Logo

टिप्पणी

नपुजेको देउरालीको ढुंगो



राजनीतिमा प्रवेश गर्नुअघि माधव नेपाल बैंकका खजाञ्ची थिए । बैंकमा हुँदा बैंकिङ हिसावकितावमा इमान्दार नेपाल राजनीतिमा सफल म्यानेजर हुन सकेनन् । आफ्ना समवयी केपी ओलीसंगको स्थायी शत्रुता उनका लागि घाँटीमा अड्किएको ढुंगा बन्यो । डेढ दशक पार्टीको मुखिया हुँदा ओलीमाथि देखाउन नसकेको हार्दिकता ओली सर्वेसर्वा हुनासाथ ‘जस्तालाई तस्तै, ढिंडालाई निस्तै’ भने झैं भयो । त्यसैपनि नेपाली नेताहरु कमै क्षमाशील छन् । शक्ति र सत्ताले उनीहरुलाई थप प्रतिशोधी बनाएको हुन्छ ।

राष्ट्रिय नेता हुनुअघि उनीहरु पहिला गुटमा स्थापित हुन्छन् । गुटबाट अनुमोदन एजेण्डा राष्ट्रिय विषयभन्दा माथि हुन्छ । गुट खेलाउन सबै दलका शीर्ष माहिर छन् । यिनीहरु पार्टी छोड्छन, परिवार छोड्छन तर गुट छोड्दैनन् । केपी ओली त झन् गुट शिरोमणि नै हुन् । आफ्नो भनेपछि अपराधीलाई समेत सातखत माफ गरिदिन्छन् । ओली–नेपालको वैमनष्य कुन हदसम्म पेचिलो छ भन्ने कुरा स्वास्थ्यलाभको कामना ईन्कार गरेको एउटै घटनाबाट पुष्टि हुन्छ । पटक पटक अपमान पिएर पार्टीमा टिकेका उनका लागि प्रचण्ड गुनासो पोख्ने चौतारी भए । ओलीसंग हिसाव किताव नमिलेपछि प्रचण्डका लागि उनी ‘रामवाण’ भए । 

अदालतको आदेशअनुसार एमाले र माओवादी आआफ्नो घर फर्किएपछि पूर्वएमालेजनको मनभरि लड्डू फुटेको छ । एमाले लेखिएको बोर्ड राख्ने हानाथाप छ । देशैभरि अविरजात्रा छ । ओलीलाई देवत्वकरण गर्नु उनीहरुको दिनचर्या बनेको छ । उनीहरु प्रचण्ड र माधव नेपाललाई सपनामा पनि सम्झन चाहँदैनन् । प्रधानमन्त्री मौन छन यद्यपि उनको सचिवालयले माधव नेपाल समूहलाई ‘अपराधी’ घोषणा गर्न एउटा शब्द पनि बाँकी राखेको छैन् । 

अदालतको आदेशले हुने नक्कली पुनर्मिलनको अर्थ के रहन्छ ? एकथान सांसद पद बचाउन गरिने एकताको औचित्य के हुन्छ ? यदि भावनात्मक एकता हुन्थ्यो भने जिन्दगीभर आफूलाई कम्युनिष्ट पोसाकमा उभ्याएका बाबुराम उमेरको ६ दशक नाघेपछि कम्युनिष्ट विरोधी किन हुन्थे ? नेपालको कम्युनिष्ट इतिहास शुरु भएको वर्षभन्दा बढी टुक्रामा किन विभाजित हुनुपथ्र्यो रु टुक्रिनुपर्ने उमेरमा मिल्ने, मिल्ने उमेरमा विभाजित हुनु नेपालका कम्युनिष्टहरुको दुर्भाग्य हो । युवावस्थामा कसैको सहारा नभए हुन्छ । तर जीवनको उत्तराद्र्धमा सहयोगी अपरिहार्य हुन्छ । यो सत्यबाट निरपेक्ष रहनु भनेको राजनीतिक र व्यक्तिगत दुवै जीवन निरर्थक हुनु हो । 

