Logo

प्रमुख समाचार

सुदुरपश्चिम प्रदेशमा समाजवादीभन्दा एमाले सानो दल



सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमालेभन्दा नेकपा (एकीकृत समाजवादी) ठूलो दल बनेको छ । यसअघि १० जना मात्रै सांसद रहेको एकीकृत समाजवादीमा आइतबार थप तीनजना सांसदले सनाखत गरेपछि अब सुदूरपश्चिम प्रदेश सभामा एकीकृत समाजवादी एमाले भन्दा ठूलो दल बनेको हो ।

नेकपा एकीकृत समाजवादीकी सांसद एवं सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता पूर्णा जोशीले प्रदेश सभामा आफ्नो दल नेकपा माओवादी केन्द्रकै हैसियत बराबर रहेको बताइन् ।

उनले अझै नेकपा एमालेबाट एकीकृत समाजवादीमा सनाखत गर्ने सांसदको संख्या बढ्ने समेत दाबी गरिन् । आइतबार नेकपा एमालेमा रहेका सांसद दीर्घ स्वडारी, तारा लामा तामाङ र प्रकाश रावलले एकीकृत समाजवादी रोजपछि उक्त पार्टीका सांसदको संख्या १३ पुगेको छ ।

नेकपा एमालेको सुदूरपश्चिम प्रदेशमा सभामुख बाहेक २४ सिट रहेको थियो । १३ जना समाजवादीमा गएपछि एमालेमै रहने सांसद ११ जना मात्रै रहेका छन् ।

आज सनाखत गर्ने सांसद स्वडारी सुदूरपश्चिम प्रदेश सभाका मन्त्रीसमेत हुन्। उनी एमाले कैलालीको अध्यक्ष समेत थिए ।

त्यस्तै, सांसद तारा लामा तामाङ एमाले कञ्चनपुरका अध्यक्ष हुन् । सांसद रावल कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ को ‘क’ बाट निर्वाचित हुन् । उनी एमाले उपाध्यक्ष भीम रावलका नजिकका नेता मानिन्थे ।

प्रकाशित मिति : २० भाद्र २०७८, आईतवार १६:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।