Logo

सम्पादकीय

जनताको ढाडसेक्ने मूल्यवृद्धि फिर्ता गरियोस्



सरकारले पटक पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको ४ महिना पुगेको छ । लगातार बढ्दै आएको मूल्यवृद्धिले नेपाली जनता हैरान बनेका छन् ।

उपभोक्तालाई अप्ठ्यारोमा पार्नेगरी बढाइएको मूल्यवृद्धिको चौतर्फी आलोचना हुँदै आएको छ तर सरकारले नागरिकको आन्दोलनबारे कुनै चासो देखाएको छैन । सरकारले कुन कारणले मूल्यवृद्धि गर्नुपरेको हो जनतामाझ स्पष्ट भनेको छैन । मूल्य समायोजनको नाममा पटक पटक गरिने मूल्यवृद्धिको कारण जनता निराश छन् ।

नेपाल आयल निगम घाटामा भएको भन्दै पटक पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्ने पुरानो रोग नै बनेको छ । निगममा हुने अनियमितता, चुहावट, कर्मचारीहरुले लिने अनावश्यक सुविधा र भत्ता कटौती गर्ने हो भने पनि निगमलाई ठूलो राहत मिल्ने पक्कापक्कीजस्तै छ ।

सधै घाटामा गएको नै वहानामा गरिने मूल्यवृद्धिको जति आलोचना गरे पनि कमै हुन्छ । सरकारले अरु कुनै विकल्प खोजेर तत्कालै मूल्यवृद्धि रोक्नुपर्दछ । जति मूल्यवृद्धि गरे पनि जनता चुप लाग्छन् भन्ने सरकारको सोच हो भने यसले सरकारलाई दीर्घकालीन असर पर्न सक्छ । यसअघि ओली सरकारले गरेको मूल्यवृद्धिको विरोधमा जसरी नागरिकहरु सडकमा आएका थिए अब पनि त्यसरी नै आन्दोलन गर्नुको विकल्प छैन ।

सडक आन्दोलन, प्रधानमन्त्री र मन्त्रीको पुत्ला दहन नगरी मूल्यवृद्धि फिर्ता नहुने हो भने त्यो पनि भइरहेको छ । संसदमा प्रमुख प्रतिपक्षमा रहेको एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले निरन्तर सडक आन्दोलन गर्दै आएको छ । उसले प्रधानमन्त्रीको विरुद्धमा चर्का नाराबाजी पनि गरेको छ।

उसले नाफाघाटा जान्दैनौं, मूल्यवृद्धि मान्दैनौ, परमादेश सरकार राजीनामा देु लगायतका प्लेकार्ड पनि प्रदर्शन गरेको छ। तसर्थ जनताको ढाडसेक्ने मूल्यवृद्धि फिर्ता गरियोस् ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ११ : ४८ बजे