला विकास समितिको सदस्यमा निर्वाचित भएको राय २०७० सालमा भएको दोस्रो संविधानसभा सदस्यको लागि महोत्तरी क्षेत्र नम्बर ४ बाट कांग्रेसका उम्मेदवार समेत भएको थिए ।

प्रकाशित मिति : २२ पुष २०७६, मंगलवार ०९:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।