Logo

मनोरञ्जन

नेपाल-भारतको ब्यानरको संयुक्त प्रोजेक्टमा सिनेमा बनाउने पुर्णेन्दु झाको चाहना



पुर्णेन्दु झा चलचित्र निर्देशक हुन् । नेपालमा फिल्म कलेज पढ्ने पहिलो ब्याच झाले पोल्टिकल ड्रामा ‘संरक्षण’ र सोसल कमेडी ‘चौका दाउ’ निर्देशन गरिसकेका छन् । डेब्यु चलचित्र ‘संरक्षण’ मा निखिल उप्रेती, सौगात मल्ल जस्ता स्टार राखेर कमाएको साख दोस्रो चलचित्र ‘चौका दाउ’ ले बचाउन सकेन ।

त्यसपछि केही समय विश्राममा रहेका झाले कोरोनाभाइरसका कारण भएको लकडाउनमा केही फिल्मी योजना बनाएका छन् । उनी अब नेपालीसँगै अन्य भाषामा फिल्म बनाउने योजनामा छन् । साथै, उनी अब ओटीटीलाई समेत हुने कन्टेन्ट बनाउने तयारीमा छन् ।

निर्देशक झा सर्लाहीको गोडैतामा जन्मिएका हुन्, जहाँ सिनेमा हल नै छैन । तर उनी केही किलोमिटर टाढा बरहथवामा आएर सिनेमा हेर्ने गर्थे । स्कुले जीवनमा खासै छुट नपाएका निर्देशक झाले अनायासै बाल्यकालमै चलचित्र निर्देशक बन्ने इच्छा जाहेर गरेका थिए । उक्त समयमा उनले चलचित्रसँग सम्बन्धित म्यागजिन मायापुरी र कामना पढ्ने गर्ने । यसैले गर्दा पनि उनलाई चलचित्रप्रति लगाव थियो । घरबाट साइन्स पढेर डाक्टर बन्न निस्किएका निर्देशक झा काठमाडौं आइसकेपछि आफूलाई निर्देशकको रूपमा चिनाइसकेका छन् ।

फिल्मप्रतिको लगाव

पुर्णेन्दुले कक्षा ६ मा पढ्दा नै निर्देशक बन्ने आफ्नो नजिकको दाइलाई बताएका थिए । त्यसबेला उनी फिल्मी म्यागजिन पढ्ने गर्थे, जसले उनलाई फिल्मतिर तान्दै थियो । ‘मेरो घरमा कामना, मायापुरी जस्ता म्यागजिन थियो, जसलाई म कहिलेकाहीँ पढ्ने गर्थें,’ उनले बाल्यकाल सम्झिँदै भने, ‘एकदिन को के बन्ने भन्ने चर्चा हुँदै गर्दा मैले निर्देशक भनें, तर त्यो सुनेर सबै हाँसे ।’ किनकि फिल्मनगरीमा उनका कोही थिएनन् र आइडिया पनि थिएन कि कसरी यात्रा तय गर्ने । तर उनमा सिनेमाप्रति हुटहुटी थियो, जसलाई पूरा गर्न चाहन्थे ।

एकपटक उनले फिल्मकै कारण अभिभावकमार्फत सजाय पनि भोगे । ‘मेलाको समयमा मन्दिरमा भजन सुन्न जान्छु भनेर म फिल्म हेर्न पुगें,’ उनले बाल्यकालको त्यो पल सम्झिँदै भने, ‘मन्दिरको स्पिकरको आवाज सुन्दै फिल्म हेर्दै थिएँ, तर कतिबेला भजनको स्पिकर बन्द भएर फिल्मको मात्र चलिरह्यो पत्तै पाइनँ ।’

त्यसो त उनलाई राजनीतिक अवस्थाले पनि असर गरेन । ‘हाम्रो घर एउटा पार्टी समर्थक थियो भने जहाँ म फिल्म हेर्ने जान्थें ती अर्कै पार्टीका समर्थक । तर मलाई त्यसको पर्वाह थिएन,’ उनी भन्छन्, ‘हामीलाई यता नजानु उता नजानु भनिन्थ्यो, तर पनि म पुग्थें ।’ उनले स्कुल शिक्षा चितवन आएर पूरा गरे । स्कुले जीवनमा हलमा निकै कम फिल्म हेरेका उनले काठमाडौं आएपछि भने आफ्नो लगाव बढाउन थाले ।

