Logo

विचार / ब्लग

कोरोना जितेका स्वास्थ्यकर्मीको अनुभूति-आत्मविश्वास र स्वास्थ्य सतर्कता नै जीतको हतियार



बुवा ! तपाई कहाँ हुनुहुन्छ ? हतारिएको आवाजमा छोरीले फोन गरिन।मैलै बिस्तारै भने म मार्तडी मै छु।छोरीले त पत्याइन र तीन पटक सोधिन,: साँच्चै मार्तडी मै हो ? बन्दाबन्दी भएकाले छोरीहरू सबै घरमा गएकाले म मात्र मार्तडी बस्थेँ । एकाएक हतारिँदै सशङ्कित भएर छोरीले सोधेकीले के भएछ भन्ने लागेर उनलाई आश्वस्त पार्दै आफू मार्तडी मै रहेको विश्वास दिलाएँ र उनले फोन काटिन् । तर मेरो मनमा भने किन हतारिँदै छोरीले फोन गरिन् भन्ने कौतुहलता भइरह्यो।मन थाम्न सकेन र फेरी फोन गरेँ, फोन छोरीकी आमाले उठाइन र रुँदै भनिन्, तपाई कस्तो निष्ठुरी ?

यतिसम्म हुँदा पनि खबर गर्नुहुन्न। हामीलाई केही जानकारी नै नदिने ? कस्तो मान्छे तपाई ? एकोहोरो मन्तव्य जारी रह्यो उनको।उनलाई रोक्दै आखिर के भयो ? किन यसरी एकोहोरो सम्झाउँदै छौँ भन्दा बल्ल कुरामा आइन ! गाउँमा तपाईँलाई गार्‍हो भएर धनगढी लगियो भन्ने खबर छ । तपाई फोन उठाउन पनि सक्नुहुन्न रे ! बोल्न पनि सक्नुहुन्न रे ! खाना पनि खानु भएको छैन रे ! अरू पनि के के रे थप्दैगइन म सुनिरहेँ।

आखिर भएको के रहेछ भने बजारमा मलाई गाह्रो भएर धनगढी लगिएको। खाना खान नसकेको।बोल्न नसकेको लगायतमा अनेकौँ अफवाह फैलिएको रहेछ।अब मर्छ सम्म भन्न भ्याइसकेका रहेछन्।हुन त विश्व समुदाय त्रसित भइरहेका बेला मेरा श्रीमती छोरी त्रसित हुनु कुनै नयाँ र अचम्म लाग्दो थिएन र पनि म भने ढुक्क थिएँ कोरोना केही हैन म जित्न सक्छु ।

असार ४ गते मेरो जिन्दगीको एक अविस्मरणीय र कहालीलाग्दो दिन रह्यो जुन दिन परीक्षणका लागि स्वाब सङ्कलन गरी पठाएको हप्ता दिन पछि कोरोना पोजेटिभ भएको रिपोर्ट आयो।जेठ २३ गतेदेखि क्वारेनटाइनमा बसिरहे पनि ३१ गते मात्र जाँचका लागि स्वाब पठाएका थियौँ।नगरपालिकाले हामी स्वास्थ्यकर्मीका लागि मार्तडी स्थित होटेल दृष्टिमा क्वारेनटाइन व्यवस्था गरेकाले म लगायत मेरा ४ जना सहकर्मी त्यही बसिरहेका बेला हामी सबै सङ्क्रमित भयौँ ।जिल्ला बाहिर तथा भारतबाट आएका व्यक्तिहरूको सामान्य स्वास्थ्य जाँच तथा स्वास्थ्य परामर्श दिनका लागि जिल्ला कारागार नजिक हेल्थ हेल्प डेस्क स्थापना गर्‍यौँ ।

जिल्ला प्रवेश गर्ने व्यक्तिहरूको लागि चैत्र ११ गतेदेखि सेवा दिई रहँदा मालिका मावि लगायतका क्वारेनटाइनमा नियमित स्वास्थ्य जाँच र(RT-PCR)  सङ्कलनमा अहोरात्र खटिरह्यौँ।राति निदाउने बेला फोन गर्थे सर मलाई खोकी लाग्यो तुरुन्त आउनु पर्‍यो।हत्तपत्त त्यही पुग्नुपर्‍यो।

नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख समेत भएकाले एकतिर व्यवस्थापकीय, समन्वय र अर्को तिर उपचारात्मक काममा व्यस्त हुनु पर्ने थियो। स्वास्थ्य चौकीबाट काजमा बोलाइएका साथीहरू पनि दिनरात नभनी काममा खटिएका थिए।दिनदिनै भारतबाट आउनेको सङ्ख्या बढिरहेकाले एकातिर क्वारेन्टाइनको व्यवस्थापन र अर्को तर्फ(RT-PCR) परीक्षणको कामले हामी निकै व्यस्त थियौँ । व्यक्तिगत सुरक्षाका उपाय अपनाए पनि अन्तत: हामी सबै सङ्क्रमित भयौँ ।

आइसोलेसन अनुभूति :

असार ४ गते देखि १७ गतेसम्म हामी आइसोलेशनमा रह्यौँ। सङ्क्रमण पुष्टि भएपछि पनि जेठ २३ गतेदेखि बसिरहेको होटेलमा नै बस्यौँ।हामीलाई सङ्क्रमण पुष्टि भएको खबर पाए पछि एकछीन होटेल मालिक अलिकति सशङ्कित जस्ता देखिए पनि सर्नु पर्ने भए सरिसक्यो होला अव यही बस्नु भने। नगर प्रमुखज्यूले हाम्रा कर्मचारी राख्दा तपाईँहरूलाई कुनै समस्या हुन्छ भए हामी मालिका विद्यालयमा व्यवस्था गर्छौँ भन्नु भएको थियो । तर पनि होटेलले अब यही बस्दा फरक नपर्ने भनेपछि त्यही बस्ने भयौँ। साबिक उप-स्वास्थ्य चौकी, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पतालमा रहँदा बिरामीको उपचारमा हिँडिराख्ने खटिराख्ने बानी भएकाले पनि होला कति बेला बाहिर निस्किऊँ, मान्छेहरू भेटिरहुन् जस्तो भने भइरह्यो।

एउटै परिवारका (कार्यालय) २ जना हे.अ., २ जना ल्याबका कर्मचारी समेत भएकाले बसाई त्यस्तो अत्यास लाग्दो भएन। मलाई र तिलक न्यौपाने (हे.अ) भाइलाई अलिकति खोकी लागेको थियो । बाँकी रत्न सर (ल्याब टेक्निसियन), भेषराजजी (हे.अ.) र गङ्गा कुमारी थापा बहिनीलाई (नगरपालिकाद्वारा नियुक्त ल्याब असिस्टेन्ट) लाई भने कुनै चिन्ह र लक्षण देखिएन ।  एक पटक फोनमा बोल्दा ५ पटकसम्म खोक्नुपर्ने भएकाले हप्ता दिन जस्तो फोन बन्द गरेँ। जिल्ला सदरमुकामको नगरपालिका भएकाले कोरोना नियन्त्रण तथा रोकथाममा अन्य पालिकाको भन्दा हाम्रो अलि बढी जिम्मेवारी थियो।

