Logo

गण्डकी प्रदेश

बिनाविभागीय मन्त्री विश्वकर्माले लिए शपथ, गठबन्धनमै असन्तुष्टि



पोखरा । गण्डकी प्रदेशका बिनाविभागीय मन्त्री डोबाटे विश्वकर्माले मन्त्रीको शपथ लिएका छन् । सोमबार साँझ प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले चौतर्फी विरोध भएपछि डोबाटेलाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

८ साउनमा नै उनी मन्त्री बन्ने लगभग पक्का थियो तर अन्तिम समयमा उनको नाम काटियो । मन्त्रीमा नियुक्त भएपछि उनले संविधानअनुसार पाएको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाए ।

मन्त्री नियुक्तिमा सल्लाह नगरेको भन्दै गठबन्धनका नेताहरू भने असन्तुष्ट बनेका छन् । ‘मिचेर गएको महसुस भयो । यसरी नै जाने हो भने गठबन्धन के हुन्छ, के हुन्छ’, माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले भने, ‘हामी मुख्य दल, हामीलाई नै थाहा छैन । अरूलाई झन् के थाहा भयो होला र ?’

उनले मन्त्री बन्ने होहल्ला सुनेपछि मुख्यमन्त्रीलाई अहिले शपथ नगराउन आग्रह गरे पनि नमानेको गुनासो गरे । ‘माथिकै सहमतिमा गरेको भन्नुहुन्छ । माथि सल्लाह भएको भए हामीलाई खबर आउनुपर्ने हो’, उनले थपे, ‘अब कसरी जाने भन्ने छलफल गरौँला । यसमा हाम्रो असहमति छ ।’

माओवादीलगायत सत्ता गठबन्धन र विपक्षी सांसदहरू समेत शपथ ग्रहण कार्यक्रममा सहभागी थिएनन् । अर्को सत्ता साझेदार दल जनता समाजवादीका नेता तथा ऊर्जामन्त्री हरिशरण आचार्यले बाटो बिराएको भन्दै त्यसो नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

‘कांग्रेसले एकपछि अर्को सहमति तोड्दै बेइमान बन्दै गएको छ । स्वेच्छाचारी बन्दै गएको छ’, उनले भने, ‘हामीसँग गरेको सहमति तोडेर अन्यत्रैबाट मन्त्री नियुक्त गर्नु गलत हो । बाटो बिराउँदा राम्रो परिणाम निस्किँदैन ।’

यस प्रदेशमा अब कांग्रेसका छ, माओवादी केन्द्रका चार, जसपाका एक र अर्का एक जना स्वतन्त्र सांसद मन्त्री बनेका छन् ।

प्रकाशित मिति : आश्विन २५, २०७८ सोमबार  ६ : १४ बजे

2.169k
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।