Logo

अनलाइनपाना खोज

प्रेस काउन्सिलमा बालकृष्ण बस्नेतको मनपरी, आफ्ना मान्छेले जे उल्लंघन गर्‍यो त्यही शिर्षकमा पुरस्कार पाए



पत्रकार आचारसंहिताको पालनामा नियामक निकाय मानिएको प्रेस काउन्सिल नेपाल आफैं आचारसंहिता बिहीन बन्न पुगेको छ । पत्रकारहरुलाई आचारसंहिताभित्र रहेर समाचार संप्रेषण गर्न निर्देशन दिने काउन्सिलको नेतृत्वमा बालकृष्ण बस्नेत आएपछि काउन्सिल आफ्नै मुल्य र मान्यतामा नै चुकेको हो ।

समाचार संस्थाहरुले प्रकाशित गरेका समाचारका सम्बन्धमा खण्डन प्रकाशित गर्न बारम्बार निर्देशन र ताकेता समेत गर्ने काउन्सिलले बुधबार आफैंले भने अत्यन्त बिवादास्पद निर्णय गरेको छ । काउन्सिलले यस वर्ष पत्रकारहरुलाई वितरण गर्ने पुरस्कारको सूचीमा आफैंले कालोसूचीमा राखेको संचार संस्थालाई समेत समेटेको छ ।

काउन्सिलका अध्यक्ष बस्नेतको अध्यक्षतामा बसेको बैठकले आफैंले कारवाही गरेको हिमालय टाइम्सलाई पुरस्कार दिने निर्णय गरेको छ । गत असार ९ गतेको निर्णयबाट कारवाही गरिएको हिमालय टाइम्सका निर्देशक उज्जवल शर्मालाई काउन्सिलले पुरस्कृत गर्ने निर्णय गरेको हो ।

असार १० गते प्रकाशित गरिएको महासंघको विज्ञप्तिमा स्पष्ट रुपमा २०७७ साउनदेखि २०७८ असार पहिलो हप्तासम्म कालोसूचीमा परेका न्युजपोर्टलको सूची सार्वजनिक गरिएको थियो । जस अनुसार इहिमालयटाइम्स डटकम, वीरगंजसिटी डटकम, एनआरएनखबर डटकम र कोशीपाटी डटकम रहेका थिए । इहिमालयटाइम्स डटकम उज्जवल शर्मा निर्देशक रहेको इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित अनलाइन पोर्टल हो ।

काउन्सिलले कालोसूचीमा राखेको विज्ञप्तिमा इहिमालयटाइम्स डटकम नियमानुसार दर्ता/सूचीकरण भएको नदेखिएकोले नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि दुरसञ्चार प्राधिकरणलाई पत्राचार गर्ने निर्णय भएको व्यहोरा उल्लेख गरिएको छ ।

गत जेठ २० गते तत्कालीन सञ्चारमन्त्री पार्वत गुरुङको आशिर्वाद र निर्णयमा काउन्सिलको अध्यक्ष बनेका बस्नेतले पदभार ग्रहण गरेको समयमा ‘पत्रकारितालाई मर्यादित बनाउन, आचारसंहिता कार्यान्वयनमा उत्पन्न भइरहेका समस्या समाधान गर्न, पत्रकारलाई अभिमुखीकरण गराउने काममा आफ्नो योगदान हुने’ बताएका थिए । तर पटकपटक पत्रकार आचारसंहिता उल्लंघन गर्ने र काउन्सिलको निर्णय र निर्देशन अवज्ञा गरेको भन्दै आफैंले देशव्यापी प्रतिबन्ध लगाएको अनलाइनलाई कारवाहीको तीन महिना पनि नबित्दै सोही शिर्षकमा पुरस्कृत गर्नुपर्ने कारण के हुन सक्छ ?

काउन्सिलले पत्रकार आचासंहिता उल्लंघन गरेको आरोपमा कारवाही गरेको अनलाइनका सञ्चालकलाई प्रेस काउन्सिल आचारसंहिता पुरस्कार शिर्षकबाटै पुरस्कृत गरेर पत्रकार आचारसंहिताकै खिल्ली उडाएको छ । विशेष श्रोतबाट प्राप्त सूचना अनुसार शर्मा र बस्नेतबीचमा विशेष खालको उठबस रहेको छ । त्यही कारणले असार १० गते कारवाहीमा परेको विज्ञप्ति सार्वजनिक भएपछि शर्माले बस्नेतसँग बारम्बार गुनासो पोख्ने गरेका थिए ।

बस्नेतले शर्मालाई उपयुक्त समय पर्खिन भन्दै प्राधिकरणलाई पत्राचार नगर्ने आश्वासन दिएका थिए । बस्नेतको आश्वासन अनुसार नै इहिमालयटाइम्स काउन्सिलको विज्ञप्तिमा उल्लेख गरिए झैं बन्द गराइएन । आफ्नो नेतृत्वमा कालोसूचीमा राखिएको संस्थालाई त्यसको गुण लाउन बस्नेतकै प्रस्ताव र जबरजस्तीमा पुरस्कृत गर्न लागिएको श्रोत बताउँछ ।

त्यसो त आफूसँग अभिन्न मित्रताको सम्बन्ध रहेका गोबिन्दप्रसाद चौलागाईंलाई पनि प्रेस काउन्सिल त्रियाशील पत्रकारिता पुरस्कार शिर्षकको पुरस्कार दिलाउन सफल भएका छन् । बस्नेत अध्यक्ष हुनासाथै चोलागाईंलाई नै लिएर काउन्सिलबाट पश्चिम मुगुको रारा हुँदै हुम्ला पुगेर घुमघाम समेत गरेर आएकोबाट पनि बस्नेत र चौलागाईंको अन्तरंग सम्बन्ध रहेको स्पष्ट हुन्छ । दोलाखा गृहजिल्ला हुनुको योग्यताले काउन्सिलको अध्यक्ष बन्न पाएका बस्नेतले राम्रालाईभन्दा आफ्नालाई पुरस्कृत गर्ने संस्कारको विकास गरेका छन् ।

प्रेस काउन्सिलले असार १० गते जारी गरेको विज्ञप्ति र भदौ ३० गते जारी गरेको पुरस्कृत हुनेहरुको नामावली :

प्रकाशित : ३१ भाद्र २०७८, बिहिबार