उत्तरी भेगका ४ पालिकाका (बुढीनन्दा नगरपालिका, स्वामीकार्तिक गाउँपालिका, जगन्नाथ गाउँपालिका र हिमाली गाउँपालिका) लगायत गौमूल गाउँपालिका र खप्तड छेडेदह गाउँपालिकाका मान्छेहरूलाई होल्डीङ्ग पोइन्टमा राख्ने, हाम्रो पालिकाका मान्छेहरूलाई क्वारेन्टाइनमा राख्ने र क्वारेन्टाइनमा रहेकाहरूको निर्धारित दिनमा परीक्षण गर्ने लगायतका सम्पूर्ण काम गरिरहेको सिङ्गो टिम नै सङ्क्रमित भएकाले नयाँ साथीहरू (हामी सङ्क्रमित भए पछि नगरपालिकाले स्वास्थ्य संस्थाबाट सी.अहेव कासिचन्द उपाध्याय, अहेव अमर बडूवाल, ल्याबमा नयाँ कर्मचारी केशव कार्की र विगत वर्षदेखि स्वास्थ्य क्षेत्रमा अनुभवी कार्यालय सहयोगी दिलबहादुर विष्टको नयाँ टिम बनाएको थियो। ) तारन्तार फोन गरिरहन्थे।  तिलक भाइ, भेषराज जीको मोबाइलबाट हामी साथीहरूलाई सहयोग गर्थ्यौँ।दिनरात बन्द कोठामा बस्दा पनि इन्टरनेट, टि.भि. र रमाइला साथीहरू भएकाले १४ दिनको आइसोलेसन बसाई सजिलै कटायौँ। १४ दिन पछि फ्लोअप रिपोर्ट नेगेटिभ आएपछि १७ गते हामी कार्यालयमा आयौँ।

आत्मविश्वास र स्वास्थ्य सतर्कता नै जीतको हतियार

हामी सबै स्वास्थ्यकर्मी भएकाले कोरोनाको जोखिमका विषयमा जानकार थियौँ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार र सूचना समेत जानकारी हुने भएकाले अलिक डर पनि थियो र पनि हामीले हार मानेका थिएनौँ। कोरोनाका लक्षणसँग मिल्ने सङ्केत देखिएमा के औषधी खाने भनेर हामीले सबै औषधीको व्यवस्था गरेका थियौँ।खोकी लाग्दा नियमित औषधी सेवन पनि गरेँ।कार्यालय प्रमुख (प्रमुख प्रशासकीय अधिकृत यज्ञराज अर्याल) ले बेला बेला फोन गरेर टेक सर तपाई ढुक्क हुनुहोस् है अप्ठ्यारो भयो भने म हेलिकप्टर चार्टर गरेर पनि तपाईँलाई काठमाडौँ पुर्‍याउँछु भन्नुहुन्थ्यो।

उहाँको सम्बन्ध र सहयोगप्रति हामी विश्वस्त थियौँ की उहाँले सक्ने जति कुनै कसुर बाँकी राख्नुहुन्न हाम्रा लागि। नगर प्रमुखज्यू पदम बडूवालले पनि सधैँ अभिभावकत्व प्रदान गरिरहनु भयो । उहाँ आफै मैदानमा खट्नु भयो। दिनरात नभनी हामीसँगै कोरोना रोकथाममा लाग्नु भयो।नगरपालिकाका समग्र कर्मचारी साथीहरू र अन्य स्वास्थ्यकर्मी साथीहरूले पनि सदैव आत्मबल बढाइरहे।होटेलबाट समेत कहिले अलग व्यवहार भएन हामीलाई। हाम्रा खाना खाने भाडाहरू छुट्टै थिए।समय समयमा खानाको व्यवस्था भइरह्यो।मलाई २०७० सालमा भालुले आक्रमण गर्दा टाउकोमा ठुलो चोट लाग्यो।भालुजस्तो जङ्गली जनावरबाट त बाँचे भने कोरोना त मज्जाले जित्न सक्छु भन्ने आत्मविश्वासले नै कोरोना जित्न सफल भएँ।