फिल्म कलेजसम्मको यात्रा

पुर्णेन्दु काठमाडौं आइसकेपछि आइएस्सीको अध्ययनमा व्यस्त भए । तर उनको उद्देश्य भने फिल्मनगरीसम्म कसरी पुग्ने भन्ने नै थियो । तर उनी पढाइमै व्यस्त थिए । उनले दुई वर्षको कोर्षमा पहिलो वर्षमा केही विषयमा सफलता पाउन सकेनन् अर्थात् फेल भए । यसैलाई बहाना गर्दै उनले घरमा अब फिल्मतिर जाने पनि बताए । तर उनको घरबाट अझै मिहिनेत साथ पढ्न निर्देशन आयो ।

अन्ततः उनले परीक्षा दिइसकेपछि केही समय पाए । तर उनलाई अतिरिक्त अध्ययनका लागि भारत जानुपर्ने थियो । ‘दूतावासमा पुगेर बुझें, तर इन्टरमै रहेकाले उक्त अध्ययन सम्भव भएन । त्यसैले खाली समयमा नेममा तयारी कक्षा गर्न थालें ।’

उनलाई फिल्मनगरीसम्म जोड्ने पुलको काम भने नीर शाहले गरेका हुन् । ‘नीर सर एकपटक सेमिनारमा आउनुभएको थियो, उहाँले त्यहाँ फिल्मतिर रहर हुनेले सम्पर्क गर्नसक्ने बताउनुभयो,’ उनले सम्झिए, ‘सरको कुरा सुनेपछि मैले घरबाट अध्ययनका लागि आएको पैसा लगेर पुतलीसडकस्थित सेयर मार्केटमा रहेको सम्पर्क कार्यालयमार्फत फिल्म कलेजमा भर्ना भएँ ।’ तर उनलाई घरपरिवारलाई कन्भिन्स गर्नै झन्डै तीन वर्ष लाग्यो । अन्ततः उनी घरपरिवारलाई सम्झाउन सफल भए । फिल्म कलेजको पहिलो ब्याचमा उनीसहित २६ विद्यार्थी थिए ।

सर्ट फिल्मको यात्रा

पुर्णेन्दुले फिल्म कलेजको अध्ययनलाई पूरा गरेपछि सर्ट फिल्म निर्माण गरे ‘अपवाद’ । जसले चर्चा मात्र पाएन, विभिन्न प्रतिस्पर्धामा आफूलाई पहिलो बनाउनसमेत सफल भयो । ‘अपवादले नै मलाई फिल्मनगरीसम्म ल्याएको हो,’ उनले भने ।

तत्कालीन समयमा युएसए नेपालद्वारा घोषणा भएको सर्ट फिल्म फेस्टिभलअन्तर्गतको प्रतियोगितामा प्रथम भए । ‘अपवाद’ मार्फत पहिलो बनेपछि उनलाई धेरै मद्दत पुग्यो, फिल्म बुझ्न । फिल्म कलेज सकाएको एक वर्षपछि नै उनले सन् २००८ मा सर्ट फिल्म विजेता बनेका थिए । तत्कालीन समयमा विजेता बनेपछि उनको चर्चा परिचर्चा भयो । ‘त्यसबेला मलाई निकै खुसी लागेको थियो र म पढ्न विजेताको स्कलरसिपमा भारत गएँ,’ उनले सम्झिए, ‘म एफटिआई पढ्न चाहन्थें, तर त्यहाँ स्कलरसिपअन्तर्गत अन्तै पढ्न गएपछि मैले प्राक्टिकल ज्ञान बढाउने निर्णय गरे ।’

उनी नेपाल फर्किसकेपछि एक स्पेनिस प्रोजेक्टमा एडीको रूपमा आबद्ध भए । त्यहाँ उनले ‘जिन्दगी नमिलेगी दोबारा’ को डिरेक्सन टिम र केही हलिउड फिल्मको डिरेक्सन टिमसँग काम गर्दा धेरै कुरा सिक्ने अवसर पाए । ‘मलाई फिल्म निर्माण हुने प्रक्रिया बुझ्नु थियो, हाम्रो नेपालको मात्र होइन, संसारभरि जसलाई मेरो स्पेनिस प्रोजेक्ट ‘काठमाण्डू सङ’ ले मदत गर्यो,’ उनले सम्झिए ।

