Logo

प्रमुख समाचार

वागमती प्रदेशको मुख्यमन्त्री बन्न पाण्डे र बानियाँको दौड, कसको छ सम्भावना ?



नेकपा (एमाले)को विभाजनले गर्दा वागमती प्रदेशको सरकार अल्पमतमा परेसँगै नयाँ मुख्यमन्त्रीको दौडधूप सुरु भएको छ । पहिलो महिला मुख्यमन्त्रीको रुपमा प्रदेशको नेतृत्वमा पुगेकी एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य अल्पमतमा परेसँगै नयाँ सरकार निर्माणको लागि मुख्यमन्त्रीको दौडधूप सुरु भएको हो ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपालबीच उग्र विवाद भएका बेला प्रचण्ड–माधव समूहले नै शाक्यलाई मुख्यमन्त्रीका रुपमा अघि सारेका थिए । फागुन २३ मा सर्वोच्च अदालतले नेकपालाई अवैध भन्दै एमाले र माओवादी केन्द्रलाई पूर्ववर्ती रुपमा ब्युँताई दिएपछि माओवादी केन्द्र आफ्नै ठाृउँमा फर्कियो भने एमालेमा ओली इतर समूहको नेतृत्व नेपालले नै गरे ।

नेृकपा (एमाले)मा एकता गर्ने भन्दै कार्यदल बनाएरै प्रयास गरेपनि एकता भएन बरु फूटको अवस्थामा पुग्यो । एमाले फूटको असर देशव्यापी रुपमा पर्दा यसको असर वागमती प्रदेशमा पनि परेको छ । लामो समय नेपाललाई साथ दिइरहेकी शाक्य नेपालले नयाँ पार्टीको सनाखत गर्ने दिन भदौ २ गते एमालेमै रहेर प्रदेशको मुख्यमनत्री बनिन् तर ५६ सांसद सहित एकल बहुमतको सरकार रहेको वागमतीमा उनी हाल अल्पमतमा परिसकेकी छिन् ।

नेपालको नेतृत्वमा रहेको नेकपा (एकिकृत समाजवादी)मा १२ जना सांसद सामेल भएपछि एमालेसँग अब ४४ जना मात्र सांसद रहेका छन् । एमाले इतरका ठुला दलले विरोधी गठबन्धन बनाएकाले शाक्य नेतृत्वको सरकार ढल्ने पक्का छ । जसले गर्दा विपक्षी दल नयाँ सरकार निर्माणको गृहकार्यमा लागेका छन् ।

वागमती प्रदेशको सरकारको नेतृत्वको लागि यतिबेला नेपाल नेतृत्वको एकिकृत समाजवादीका नेता राजेन्द्र पाण्डे र नेपाली कांग्रेसको प्रदेश संसदीय दलका नेता ईन्द्र बहादुर बानियाँले दाबी गरेका छन् । गण्डकी बाहेक अन्य प्रदेशमा कांग्रेसको नेतृत्व नभएकाले वागमतीमा आफ्नो नेतृत्व हुनु पर्ने बानियाँको दाबी रहेको छ भने नेपाल समूहबाट शाक्यलाई अगाडि सारिएकोले शाक्य एमालेमा गएपछि प्रदेशको नेतृत्वमा आफू निर्विकल्प रहेको पाण्डेको भनाइ रहेको छ ।

गठबन्धनले इमान्दारिता देखाउने हो भने पाण्डे नै मुख्यमन्त्रीको पहिलो दाबेदार हुन सक्छन् । किन भने गठबन्धनबाटै संघीय सरकारको नेतृत्वमा कांग्रेसका सभापति देउवा रहेका छन् भने सातवटै प्रदेशका सरकारमा सहभागी हुन कांग्रेसलाई ढोका खुलि सकेको छ ।

बुधबार १२ जना सांसदले कित्ता क्लियर गरेसँगै पाण्डेले अलि बढी सक्रियता बढाएका छन् । पाण्डेले खुल्ला रुपमा मुख्यमन्त्रीको दाबी गरे पनि बानियाँ भने भित्री रुपमा सक्रिय भएका छन् । बानियाँ आफूलाई मुख्यमन्त्री बनाउन पार्टी सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष आग्रह गरेर बुधबार नै प्रदेश राजधानी हेटौडा लागेका छन् ।

कस्तो छ अंक गणित ?

वागमती प्रदेशमा एमालेका १२ सांसदले साथ छोडेपछि उसँग अब ४४ जना सांसद रहेका छन् । बहुमत सांसद रहेको एमाले अब अल्पमतमा ठूलो दल मात्र बनेको छ । त्यसै गरी प्रदेशमा दोश्रो ठूलो दल माओवादी केन्द्र हो । उसँग प्रदेशमा २३ जना सांसद रहेका छन् । तेश्रो ठुलो दल नेपाली कांग्रेससँग २२ जना सांसद रहेका छन् भने साझाका ३ सांसद रहेका छन् ।

१०९ जना सांसद रहेको प्रदेशमा बहुमत सावित गर्न ५५ जना सांसदको आवश्यकता पर्छ । विपक्षी गठबन्धनसँग नयाँ सरकार निर्माणको लागि स्पष्ट बहुमत पुग्छ । सरकारको नेतृत्व भने पाण्डेले पाउँछन् या बानियाँको हुन्छ त्यसको लागि भने केही दिन पर्खिनै पर्ने हुन्छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार ०९:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।