मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपाली राजनीतिक दलहरुमा फेरि नयाँ तरंग ल्याएको छ । सत्तामा हुँदा यसको पक्षमा रहेको नेकपा (एमाले) विपक्षी हुनासाथ यसको विपक्षमा उभिएको छ भने सत्ता गठबन्धनमा रहेका दलहरुको मत विभाजित देखिएको छ ।
सत्तामा रहेको दोश्रो ठेलो दल नेकपा (माओवादी केन्द्र) मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पास हुन नदिने पक्षमा छ । सत्ता साझेदार दल माओवादीले अहिलेकै अवस्थामा एमसीसी स्वीकार गर्न नसकिने भन्दै संसदबाट पास हुने नदिने नीति लिएको हो ।
एमसीसी सम्झौता राष्ट्रघाती हो भन्दै सडक र सदनमा समेत आवाज उठेपछि सरकारले केही समय अगाडि ११ बुँदे प्रश्न पठाएको थियो । एमसीसीले बुधबार त्यसको जवाफ पठाउँदै कुनै पनि बुँदा संशोधन गर्न नसकिने जवाफ पठाएको छ । उक्त जवाफ चित्त बुझ्दो नभएको भन्दै सत्तारुढ माओवादीले एमसीसी अस्वीकार गर्ने भएको हो ।
आफ्नो पार्टीले एमसीसी अस्वीकार गर्ने भएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार नै नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेटघाट गरेका छन् । भेटघाट मन्त्रिमण्डललाई पुर्णता दिने विषयमा छलफल गर्न गरिएको भनिए पनि एमसीसीमा केन्द्रित रहेको बताईएको छ ।
बुधबार नेपाललाई ११ बुँदे प्रश्नको जवाफ पठाएपछि बुधबार बिहानै एमसीसीकी उपाध्यक्ष फतिमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोली काठमाडौं आएको छ । नेपाल आउनासाथ सुमारको टोलीले राजनीतिक भेटघाट समेत अघि बढाएको छ ।
सुमारको टोलीले एमसीसीको बारेमा पहिलो छलफल प्रमुख प्रतिपक्षी दलका नेता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गरेको छ । अध्यक्ष ओलीलाई सुमारको टोलीले उनको निवास बालकोटमै पुगेर भेटघाट गरेको हो ।
सरकारको नेतृत्व गरेका बेला कृष्ण बहादुर महरा र अग्नि प्रसाद सापकोटा दुवै सभामुखलाई एमसीसी सदनमा पेश गर्न दबाब दिएका ओली सत्ताबाट बाहिरिएपछि भने विरोधमा रहेको छनक दिएका छन् । बुधबार बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष ओलीले एमसीसी देशको हितमा नरहेको बताएका हुन् ।
पहिले एमसीसी पेश गर्न सभामुखलाई दबाब दिने ओलीले बुधबार अचानक बोली फेरेपछि सुमारको टोली पहिलो पटक उनैलाई भेट्न बालकोट पुगेको श्रोतले बताएको छ । एमालेले समर्थन गरेमा नेपालको संसदबाट एमसीसी पास हुने बुझाइ उक्त टोलीको रहेकोसमेत श्रोतले बताएको छ ।
नेपाली कांग्रेस संस्थागत रुपमा एमसीसी जसरी पनि अनुमोदन गरेर लागू गर्ने रणनीतिमा छ । जसले गर्दा माओवादी सहितका अरु दलले साथ नदिए पनि एमसीसी अनुमोदन गर्न संसदमा बहुमत पुग्छ ।
माओवादी अध्यक्ष प्रचण्डले एमसीसीको निहुँमा गठबन्धनमा फाटो आउने संकेत गरिसकेका छन् भने ओली इतर कित्तामा हुँदा चर्को विरोध गर्ने एमाले उपाध्यक्ष भीम रावलले एमसीसी विरुद्धको स्वर मलिनो बनाउन थालि सकेका छन् ।
एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संशोधन नगरी लागू गर्नु नहुने बताएका छन् । उनी नेतृत्वको दलको भातृ संगठनका युवाहरुले यसै विषयमा गृहमन्त्रीको पुत्ला समेत जलाई सकेका छन् । एमसीसी विरुद्ध देशव्यापी भण्डाफोर अभियान चलउनुपर्ने उनीहरुको आव्हान छ ।
जसपाका अध्यक्ष यादव एमसीसी अनुमोदन गर्नु नहुने अडानमा छन् भने त्यही पार्टीका संघीय परिषद् अध्यक्ष बाबुरा भट्टराई भने एमसीसी तत्काल अनुमोदन गर्नु पर्ने भन्दै सामाजिक सञ्जालको सदुपयोग गरिरहेका छन् ।
सत्तारुढ गठबन्धनकै अर्को दल राष्ट्रिय जनमोर्चा पार्टी पनि एमसीसीको चर्को विरोधमा छ ।
यसरी सडकदेखि सदनसम्म चर्को विरोध र समर्थनबीचको द्वन्द चलिरहेका बेला सुमार नेपाल आएकी छिन् । उनी नेतृत्वको चार दिने नेपाल भ्रमणले राजनीतिक दलहरुमा ठुलै तरंग ल्याउने निश्चित छ । प्रधानमन्त्री शेर बहादुर देउवाले एमसीसी अनुमोदन नगरे बिदेशी राष्ट्रहरुले सहयोग रोक्ने चेतावनी दिएका छन् । जसले गर्दा सत्तारुढ दलहरुबीच नै यसले द्वन्द बढाउने देखिएको छ ।
२०१७ मै तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेपालको तर्फबाट हस्ताक्षर गरेको यो सम्झौताको बिवादको निराकरण यसपाली भने पक्का हुनेछ ।





















प्रतिक्रिया