Logo

टिप्पणी

अनलाइनपानाको त्यो समय, यो समय



अनलाइनपाना आजदेखि छैठौं वर्षमा प्रवेश गरेको छ । २०७२ चैत्र ८ गते स्थापना भएको यो अनलाइन न्यूजपोर्टल विभिन्न संघर्षका चरण पार गर्दै यो अवस्थामा आइपुगेको हो । चेन्ज नेपाल ग्रुप अफ कम्पनीको प्रकाशनमा ‘सुसूचित नेपालको चित्र’ मूलमन्त्रबाट  सुरु भएकोे अनलाइनपाना आफ्नो उद्देश्यमा नडगमगाई आमजनतालाई सुसूचित गराउन अग्रसर भइरह्यो ।

सूचनाप्रविधिको विश्वव्यापी विकासको परिणाम सम्पूर्ण सूचना र समाचार एउटा सानो मोबाईलमा अटाउने यस समयमा प्रतिस्पर्धात्मक बन्ने साहसकासाथ स्थापना भएको यस अनलाइनलाई सबै पक्षबाट प्राप्त माया, सद्भावलाई हामीले सफलताको आयाम ठानेका छौं ।

पत्रकारिता समाजको ऐना  हो । त्यो ऐना सधैं सफा राख्नु हाम्रो दायित्व हो । अनुहारमा कालो बोकेर एकहोरो ऐना पुछ्नु भनेको आफूलाई नबुझ्नु हो । हो, यो सत्यसंग हामी भलीभाँती परिचित छौं । त्यसैले जे देख्यौं, त्यही लेख्यौं । आग्रह पूर्वाग्रह हाम्रो शब्दकोषमा थिएन, छैन र हुने छैन । सङलो पानीको कोलाजमा सूचनाको रंग भर्नु हाम्रो नित्यकर्म बन्यो । 

अनलाइनपाना प्रकाशनको आरम्भ गर्दा देश भूकम्पले थिलथिलो बनेको थियो । नाकाबन्दीले  मुलुकको आर्थिक र सामाजिक अवस्था जर्जर थियो । त्यस्तो बेला हामीले यो कठिन यात्राको आरम्भ गरेका थियौं । प्रतिकूल थियो, असम्भव थिएन । आखिर निरन्तर यात्राले त्यही सत्य प्रमाणित भयो । हरेक उद्योग यहाँ टिक्नु र विक्नुको चुनौतीमा छन् । त्यो पीडा सञ्चार उद्योगले पनि राम्रै महसूस गरेको छ ।

 हामीले अनलाइन पानाको बीउ रोप्दा देशमा भर्खरै संविधान आएको थियो । आर्थिक, राजनीतिक र सामाजिक क्षेत्रमा सम्भावनाका पिपिरापिपिरी पलाउने आशा थियो । 

२०७२ मै बनेको संविधानका धारा उपधारा टेकेर नेपालमा दुईवटा महत्वपूर्ण निर्वाचन भए । २२ वर्षदेखि जनप्रतिनिधि नपाएका जनताले घरआँगनमै प्रतिनिधि पाए । प्रतिनिधिसभा निर्वाचनपछि देश गणतन्त्र कार्यान्वयनको चरणमा प्रवेश गर्यो ।

देशले सातवटा प्रदेशमा सातवटै प्रदेश प्रमुख र मुख्यमन्त्री पायो । अर्को कुरा कसैले कल्पना नगरेको पार्टी एकता गरेर केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले सबैलाई अचम्मित मात्र तुल्याएनन्, देशमा स्थायी सरकार आउने र समृद्धि हुनका लागि जनतालाई आशावादी तुल्याए ।

पार्टी र सरकार सञ्चालनमा ओलीले एकलौटी गरेको भनेर एकिकृत बनेको नेकपामा विवाद उनीहरुले नै गरे । बाहिर पार्टी एकता गरेको भनिएपनि उनीहरुले भने जस्तो एकताको आभाष जनतालाई देखाउन असफल रहे । अन्तत केपी ओलीले प्रतिनिधिसभा नै विघटन गरेपछि बढेको विवाद र सडक कब्जा गर्ने एक अर्को समूहको प्रतिस्पर्धाले जग हँसाए । भलै प्रतिनिधिसभा पुनस्र्थापित त भयो तर अदालतले उनीहरुको एकतालाई अवैध भनिदियो । जसले गर्दा उनीहरु पूर्व एमाले र पूर्व माओवादी केन्द्र नै कायम भए ।

कोरोनाको महामारीले विश्व आक्रान्त हुँदा नेपाल निरपेक्ष रहने प्रश्नै भएन । त्यस समयमा सरकार जनताप्रति जवाफदेही नहँदाका दृश्यहरु जस्तो रुपमा हामीसामु आए, हामीले जनतासामु त्यही रुपमा सम्प्रेषण गर्यौं । सरकार र प्रतिपक्ष भनेर कसैको नजिक, कसैको टाढा बन्न लागेनौं । हामीले निरन्तर एकलव्य तरिकाले विधिको शासन र जनचासोको विषय उठान गरी रहयौं । आजको उपस्थिति त्यही जगको निरन्तरता हो । 

स्वतन्त्र, निस्पक्ष र निर्भिक पत्रकारितालाई निरन्तरता दिँदै अगाडि बढ्ने हाम्रो पूर्ववत् लक्ष्य आगामी दिनको लागि पनि हुनेछ । अबका दिनमा पनि हामीलाई पूर्ववत नजरले हेर्नु हुनेछ भन्ने हाम्रो अपेक्षा छ । हामीलाई यहाँसम्म पुर्याउन महत्वपूर्ण साथ, सहयोग र सल्लाह सुझाव दिने आम पाठक वर्ग एवम् सहकार्यको हात मिलाएर सफलताको सहयात्री बन्ने सम्पूर्ण विज्ञापनदाताहरुप्रति कृतज्ञ रहँदै हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

प्रकाशित मिति : चैत्र ८, २०७७ आईतबार  ११ : ५१ बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।