संरक्षणको सुरुवात

पुर्णेन्दुले फिल्म ‘संरक्षण’ लाई सन् २०१३ को अगस्टमै सुरुवात गरे, तर रिलिज भयो २०१७ मा । उनलाई लगभग चार वर्ष लाग्यो फिल्मलाई दर्शकसम्म पुर्याउन । तर उनले सोचेको जस्तो भएन । उनले तत्कालीन समयमा मिस नेपाल मलिना जोशीलाई लिएर केही दृश्य पनि छायाँकन गरे, तर फिल्मलाई विविध कारणले निरन्तरता दिन सकेनन् । ‘मेरो केही घरायसी दायित्व पनि थियो त्यसैले प्रोजेक्टलाई निरन्तरता दिन सकिनँ,’ उनी भन्छन्, ‘मलाई चाहिएको क्यारेक्टरको रूपमा मलिनालाई पाएपछि उनलाई लिएर फिल्म सुरु गरे ।’ उनलाई यो आइडिया पनि तत्कालीन समय र अगाडि पनि उठ्ने गरेको तराईको मुद्दा र राजनीतिक अवस्थाले गर्दा आएको थियो, जसबाट संरक्षण तयार भयो ।

तर, उनले डेब्यु फिल्म नै मल्टिस्टारकास्टलाई लिएर तयार गरे , जहाँ धेरै रिस्क पनि थियो । ‘मलाई पनि धेरैले डेब्युमै यस्तो फिल्म नगर भनेर नभनेका होइनन्, तर मेरो लागि यो डेरिङ प्रोजेक्ट थियो,’ पुर्णेन्दु भन्छन्, ‘संरक्षणलाई सुरुवात गर्ने क्रममै हरेक पक्षलाई ध्यान दिएको थिएँ, तर पनि केही प्राविधिक कारणले सोचाइलाई कार्यान्वयन गर्न सकिनँ ।’ त्यसपछि उनले नेक्स्ट प्रोजेक्टमा अर्को जनर सोचे र कथा लेखनमा लागे ।

‘मलाई एकदिन सुवास काफ्लेजीमार्फत पोल्टिकल कमेडी फिल्म गर्ने हो कि भन्ने प्रस्ताव आयो,’ उनी भन्छन्, ‘मलाई पोल्टिकल कमेडी भन्नासाथ रमाइलो लाग्यो । मैले पोल्टिकल ड्रामा बनाएकाले प्रस्ताव आएको अनुमान लगाएँ ।’ उनले एनएफडिसीमा संगीतकार शम्भुजित बास्कोटालाई भेटे र फिल्म गर्ने सहमति भयो ।

चौका दाउको निर्देशन

चौका दाउको कन्सेप्ट सुनिसकेपछि पुर्णेन्दुले लेखनमा अभिमन्यु तिवारीको सहयोग लिए । तर, उनले कन्सेप्ट र प्रोजेक्ट पाउँदा नै कलाकारहरू सन्तोष पन्त र तैयव शाह फाइनल भइसकेका थिए । ‘कन्सेप्टले स्टोरीको रूप लिइसकेपछि कास्टिङमा सन्तोष सर र तैयव तय थिए र अन्य कास्टिङमा लागें,’ उनी भन्छन्, ‘फिल्मले मनोरञ्जनसँगै सामाजिक सन्देश पनि दिन्छ ।’

उनको दोस्रो फिल्मले सामाजिक विकृतिलाई उजागर गर्दै विकृतिसँगै निम्त्याउने अवस्थाको चित्रणसँगै सन्देश पनि रहेको बताए । ‘फिल्मको पहिलो प्राथमिकता मनोरन्जन नै हो, तर सँगै सन्देश पनि छ,’ उनी भन्छन्, ‘फरक फरक जनराको फिल्म गर्ने इच्छा छ, यसबाट कमेडीमा पनि सिक्ने अवसर पाएँ ।’ अब आउने प्रोजेक्ट कमेडी नरहने उनको भनाइ छ ।

आगामी योजना

निर्देशक झा अब नेपालीसँगै हिन्दीलगायतका भाषामा फिल्म तयार गर्ने सोचमा छन् । उनले यसका लागि तयारी थालिसकेका छन् । ‘अब हामीले विदेशी मार्केटसँगै डिजिटल प्लेटफर्मलाई ध्यान दिएर काम गर्नुपर्छ,’ उनले भने । झा बलिउडमा प्रकाश झा प्रोडक्सनसँग सहकार्य गरेर केही प्रोजेक्ट गर्ने तयारी थालेका छन् । ‘अब हामीले कन्टेन्टमार्फत नै दर्शकलाई आकर्षित गर्नुपर्ने हुन्छ र त्यसमा मिहिनेत निकै पर्ने देखिन्छ,’ निर्देशक झाले सुनाए । उनले अब बाँकी रहेको केही प्रोजेक्टलाई विश्व बजारअनुरूप तयार गर्नेसमेत सुनाए । ‘मैले गरिरहेको कोसिस भनेकै नेपाल र भारतको व्यानरको संयुक्त प्रोजेक्ट बनोस् भन्ने हो, उनले भने ।

प्रकाशित : २७ आश्विन २०७८, बुधबार