रियालिटी स्ट्याण्ड अप कमेडी शो कमेडी च्याम्पियनको सिजन २ को सुरुवाती चरणदेखि नै आफ्नो खरो प्रस्तुतिका कारण आम दर्शकको मन जित्न सफल भएका कमेडियन भरतमणि पौडेल यतिबेला सबैतिर छाई रहेका छन् । पजिन २ को टप ३ मा उक्लिदै गर्दा पौडेलको चर्चा झन् चुलिएको हो ।
कुनै पनि पात्र र घटनालाई जस्ताको त्यस्तै उतारेर हाउभाउका साथ बोलीको नक्कल गर्न सक्ने क्षमता भएका पौडेलले टप ४ मा आइपुग्दा भने पूर्वयुवराज पारश शाहको क्यारिकेचर गरेर दर्शक र निर्यायकहरुको समेत मन जित्न सफल भए ।
दर्शकहरुले सिजन २ को टप १५ को प्रस्तुतिका कारण पौडेललाई सबैभन्दा बढी फलो गर्न थालेका थिए । उनले उक्त भागमा एउटा डेरावाल रक्सीको तालमा राती १२ बजे डेरामा पुग्दा घरबेटीले गर्ने व्यवहार र रक्सीले मातेको डेरावालको कथा बुनेर प्रस्तुति दिएका थिए । घरबेटीले पाँचबजेभित्र कोठा सार्न दिएको आदेश र कोठा खोज्ने क्रममा गोकुल बाँस्कोटा, राजेन्द्र महतो, राम नारायण बिडारी र पूर्वराजा ज्ञोनेन्द्र शाहको घरसम्म पुगेर डेरा मागेको प्रसंग उक्त भागमा थियो ।
पौडेलले ती सबै चरित्रहरुमा उनीहरुको स्थान र व्यहारका कारण उनीहरुले गर्ने चरित्रलाई केही व्यंग्यात्मक र सन्देशमुलक तरिकाले प्रस्तुति दिएका थिए । उनको यो प्रस्तुतिले पौडेललाई हाइ हाइ बनाएको थियो ।
त्यसपछिका दिनमा पनि उनका प्रस्तुतिहरु अन्य प्रतिस्पर्धीहरुका तुलनामा दमदार छन् । उनी कहिले एलियन बनेर प्रस्तुत भए भने कहिले डाक्टर, कहिले पत्रकार त कहिले एक वृद्धको भूमिकामा रहे । उनले जुन विषय उठान गरे त्यसमा कमेडी र व्यंग्य मात्र समेटेनन् देश, समाज र विकृत राजनीतको चिरफार गर्दै सन्देश पनि दिए ।
पछिल्लो कमेडी जादु भने उनले टप ४ को प्रस्तुतिमा देखाए । शुक्रबार दिउसो टप ४ को ट्रेलर हेर्दा पौडेलको प्रस्तुति त्यही साँझ आउनेमा दर्शकहरु प्रतिक्षारत देखिएका थिए । तर पौडेलको प्रस्तुति भएको भाग उक्त दिन प्रसारण गरिएन । शनिबार मात्र प्रसारण गरिएको थियो ।
पूर्वयुवराज पारश शाहको लवाई, अनुहार, बोलीचाली, शैली सबै जस्ताको त्यस्तै देखाएपछि उनी चर्चा झन् धेरै चल्यो । उनी यसरी रुचाइए कि सिताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस–सुन्तली) अतिथि निर्णायक रहेको शुक्रबारको भागभन्दा किरण के.सी. अतिथि निर्णायक रहेको भरतमणिको प्रस्तुति रहेको शनिबारको भाग धेरै दर्शकहरुले रुचाए ।
यो समाचार सामाग्री तयार गर्दै गर्दा शुक्रबारको भाग ७ लाख ९० हजार हाराहारी पटक दर्शकहरुले हेरेका छन् भने शनिबारको भाग १४ घण्टाको ८ लाख ६० हजार पटक हेरिएको छ । यो भाग युट्युव कष्ट्युमको ट्रेण्डिङ नं. २ मा चढि सकेको छ । यसबाट पनि पौडेलको लोकप्रियतालाई मापन गर्न सकिन्छ ।
भरतमणि टप ४ बाट टप ३ मा चढिसकेका छन् । उनलाई सामाजिक सञ्जालका दर्शकदेखि निर्णायकहरुले समेत अग्रिम बधाई दिईसकेका छन् । निर्णायकहरु भन्दा पनि दर्शकहरुले गर्ने भोटलाई मुख्य प्राथमिकता हुने भएकोले उनले कमेडी च्याम्पियन जित्ने या हार्नेमा उनको पक्षमा कमेन्ट गर्ने दर्शक भन्दा पनि उनलाई भोट गर्ने दर्शकमा निर्भर रहेको छ ।
मिडिया होस् या सामाजिक सञ्जाल यति बेला चर्चा भरतमणि पौडेलकै छ । सामाजिक सञ्जालमा हजारौंले पौडेलको भिडिायो शेयर गरेका मात्र छैनन् हरेक जसोले अग्रिम बधाई समेत दिएका छन् । हरेक जसो मिडियाले उनका समाचार प्रकाशन गरेका छन् । तर उनलाई वास्तविक बधाइ दिन भने अन्तिम भागसम्म प्रतिक्षा गर्नै पर्ने भएको छ ।






















प्रतिक्रिया