Logo

वागमती प्रदेश

मुख्यमन्त्री शाक्यको पद धरापमा



वाग्मतती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मतका लागि प्रस्ताव राख्दै छिन् ।

नेकपा (एमाले) विभाजनपछि अल्पमतमा परेकी शाक्यले आज शुरू हुने वाग्मती प्रदेशको नवौँ अधिवेशनमा विश्वासको मतका लागि प्रस्ताव राख्दै छिन् ।

दिउँसो ३ बजे बस्ने संसद बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मतका लागि प्रस्ताव राख्ने राजनीतिक सल्लाहकार माधव अर्यालले जानकारी दिए ।

प्रदेशमा ५६ सांसद रहेको एमाले विभाजनपछि ४३ सदस्यमा सीमित छ । एमालेबाट विभाजित बनेका नेकपा एकीकृत समाजवादीका १३ सांसद वहुमत अल्पमतका लागि निर्णायक छन् ।

१०९ प्रदेशसभा सदस्य रहेको वाग्मती प्रदेशमा सरकार जोगाउन कम्तीमा ५५ सांसद चाहिन्छ । भदौ २ मा एमालेको एकल बहुमतबाट मुख्यमन्त्री शाक्यले संसदममा विश्वासको मत पाउने सम्भावना कम छ ।

तथापि अरु दलको साझेदारीमा बहुमत प्राप्त गर्न सकिने अपेक्षा एमालेको छ । तर‚ गठबन्धनबाहिर रहेका अन्य साना दलसँग मिल्दा पनि मुख्यमन्त्री शाक्यका लागि आवश्यक मत पुग्दैन ।

४३ जना सांसद रहेको एमालेले गठबन्धनबाहिर रहेका विवेकशील साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)सँग सहकार्य गर्दा पनि आवश्यक मत पुर्‍याउन सक्दैन।

प्रदेशसभामा नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, नेकपा एकीकृत समाजवादीका १३ र जनता सामाजवादी पार्टीका एकसहित विपक्षी गठबन्धनसँग ६० प्रदेशसभा सदस्य छन् ।

यो समीकरणमा कुनै परिवर्तन नआए शाक्य मुख्यमन्त्री पदमा अल्पमतमा पर्ने निश्चित छ ।

प्रकाशित : २४ आश्विन २०७८, आइतबार