ओली, नेपाल र दाहालका सहकर्मी सबै विवादास्पद छन् । आर्थिक मामलामा सबै जुठिएका छन् । बोल्ने, सुन्ने संस्कार कसैमा छैन् । मुखियाहरु मिल्न खोजे पनि चण्डमुण्डले मिल्न दिँदैनन् । उनीहरु बरु सुर्याउनतिर लाग्छन् । नेताको कमजोरीमा विद्यावारिधि गर्नु नै उनीहरुको पहिलो र अन्तिम योग्यता हो । ओलीका गोकुल र माधव नेपालका रघुजी पन्त उस्तै हुन् । दुवैका सचिवालयका मानिस यति अयोग्य छन्, दुई नेता मिलेमा यिनीहरु वडा अध्यक्षका उम्मेद्वारमा समेत योग्य नठहरिने स्पष्ट छ । 

नेपाली नेताहरुमा माधव नेपाल सरदर सादा छन् । समयप्रति प्रतिवद्ध छन् । एक हदसम्म कुशल संगठक पनि हुन् । कार्यकर्ता सुरक्षा गर्न नसक्ने, आत्मकेन्द्रित उनका दुर्वल पक्ष हुन् । त्यो भन्दा पनि अर्को विषय के हो भने आर्थिक मामिला उनका लागि मृगतृष्णा हो । नेपालमा नेतासंगै उ टाईकुन हुन जरुरी छ । वर्षको बीस, पचास करोड चलखेल गर्न नसक्ने दलको नेतृत्वमा रहन कठिन छ । बाहिर जतिसुकै पारदर्शी भाषण गरेपनि अण्डर टेबल कार्यकर्ता पोस्ने, हेलिकोप्टरमा भाषण गर्न सक्ने, टिकट किनबेच गर्ने, चुनावमा पैसावाल उम्मेद्वार उठाउने र कमजोर उम्मेद्वारलाई बाँड्ने यो नलुकेको गोप्य हो । यस मामलामा एमालेका माधव नेपाल र कांग्रेसका रामचन्द्र पौडेल पहिलो परीक्षामै अनुत्तीर्ण हुन्छन् । 

घरबाट निस्कनु भनेको भएका सम्पूर्ण उपायले काम नगरेपछिको विकल्प हो । नेपालको प्रचण्डसंग दोस्ती इच्छाको नभएर बाध्यताको हो । साँच्चै भन्ने हो भने एमालेमा रहेर मर्नुभन्दा प्रचण्डसंग दोस्ती गाँसेर बहुलाउनु निको भन्ने निष्कर्षमा नेपाल पुगेका हुन् । ओली रहँदासम्म एमालेसंगको सहयात्रा पटक पटक मर्दै बौरिँदै गर्नु हो । उनले सदस्यता दिएकाहरु माधव नेपालको अस्तित्वमाथि प्रश्न उठाउने हैसियतमा छन् ।

नेपालसंग रक्षात्मक रहनुको विकल्प छैन् । मन लागेको गर्न उनी एक्ला छैनन् । लोभीपापी सहयात्रीको भीड छ । एउटा मन्त्रीको लोभमा तामा, तुलसो छुन तयार हुनेको संख्या उल्लेख्य छ । माधव, झलनाथ पिँढीमा पुगिसके तर ओत दिने छाँटकाँट कतै देखिदैन । त्यसो त घर आएका सामान्य पाहुनालाई समेत चिसो तातो सोध्नु हामी नेपालीको सनातनी धर्म हो । 

ओलीको नेतृत्व तलमाथि पर्नासाथ त्यो पार्टीमा नेपाल निर्विकल्प नेता हुन् । त्यसैपनि नेपालको राजनीति म्युजिकल चियर हो । यिनै नेताको पेरिफेरीमा यो शताब्दी घुम्ने पक्काजस्तै छ । आफ्नो नेतृत्वमा पार्टीलाई फुटाएर पुनर्जीवन दिने साहस र सामथ्र्य नेता नेपालमा यो जन्ममा नआउने पक्का छ । प्रतिपक्षी दल नेपाली कांग्रेसमा सभापतिको दाबेदारी देउवाले शुरु गरिसकेका छन् । माओवादीको नेतृत्व प्रचण्डले छोड्ने प्रश्नै छैन् । त्यसैले ओगट्ने मुद्दामा सबैको एकमत हुनेछ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार १९:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।