Logo

सूचना/प्रविधि

लकडाउनबेला वर्डलिंकको ठगी धन्दा सुरु



विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण कोरोना संक्रमणको जोखिम फैलिन नदिन भन्दै सरकारले लकडाउनको अवधि बढाउँदै गएको छ । यस्तोमा इन्टरनेट सेवा प्रदायक वर्डलिंकले भने ग्राहकलाई ठगी गरिरहेको गुनासो आउन थालेको छ ।

उता नियमाक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई इन्टरनेटमा ग्राहकलाई सुविधा दिन आग्रह गरेपनि वर्डलिंकले भने पैसा नतिर्ने ग्राहकको लाइन नै बन्द गर्न थालेको गुनासो ग्राहकहरूले गर्न थालेका छन् ।

त्यो सँगै साँझ र मध्याह्नमा समेत इन्टरनेट सार्‍है ‘स्लो’ हुनथालेको कारण कतिपयको काम नै प्रभावित बन्न पुगेको छ । ‘मध्याह्न र साँझमा इन्टरनेट बाट कुनै काम नै गर्न सकिन्न न त कुनै फाइल नै डाउनलोड हुन्छ ।’ अनलाइन काम गर्ने भक्तपुरका एक ग्राहकले गुनासो गरे । इन्टरनेटकै समस्याका कारण आफ्नो नियमित काम मध्यरातमा वा बिहानै गर्नुपर्ने बाध्यता भएको र यसको बारेमा वर्ल्डलिंकलाई पटकपटक आग्रह गर्दा समेत कुनै सुनुवाइ हुन नसकेको उनको अनुभव छ । २० एमबीपिएस स्पिडको इन्टरनेट लिएका उनको सर्भरमा अधिकांश समय ८ एमबिपिएस भन्दा बढी स्पिड उपलब्ध नै नहुने गरेको उनको भनाइ थियो ।

यश विषयमा जानकारी लिन खोज्दा वर्ल्डलिंकले भने लकडाउनको बेलामा समेत मुलुकभरका विभिन्न शाखा निश्चित समयको लागि खुल्ने र अनलाइन भुक्तानी समेत गर्ने सुविधा भएकोले शुल्क बाँकी राख्ने कुनै सुविधा ग्राहकलाई नभएको वर्ल्डलिंकले जनाएको छ ।

‘इन्टरनेटको शुल्क अनलाइन बाट तिर्न सकिन्छ यदि त्यसो पनि गर्न नसक्ने हो भने हाम्रा शाखाहरू खुलिरहेका छन् । ती शाखामा समेत गएर तिर्न सकिन्छ । सुरुमा केहि समय हामीले त्यत्तिकै एक्सटेण्ड गरेका थियौं अब त्यसो गर्न सकिने अवस्था छैन ।’ वर्ल्डलिंकका एक अधिकारीले भने ।

ती अधिकारीले भनेजस्तै वर्ल्डलिंकले मुलुकभरमा शुल्क तिर्ने शाखा खोलेको छ । ठाउँअनुसार बिहानको समयमा शुल्क तिर्न सकिने शाखाको सूचना आफ्नो वेबसाईटमा राखेको छ । तर वर्ल्डलिंकको शाखामा पुगेर शुल्क तिर्न सहज नभएको र सबै ग्राहकले अनलाइन मार्फत पैसा तिर्न नसक्ने कुरालाई भने वर्डलिंकले मध्यनजर नगरेको ग्राहकहरूको गुनासो छ ।

अर्कोतिर वर्ल्डलिंकको शाखामा पुगेर पैसा तिर्न पनि लकडानमा भएको कडाइ सँगै ग्राहकहरूका लागि भने त्यो पनि असहज बनेको छ । अर्कोतिर महानगरीय प्रहरी परिसरले भने इन्टरनेटको शुल्क तिर्न भनेर कोहि पनि बाहिर जान नपाउने स्पष्ट पारेको छ ।

वर्ल्डलिंकका मुलुकभरका शाखा खोलिएको बारे पनि महानगरीय प्रहरी परिसरले अनभिज्ञता प्रकट गरेको छ । यस्तोमा इन्टरनेटको शुल्क लिन खोलिएका वर्ल्डलिंकका शाखा कसरी खुले भन्ने प्रश्न समेत खडा भएको छ । कोरोना संक्रमणका कारण मुलुकमा लगातार लकडाउन लम्बिदैं जाँदा जनजीवन कष्टकर त बनेको नै छ । त्यो सँगै इन्टरनेट समेत काटिदाँ अत्यावश्यक सूचना बाट समेत वञ्चित हुनुपरेको ग्राहकहरूले गुनासो गरेका छन् । यसलाई विपत्तिको समयमा वर्ल्डलिंकको ठगी नै भएको ग्राहकहरूको भनाइ छ ।

यस बिषयमा प्रतिक्रिया लिन वर्ल्डलिंकका चेयरमेन दिलीप अग्रवाल सँग कुराकानीको लागि पटकपटक सम्पर्क गर्न खोज्दा उनको मोबाइल फोन भने स्विच अफ गरिएको हुँदा हाम्रो सम्पर्क गर्ने प्रयास भने सफल हुन सकेन ।

 

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलवार १९:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।