विद्यार्थी जीवनभर म कहिल्यै प्रत्यक्ष रूपमा राजनीतिसँग नजिक भइन वा हुने समय नै मिलेन । मेरो सोझो मगजले बुझने राजनीति भनेको राज+नीति अर्थात् नीतिहरूको राजा । कुनै पनि मुलुकको सम्पूर्ण गतिविधिलाई अन्ततः आफूमा समाहित गर्ने नीति नै राजनीति हो ।
अहिले राजनीतिलाई अतिकति नजिकबाट चिन्ने मौका पाएको छु । उमेरसँगै परिपक्व हुँदै गएको मेरो दिमाग राजनीतिसँग नठोक्की मुलुकको कुनै गतिविधि स्वतन्त्र हुन सक्दैन भन्दा अत्युक्ति नहोला भन्ने निष्कर्षमा पुगेको छ ।
यसै सन्दर्भमा आजकाल मुलुकमा राजनीतिमा युवापुस्ता भन्ने नाराले खूब चर्चा पाइरहेको छ । यसैसँग गएर प्रत्यक्ष होस् वा परोक्ष कुनै न कुनै रूपमा ठोकिन्छ विद्यार्थी राजनीति ।
अब विद्यार्थी राजनीतिको इतिहास पल्टाएर हेर्ने हो भने विद्यार्थी युनियनको अवधारणा दोस्रो विश्वयुद्धभन्दा पुरानो पाइन्छ । यसको सबैभन्दा पुरानो इतिहास सन् १९०६ मा स्टुडेन्ट रेप्रिजेन्टिभ काउन्सिल स्थापना भएको पाइन्छ ।
इतिहास मुस्कुराउने विद्यार्थी राजनीतिको विगत हेर्दा राजनीति स्वार्थमा हाबी नभएर विशुद्ध विद्यार्थीको हकहितको लागि प्रयोगमा आएको देखिन्छ । यसले विद्यार्थीको हकहितमा मात्र काम नगरेर व्यक्तित्व विकासदेखि कुशल नेतृत्वको विकासमा पनि ठूलै भूमिका पुरा गरेको छ ।
त्यसरी विद्यार्थीको पक्षमा सुरु भएर विकृत बनाइँदै गइरहेको राजनीतिको जरा हाल आएर स्कुल, क्याम्पस विश्वविद्यालय आदि शैक्षिक संस्थामा नमज्जाले गढेर बसेको छ । शिक्षा ज्ञानको मुहान हो , ज्ञान परिवर्तनको संवाहक हो भन्ने तथ्य संसारभर प्रमाणित हुँदै गर्दा हामी स्कुल, कलेज जस्ता शैक्षिक संस्थामा विभिन्न राजनैतिक दलका भातृ सङ्गठनको निर्माण गरिरहेका हुन्छौं । स्वतन्त्र कलम चलाउन सिकाउनुपर्ने कलिला हातले झन्डा पक्रिन सिकाउँछौँ । ज्ञानको बीउ छर्न पर्ने कलिलो मस्तिष्कमा राजनीतिक दलका एजेन्डाको बीउ अंकुरण गर्छौ । आफ्नो छुट्टै खालको स्वतन्त्र निर्णय गर्न नसक्ने मस्तिष्कमा ती भारी कथित क्रान्ति र विद्रोहका कुरा थोपरेपछि विद्यार्थीको अध्ययनशीलताले कस्तो दिशा पछ्याउला ?
स्कुल र कलेजका कक्षाहरुमा लेक्चरले पढाएको सुन्न अल्छी मानेर साथीको लहैलहैमा लागेर खुल्ला सडकमा कुनै राजनीतिक दलको झण्डा बोक्न दौडने एक अबोधले कस्तो राजनीति सिक्छ ? हिजोका दिनमा राजनीतिको नाममा जनतामा भ्रम छर्नेहरूको समर्थनमा सडकमा टायर बाल्न दौडिएको अबोधलाई त्यही टायरको रापले भविष्यका कति वर्ष पोल्ला ? र यस्तै नतिजाहीन हर्कतलाई आत्मसात् गरेर कहिलेसम्म ती अवोधको भविष्य टायर जसरी नै सडकमै विलीन बनाइरहने ?
