बागमती प्रदेशमा मुख्यमन्त्री अष्टलक्षी शाक्य नेतृत्वको सरकार संकटमा परेको छ । ११ जना सांसदहरु माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) मा लागेपछि शाक्य नेतृत्वको सरकार स्पष्ट अल्पमतमा परेसँगै उनको कुर्सी समेत धरापमा परेको हो ।
मंगलबार ११ जना सांसदहरुले औपचारिक रुपमा एमाले छोडेर प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर नेकपा (एकीकृत समाजवादी) पार्टीमा आफूलाई सनाखत गराएका छन् ।
प्रदेशसभा सदस्यहरु राजेन्द्र पाण्डे ,मुनु सिग्देल, बसुन्धरा हुमागाईं, राजेन्द्रमान श्रेष्ठ, लक्ष्मण लम्साल, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, माधव पौडेल, बसन्त मानन्धर, रमा आले मगर र कुसुमकुमार कार्कीले एमाले छोडेर समाजवादीमा लागेको व्यहोरा सहित आयोगमा पुगेर सनाखत गराएका हुन् ।
सामाजिक विकास मन्त्रीसमेत रहेका कृष्ण प्रसाद खनालले पनि आजै नयाँ दलमा सनाखत गराउने जनाइएको छ । अब निर्वाचन आयोगले संसदलाई दल विभाजनसम्बन्धी जानकारी गराएको ३० दिनभित्र शाक्यले विश्वासको मत लिनुपर्छ ।
एकसय नौ सदस्यीय प्रदेशसभामा एमालेका मात्र ५६ जना सांसदहरु रहेका थिए । सरकारमा बहुमत सावित गर्न ५५ जना सांसद आवश्यक पर्छ तर ११ जना समाजवादीमा गएपछि एमालेसँग ४५ जना सांसद मात्र रहेका छन् ।





















प्रतिक्रिया