नेपाल टेलिकमका कर्मचारीहरुले विभिन्न ११ बुँदे माग राखेर आन्दोलन र धर्ना दिएको आज ३७औं दिन पुगेको छ । शान्तिपूर्ण आन्दोलन र धर्नाको यत्रो दिन हुँदा पनि टेलिकम व्यवस्थापनले कर्मचारीहरुको मागप्रति कुनै सुनुवाई गरेको छैन ।
टेलिकम व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच विभिन्न चरणमा वार्ता भने चलिरहेकै छ । तर पटकपटकको वार्ताबाट निचोड निस्कन सकेको छैन । हिजो भएको वार्ताले पनि ठोस निष्कर्ष ननिस्केपछि कर्मचारीहरु थप आन्दोलित भएका छन् । उनिहरुले टेलिकमका प्रवन्ध निर्देशक डिल्लिराम अधिकारीले आफ्नो पदिय स्वार्थ नछोडेका कारण कुनै निष्कर्ष निस्कन नसकेको बताए ।
टेलिकमले कर्मचारीहरुको माग सुनुवाई नगरेसम्म आन्दोलन र धर्ना शसक्त रुपले जारी रहने कर्मचारीहरु बताउँछन् । व्यवस्थापनले माग सम्बोधन गर्न जति ढिलो गर्छ आन्दोलन त्यति नै शसक्त हुँदै जाने कर्मचारी युनियनका एक नेताले बताए । उनले भने– ‘हामीले आन्दोलन गरेको यत्रो दिन भइसक्यो व्यवस्थापनले अझै गम्भिर रुपले लिएको छैन । छिटो भन्दा छिटो माग सम्बोधन होस भन्ने पक्षामा छौं ।
टेलिकम युनियनमा आवद्ध कर्मचारीहरु कर्मचारी विनियमावली सम्बन्धमा पेश गरेका सुझाव तथा ध्यानाकर्षणहरुको सम्झौता सहमति कार्यान्वयनमा व्यवस्थापन र संचालक समितिले उदासिनता देखाएका कारण टेलिकमको केन्द्रीय कार्यालयमा धर्ना दिइरहेका छन् । उनिहरुले आफ्ना मागहरु सम्बोधन नभएसम्म आन्दोलन, धर्ना र संघर्षका कार्यक्रम नरोकिने बताए ।




















प्रतिक्रिया