राजनैतिक दलको नेतृत्वबाटै भएको यस्तै स्कुलिङमा आजका विद्यार्थी भोलिका कर्णधार हुन भन्ने तथ्य समातेर ज्ञान, जानकारी सीप हासिल गर्नुपर्ने बेला झण्डा हासिल गरेपछि भने देशको भविष्य कता जाला ? विद्यार्थी राजनीतिले हामी विद्यार्थीहरूलाई के दिइरहेको छ र कता तर्फ लैजाँदै छ भन्ने कुराको मनन हामी युवा विद्यार्थी स्वयमले गर्न आवश्यक छ ।
स्वार्थको राजनीति हाबी भएको मेरो मुलुकमा म पनि अरू कसैको स्वार्थका लागि चलिरहेको त छैन ? एकपटक आफैंलाई प्रश्न गरेर हेरौँ त ।
राजनीतिका नाममा आफ्नै साथीसँग मित्रभावको सट्टा गुट र प्रतिपक्षको साइनो लगाएर अमिलो व्यवहार गर्न सिकाउने राजनीतिबाट हामीले के अपेक्षा गर्ने ? हिजो कुन उद्देश्यले विद्यार्थी राजनीतिको जन्म भएको थियो र आज कसको स्वार्थमा समर्पित हुँदैछ विद्यार्थी राजनीति ? अनि यस्तो राजनीतिले कस्तो नेतृत्व उत्पादन गर्ला ?
नेपालको परिपे्रक्षमा विद्यार्थी राजनीतिको अवधारणा विकास र विभिन्न कालखण्डमा हुँदै आएको यसको प्रयोग र आजको दिनसम्म आइपुग्दा यसले दिएको नतिजा, पछिल्लो समय यसले गरेको दिशा निर्देशलाई सोझो विश्लेषण गर्दा यसले राजनीतिक रूपमा मुलुकलाई दिशाविहीन बनाउँदै गइरहेको प्रष्ट देख्न सकिन्छ ।
सत्ताको मोह र पदको खिचातानीमा लिप्त भई देशको व्यवस्था विधिमा आफ्नो पहुँच पु¥याएको नेतृत्वको तहबाट भएको स्कुलिङमा मौलाउँदै गरेको युवा पुस्ताको विद्यार्थी राजनीतिले भविष्यमा पनि देशलाई निकासको बाटो तर्फ उन्मुख गर्ला भनेर विश्वास गर्ने झिनो आधार समेत देखिँदैन ।
राजनीति खराब हो र यसबाट टाढा बसौं भन्ने यो लेखको आशय होइन । हिजो आवश्यकताले जन्माएको विद्यार्थी राजनीतिको महत्व आज पनि उत्तिकै छ । मात्र यति हो– अबको विद्यार्थी राजनीतिबाट उत्पादन भएका युवाले देशलाई निकासतर्फ डोर्याउन सक्ने समर्थ राखोस् । त्यस्तो औचित्यपूर्ण राजनीति गरौं । अबका राजनीतिज्ञ आफ्नो क्षेत्रमा दक्ष भएर आउन सक्ने राजनीति गरौं । अबको राजनीतिमा कसैको स्वार्थ हाबी नहोस् त्यस्तो राजनीति गरौं ।
हिजो नबुझ्दासम्म मैले पनि अरू कसैले घोकाइदिएको राजनीतिलाई फोहोरी खेल नै मानेर हिँडे । तर राजनीति आफैँमा फोहोर हैन यसलाई बनाइएको हो भन्ने तथ्य बुझ्न मलाई पनि निक्कै समय लागेको हो । राजनीति स्वच्छ तरिकाले पनि गर्न सकिन्छ भन्ने अर्को तथ्य बुझ्न सबैले एक पटक विद्यार्थी राजनीतिको मुस्कुराई रहेको इतिहास निहालौँ । कसैको स्वार्थ र अराजकताको राजनीतिमा आफ्नो जीवनको अमूल्य समय व्यतीत नगरेर स्वतन्त्र राजनीति गरौं ।




















प्रतिक्रिया