बलिउडमा रुचाइएको फिल्ममध्येको एक हो ‘ओ माई गड’ । फिल्ममा परेश रावल, अक्षय कुमार, मिथुन चक्रवतीलगायतको अभिनय थियो ।
फिल्मले उठाएको विषयलाई दर्शकले रुचाए । कसरी धर्मका नाममा पछिल्लो समय केहीले आफ्नो व्यापार फस्टाएका छन् भन्ने यसमा देखाइएको थियो । यही कारण थियो फिल्मले चर्चा पाउनुमा । कन्सेप्ट पनि केही नयाँ थियो ।
यो फिल्मको सफलताले पनि यसको नयाँ सिरिज दर्शकको पर्खाइमा थियो। सन् २०१२ मा प्रदर्शन भएको फिल्मको सिक्वेल छायांकनमा गएको छ । यसलाई दर्शकले १० वर्षपछि सन् २०२२ मा हेर्न पाउनेछन् । फिल्मको छायांकन प्रारम्भ भएको जानकारी अक्षय कुमार स्वयंले सामाजिक सञ्जालमार्फत दिएका छन् ।
फिल्मका लागि तपाईको शुभकामनासँगै आशीर्वादको खाँचो छ,अक्षय लेख्छन्, हामीले इमान्दारितापूर्वक महत्वपूर्ण सामाजिक इस्यु देखाउने कोसिस गर्दै छौँ । अमित रायको निर्देशनमा तयार हुने फिल्ममा पंकज त्रिपाठी, यामी गौतमलगायतका कलाकारहरूको अभिनय रहेको छ ।
पहिलो भागमा धर्मका नाममा भइरहेका व्यापारलाई दर्साएको फिल्मले यसपटक सामाजिक मुद्दालाई उठान गर्ने भएका छन् । फिल्मको विषयमा एक प्रतिक्रिया दिँदै अक्षयले फिल्मले समाजकै एक मुद्दालाई चित्रण गर्ने बताएका छन् । हामीले पहिलो भागझैँ यसपटक पनि सशक्त मुद्दालाई दर्शकसमक्ष ल्याउदैछौँ एक भारतीय पत्रिकाको अन्तर्वार्तामा उनले भनेका छन्, हाम्रा लागि विश्वास कारक हो भने अन्धविश्वास हानीकारक, यसलाई फिल्मले केही हदसम्म प्रस्ट्याउने छ ।





















प्रतिक्रिया