Logo

विचार / ब्लग

जनताले नचुनेको संसदले नचिनेको मन्त्री



प्रधानमन्त्रीमा नियुक्त भएको अठासी दिनपछि शेरबहादुर देउवाले मनत्री परिषदको बिस्तार गरे । यो बिस्तारमा उनले गजेन्द्र हमाल नामका एक महानुभावलाई उद्योग, बाणिज्य र आपूर्ति मन्त्रीको जिम्मेवारी दिए । हमालजी संसदका सदस्य थिएनन् । संसद सदस्य नभएका ब्यक्तिलाई राष्ट्रिय आबश्यकता भएको खण्डमा छ महिनाका लागि मन्त्री बनाउन पाइने संबैधानिक ब्यबस्था छ । त्यसै अनुसार उनलाई मन्त्री बनाइएको हुनुपर्दछ । हमालमा त्यस्तो कुन चाहीं योग्यता वा बिज्ञता छ जसका कारण उनलाई अहिले नै मन्त्री नबनाइ नहुने थियो ? यसको जवाफ प्रधानमन्त्री देउवा र गठबन्धनका कुनैपनि नेतासंग छैन होला ।

हमालको परिवार कांग्रेसी भएकोले उनलाई मन्त्री बनाइएको कुरामा कुनै तर्क छैन । परिवारकै कुरा गर्ने हो भने यो देशमा यस्ता लाखौं कांग्रेसी परिवार छन् जसले प्रजातन्त्रका लागि अथक संघर्ष गरेका छन् ।

संघीय राजधानी शहरमा चलेको हल्ला अनुसार, गजेन्द्र हमाल सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाजीका जेठान हुन् । प्रारम्भिक रुपमा उनी कांग्रेसका स्थानीय तहका नेता र कार्यकर्ता भएपनि हाल उनी मूलधारको कांग्रेसी राजनीतिमा छैनन् । उनी नेपाललाई हिन्दूराष्ट्र घोषणाको मांगगर्ने संस्थाको नेतृत्वमा छन् । देशमा स्थापित गणतन्त्र, धर्मनिरपेक्षता र संघीय शासनका बिरुद्ध लागेका यस्ता ब्यक्तिहरु नीहित स्वार्र्थी तत्वको इशारामा सक्रिय भै रहेका छन् । उनीहरु गणतान्त्रिक सत्तालाई बदनामगर्न जुटेका छन् ।

अघिल्लो सरकारका पालामा संघीय कार्यपालिका, बिधायिका र न्यायपालिकाका कथित मठाधीशहरुले भागबण्डा लगाएर सत्ताको तरमार्ने जुन प्रबन्ध गरेका छन् त्यसै अनुसार अहिले मन्त्री पद भागबण्डामा गएकोछ । सबैले देख्ने र बुझनेगरी मन्त्री परिषदमा भागबण्डा भएको यो पहिलो पल्ट हो । यो अनीतिपूर्ण र अलोकतान्त्रिक कार्यका लागि प्रधानमन्त्री र प्रधानन्यायाधीश दुबै बराबर जिम्मेवार छन् । यो बाहेक, देशको नेता हौं भन्ने पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, उपेन्द्र यादव र एमालेका अध्यक्ष खडगप्रसाद शर्मा ओली र कार्यपालिका र न्यायपालिकाका नेताहरु पनि उत्तिकै जिम्मेवार छन् ।

नेपालजस्तो स्वतन्त्रताको बिशाल मार्गमा हिंड्न खोजी रहेको सानो देशमा यति चुत्थो षडयन्त्र हुन्छ भने यो देश कहिले सुध्रिन्छ ? यो सबैको मूल कारण निर्गतिलो नेतृत्व नै हो । एकछिनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाकै कुरा गरौं । नेपाली कांग्रेस अहिले जुन अवस्थामा छ त्यो दुर्भाग्यपूर्ण अवस्थाका लागि देउवा जिम्मेवार छन् । देउवाको असक्षम नेतृत्वका कारण कांग्रेसको भूमिका दिन प्रतिदिन खुम्चिदै गएको छ । पार्टीको सभापति हुने मानिसले कुनै नैतिक बन्धनमा रहनु नपर्ने किसिमको स्थिति बसालेकोले पनि अहिलेको अवस्था उत्पन्न भएको हो । यही अवस्था रहने हो भने नेपाली कांग्रेसले आगामी चुनावपनि जित्न सक्ने छैन ।