जिन्दगी नं ३

हामी स्वास्थ्यकर्मीले जिन्दगीमा कयौँ मानिसहरूको ज्यान जोगाएका हुन्छौ।कयौँ मानिसले हाम्रै अगाडि ज्यान गुमाएका समेत हुन्छन्।मृत्युसँगको साक्षात्कार नजिकबाट गर्नेहरूलाई मृत्युदेखि खासै डर लाग्दैन।हामी विज्ञानमा विश्वास गर्छौ।र कहिले कहीँ समयमा पनि।समय आएपछि कसैको केही लाग्दैन । एउटै पद्दती र एउटै औषधीले उपचार गर्दा कसैको जीवन प्राप्ति हुन्छ त कसैको जीवन अन्त्य। २०५० सालमा जागिर सुरु गरी २०७७ सालसम्म आइपुग्दा २७ वर्षे जागिरे जीवनमा कयौँ महामारीको सामना गरियो। सिजनल ज्वरो, हैजा, झाडापखाला लगायतका कयौँ महामारी भन्दा फरक रूपमा आयो कोरोना।अन्य महामारीको नियन्त्रणमा सङ्क्रमणको कम सम्भावना रहे पनि कोरोनामा भने उच्च जोखिम रहने देखियो। बाजुरा जिल्ला सबै गाउँ गाउँमा अधिकांश सबै जिल्लावासीका नाडी छामेका मेरा हातले VTM किट समात्दा भने अर्को जिन्दगीमा प्रवेश गरायो।

जिन्दगीको पहिलो परीक्षा २०७० सालमा जङ्गली जनावर भालुसँग दिएँ। जिल्ला अस्पताल बाजुरामा दरबन्दी भई बाल रोगको एकीकृत व्यवस्थापन कार्यक्रमको  Follow Up मिटिङमा काँडा स्वास्थ्य चौकीबाट कार्यालय फर्किने क्रममा अकस्मात् जङ्गली जनावर भालुसँग जम्काभेट हुँदा मेरो टाउको लगायत शरीरका अन्य भागमा चोट लाग्न पुग्यो ।टाउकोमा समातेर मलाई उसको टाँङ्गमुनी पार्‍यो र निरन्तर लुछिरह्यो। ३०/३२ वर्षको लक्का जवानीमा भालुको घाँटी समाती खुट्टाले हुत्त्याउँदा भालु पाखाबाट गुल्टियो र घर तर्फ नै फिर्ता भएँ।घरबाट ठ्याक्कै बारीपट्टिको खोलामा भालु कराएको सुनेपछि गाउँलेहरू हल्लाखल्ला गर्दै आए।सबैले भालुले आक्रमण गरेपछि मान्छे बाँच्न नसक्ने अड्कल समेत लगाए तर पनि म बाँचेँ।पहिलो परीक्षामा सफल भएँ। हाल भालुले कोतरेको तालुमा अझै कपाल उम्रेका छैनन्।

जिन्दगीको दोस्रो परीक्षा कोरोनाले लियो।कोरोनासँगको लडाइमा विगत चैत्र ९ देखि युद्धरत रहँदा चैत्र ४ गते सङ्क्रमण देखियो।हेल्थ हेल्प डेस्क, क्वारेन्टाइन, आइसोलेसन लगायत औषधी उपकरण व्यवस्थापन र सूचना व्यवस्थापनमा खटिरहँदा कोरोना पोजेटिभ भएँ।जेठ २३ देखिको क्वारेन्टाइन र १४ दिनको आइसोलेसन बसाई पछि कोरोना समेत पराजित भयो अन्ततः असार १७ गते कोरोना जितेको प्रमाण पत्र हात पर्‍यो र जिन्दगी नं ३ मा प्रवेश गरेँ।

मृत्युसँग नजिकबाट साक्षात्कार गरेका यी २ घटनाले जिन्दगीको मूल्य सिकाएर गए।जिन्दगीको महत्त्व बुझाएर गए।भालु आक्रमण पश्चात् मैले टोपी लगाउनु पर्ने अनिवार्य भयो।कोरोना सङ्क्रमण पश्चात् म लगायत सबैलाई व्यक्तिगत सरसफाइ नै रोगको मूल औषधी रहेको कुरा बुझायो।व्यक्तिगत सरसफाइ, स्वास्थ्य सतर्कता र उच्च आत्मविश्वास नै जिन्दगीमा प्रमुख हतियार रहेछन्।

सीअहेव (अधिकृत छैटौँ)  टेकबहादुर खड्का बडिमालिका नगरपालिका बाजुराका स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख हुन भने मिति २०७७ असार ४ गते उनी लगायत नगरपालिका ४ सहित ५ जना स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण भई मिति २०७७ असार १७ गते कोरोना जितेका थिए।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलवार १५:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।