नेत्रविक्रम चन्द खुल्ला राजनीतिमा आउने समाचारले नेपाली राजनीतिमा हरियो बत्ती बलेको छ । खुल्ला बन्द र फेरि खुल्लाको यो चक्रको अन्तरकथाभित्र थुप्रै प्रश्न चाङ लागेका छन् । नेपालको सामान्य नागरिक नेत्रविक्रम खुल्ला, भूमिगत फेरि खुल्लाको चक्रव्यूह किन फसिरहेका छन् ? उनी भूमिगत हुँदा देशले के गुमायो, खुल्ला भएपछि के पाउँछ ? यसको हिसाव किताव हुन जरुरी छ । जसरी पुलिसमा मान्छे थुन्दा पनि कमाउ धन्दा, थुनुवा निकाल्दा पनि कमाउ धन्दाको राजनीति चल्छ, राजनीतिमा पनि भूमिगत होस या सार्वजनिक जता पनि कमाईका बाटा खुल्छन् । राजनीति नीतिहरुको राजा नभएर राजा बनाउने नीतिमा अनुवाद हुँदै गएको छ । अरु पेशामा लाग्नका लागि न्यूनतम योग्यता निर्धारण गरिएका हुन्छन् । तर नीतिहरुको राजा हाँक्ने राजनीतिज्ञको योग्यता जेल र गुण्डागर्दीमा नापिन्छ । राजनीति सेवा हो । यसको कार्यालय कहिल्यै बन्द हुँदैन् । राजनीतिका चालकको शब्दकोषमा विश्राम लेखिएको हुँदैन । उनीहरुको कमाई र सञ्चयकोष भनेका जनता हुन् ।
नेपालका जुनसुकै कम्युनिष्टहरुको राजनीति भूमिगतबाट आरम्भ भएको छ । दरबारले बनाएका कम्युनिष्ट छोडेर बाँकी सबै कम्युनिष्ट गाउँको सिधोपीठोमा हुर्किएका हुन् । गरिबको गीत गाउँदासम्म उनीहरुलाई जनताले माया दिएकै हुन् । आफ्नो मजेत्रो ओढाएर पुलिसको नजरबाट बचाएकै हुन् । भाग काटेर ख्वाएकै हुन् । माले, माक्र्सवादी, मसाल, जनमोर्चा जुनसुकै नाममा स्थापित कम्युनिष्टको भावभूमि गाउँ नै हो । जब गरिबको गीत गाएर उनीहरु आफैं धनी बन्ने यात्रामा लाग्छन, त्यसपछि गाउँसंगको सम्बन्ध चंगा चेट हुनपुग्छ ।
प्रचण्डलाई नेता बनाउन हिजो नेत्रविक्रमले समय खर्चिए । प्रचण्ड हिँडेको बाटो साँघुरो लागेपछि आफैं भूमिगत भए । प्रचण्डलाई जस्तै राज्यबाट निम्तो पाएपछि वार्ताका लागि तयार भए । राज्यमा अवसरका बाटाहरु खुलेपछि सार्वजनिक हुने निधोमा पुगे । विप्लव खुल्ला राजनीतिमा आएपछि नेपाली जनताले के पाउँछन् ? स्वाभाविक त्रासको एउटा अध्याय समाप्त हुन्छ । उनका कार्यकर्ताले रोजगारी पाउँछन् । राजनीतिमा हिङदेखि हर्दीसम्मको व्यापार फस्टाउँछ । सप्तरीको बरमझियामा बुढाको पेडा पसल ठम्याउन हम्मे भएझैं राजनीतिक व्यापारमा अर्को सटर खुल्छ । भूमिगत हुँदा त्यो पार्टीका नेता कार्यकर्ताले गरेका कुकर्मको हिसावकिताव हुँदैन् । बरु उनीहरुको २०६ वटा हड्डी हँसाउन प्रयत्न हुन्छन् । उनीहरुका घुर्की क्षम्य हुन्छन् । दिनुको विकल्प दिनुको प्रतिरक्षाको अवस्थामा सरकार बस्छ । सरकारभन्दा व्यक्ति शक्तिशाली हुने होड स्वाभाविक रुपमा बढ्छ । त्यो पार्टीका एकाध दर्जन बाहेक अरु खाडीका लागि योग्य बन्छन् । यो खेल राजनीतिकै अविश्राम ‘म्युजिकल चियर’ बन्ने खतरा बढ्छ ।
के अब नेपालमा असन्तुष्टिको राजनीति पूर्णविराम लागेकै हो ? विप्लव असन्तुष्ट राजनीतिक खेमाका अन्तिम पात्र हुन् ? भए यसको ग्यारेन्टी कसले गर्छ ? खुल्ला राजनीतिमा आएका मध्ये विप्लव अपवाद पात्र हुन्छन् ? कम्युनिष्टससंगै फरक मत राखेर विद्रोह गरेका उनको भावी राजनीतिक रोडम्याप के हो ? नेपालमा कम्युनिष्टका लागि कम्युनिष्ट नै खतरा हो । हिजो दशकौं कुम जोडेका नेताहरु आज एक अर्कालाई सिध्याउने षडयन्त्रमा जुटेका छन् । केपी ओलीको विकल्प शेरबहादुर देउवा देख्ने कम्युनिष्टका लागि यो भन्दा ओरालो यात्रा अरु हुनै सक्दैन् । त्यसैपनि दुई तिहाई जनमतप्राप्त ओली सरकारलाई खरानी बनाउने खेल आफैंमा विडम्बना हो ।
सुशासन त्यो हो, जहाँ राज्यका क्रियाप्रति कमभन्दा कम प्रतिक्रिया आउन् । त्यो बाटोबाट राजनीति च्यूत भइसकेको छ । अब बाँकी आत्मरति मात्रै हो । किताव र घोषणापत्रमा लेखिएका आश्वासन उपलब्धि होइनन् । उपलब्धि त अनुभूतिमा आउनुपर्छ । जसरी प्लास्टिकको फूलमा मौरी आकर्षित हुँदैन, त्यसरी नै घोषणापत्रमा लेखिएका विषयको स्वामित्व जनताले लिँदैनन् । घोषणापत्र जनताको हाँसो फुल्नुपर्छ । नत्र कुनै दल भूमिगत हुनु या खुल्ला राजनीतिमा आउनुको अर्थ रहँदैन् ।
प्रतिक्रिया