कम्युनिष्ट पार्टीहरु बिभाजित भएका अवस्थामा कांग्रेसले सजिलै चुनाव जित्दछ भन्नु सुखद भ्रम मात्रै हो । कम्युनिष्ट कार्यकर्ताहरु आफू आफूमा बिभाजित भएपनि कांग्रेसका बिरुध्द एक हुन्छन् भने कांग्रेसी कार्यकर्ताहरु आफनै पार्र्टीका कार्यकर्ता बिरुद्ध बिपक्षीसँग गठजोड गर्दछन् । यो नै कांग्रेसको दुर्भाग्य हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा वर्तमान राजनीतिको समझ र पकड दुबै यथेष्ट छ । तर, उनी अहिले शारीरिक र मानसिक रुपले पनि कमजोर भएका छन् । उनका पार्टीका कार्यकर्ताहरुले आफना आकांक्षाहरुमा लगाम लगाउन सकेका छैनन् । परिवर्तित समयमा ती कार्यकर्ताहरुले आफना आकांक्षाहरुमा लगाम किन लगाउने ? यो संघर्षको समय होइन ।

प्रचण्ड कार्यकर्ताको यो उहापोहका बीच आफैसंग घनिभूत संघर्षमा लागेका छन् । उनी कमजोर भएका छन् ः यो कुराको प्रमाण अहिलेको मन्त्री परिषदमा गजेन्द्र हमाल भन्ने संसदले नचिनेको ब्यक्तिको उपस्थिति हो । प्रचण्डले आफनो राजनीतिक आधिकारिकताका साथ गजेन्द्र प्रसंगको बिरोध गरेको भए शेरबहादुर र चोलेन्द्र दुबैले यस्तो आँटगर्ने थिएनन् । तर, प्रचण्डले त्यसो गरेनन् । उनलाई ठूलो चिन्ता गठबन्धन टुटछ कि भन्ने पर्यो । यो कुरामा आफूले हस्तक्षेपगर्दा गठबन्धन भत्किने हो कि भन्ने चिन्ता । उनले गठबन्धनको नेताको रुपमा साधिकार बोलेको भए माधव नेपाल र उपेन्द्र यादब बोल्न बाध्य हुने थिए । एकप्रकारको दवाव सिर्जना हुन्थ्यो र गजेन्द्रको नियुक्ति रोकिने थियो । यो नियुक्ति रोकिएर गठबन्धन भत्किने पनि थिएन । किनभने, अहिलेका लागि गठबन्धनको बिल्प थिएन । तत्काल निर्वाचनका लागि कुनैपनि पार्र्टी तयार भएको अवस्थामा पनि थिएनन् ।

यो सत्य हो, नेताहरुले देशलाई मजाक बनाएका छन् । आधिकारिक हिसावले बोल्नसक्ने र बोल्नुपर्ने नेताहरु बोल्न चाहँदैनन् – कुनैपनि बिषयमा । सकेसम्म आपसमा मिलाउने । मिलाउने र सुबिधा–सम्पन्न बन्ने । धन कमाउने । आफैलाई फोकटियाको मान–सम्मान अर्पणगर्ने र गराउने । नेताहरुमा रहेको यस्तो प्रबृत्तिले कसरी अगाडि बढन सक्दछ समाज र देश ? के यही नियति हो हाम्रो ?

हिजो जनताले नचुनेको र संसदले नचिनेको ब्यक्तिलाई प्रधानमन्त्री देउवा, अध्यक्ष प्रचण्ड, नेता नेपाल र अध्यक्ष यादव मिलेर लोकतान्त्रिक गणतन्त्र नेपालको ‘संघीय मन्त्री’ बनाए । उसलाई देशको उद्योग, ब्यापार र नून, तेलको आपूर्तिको जिम्मा दिए । उनीहरु आफैले सम्बिधान बनाएका थिए । आफैले संबिधानलाई धोती बनाए । यो कस्तो दुर्भाग्य हो देशको !

प्रकाशित : २७ आश्विन २०७८, बुधबार