Logo

प्रवास

वैदेशिक रोजगार : रहर कि बाध्यता ?



वैदेशिक रोजगार भन्दैगर्दा हाम्रो मानसपटलमा आउने भारत वा खाडी मुलुक हुन् । तर हाम्रो मस्तिष्कले संसारका विकसित मुलुकमा जानुलाई वैदेशिक रोजगार मान्नको लागि तयार भने भएको छैन । कतार र क्यानडा जाने वा अरब र अमेरिका जानेहरूको बीचमा विभेद अहिले पनि हाम्रो समाजले गरिरहेको देखिन्छ ।

सामान्यता हामी वैदेशिक रोजगार भन्नाले विदेशमा काम गर्न जानु भन्ने बुझ्ने गरेका छौँ । खाडी मुलुकमा हामीले बगाएको पसिनालाई हामी बाध्यता बुझ्दछौँ भने विकसित मुलुकमा बगाएको पसिनालाई रहरको तुलोमा जोख्दछौँ । जुन गलत हो । त्यसो त अहिले विश्व बजारमा अन्तर्राष्ट्रिय जनशक्तिको खपत व्यापक रूपमा भइरहेको पाइन्छ । नेपालको अर्थतन्त्र पनि रेमिटेन्सले धानेको छ ।

घर छाड्नु सानो मुटुले सक्दैन । जब भोक मुटुभन्दा ठूलो आकारमा बन्ने क्रममा पुग्छ तब रोजगारीको लागि मान्छेले घर छाड्ने निर्णय लिन्छ । त्यसो त सबै घर छाड्ने भोकाएकाहरूमात्र छन् भन्ने छैन । हामी यहाँ भोकलाई कुनै बिम्बको रूपमा लिन सक्दछौँ । तर गरिबीको चपेटाले पेलिएर मान्छेहरू घर छाड्न विवश छन् भन्ने कुरा चाहिँ शाश्वत नै रहेको छ ।

वैदेशिक रोजगारको इतिहास

सुरुमा को गयो र कति गए भन्ने ठ्याक्कै मिति नै तोकेको कुनै ढड्टा त कुनै प्रशासनमा नभेटिएला तर बोलीचालीको भाषा वा कथ्य कथा सुन्ने हो भने भने नेपालमा धेरै पहिलाबाट नै विदेश जाने चलन रहेको कुरा विद्यमान देखिन्छ । सुरुका दिनहरूमा भारत, बर्मा, भुटान, तिब्बतलगायतका मुलुकहरु गन्तव्य मुलुकहरू नेपालीहरू विशेषतः सैनिक सेवामा भर्ना हुन विदेसिने चलन बढी थियो ।

नेपालले सन् १९९० मा विश्वव्यापीकरणको नीति अवलम्बन गरेसँगै वैदेशिक रोजगारको विषयले चर्चा पाउनुका साथै अन्यत्र मुलुक र सेवाहरूमा समेत गति लिएको भन्ने पुष्टि रहन्छ । यसरी सर्रसती हेर्दा, वैदेशिक रोजगारको इतिहास नेपालमा जति नै वर्ष पुरानो भए पनि २०४२ सालमा वैदेशिक रोजगार ऐन बनेपश्चात् मात्र कानुनी संयन्त्र निर्माण भएको हो ।

सीमित रोजगारीका अवसर सिर्जना भइरहेको स्थितिमा वैदेशिक रोजगारको महत्वलाई आत्मसात गरी आठौँ योजना (२०४९–५४) देखि वैदेशिक रोजगारका लागि गन्तव्य मुलुकहरूको खोजी गर्ने प्रक्रियालाई महत्व दिन थालिएको हो ।

तत्कालीन नेपाल सरकारले वैदेशिक रोजगारलाई वैकल्पिक रोजगारको माध्यमका रुपमा लिँदै २०५४ फागुन १ गतेदेखि सर्वसाधारण नेपालीलाई जिल्ला प्रशासन कार्यालयबाट पनि राहदानी बनाउने सुविधा सुरु गरेपश्चात् ग्रामीण क्षेत्रका नेपालीसमेत वैदेशिक रोजगारमा जाने क्रम तीव्र बन्यो ।

मुलुकमा भएको राजनीतिक परिवर्तनसँगै लोकतन्त्रको भावनाअनुरुप वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित, सुरक्षित र शोषणमुक्त बनाउन नेपाल सरकारले कानुनी, नीतिगत र संस्थागत व्यवस्था गरेको छ ।

मुलुकको जनशक्तिलाई अन्तर्राष्ट्रिय बजारको मागअनुरुप ज्ञान र सीप प्रदान गरी दक्ष, क्षमतावान, सीपयुक्त र प्रतिस्पर्धी श्रमशक्तिको रुपमा उत्पादन गरी वैदेशिक रोजगारमा उनीहरूको प्रवेशलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन वैदेशिक रोजगार ऐन, २०६४ र वैदेशिक रोजगार नीति, २०६८ ल्याएको हो ।

नेपालको संविधान, २०७२ को धारा ५१ को खण्ड (झ) को (५) र (६) मा वैदेशिक रोजगारलाई शोषणमुक्त, सुरक्षित र व्यवस्थित गर्न तथा श्रमिकको रोजगारी र अधिकार प्रत्याभूति गर्न यस क्षेत्रको नियमन र व्यवस्थापन गर्ने तथा वैदेशिक रोजगारीबाट आर्जन भएको पुँजी, सीप, प्रविधि र अनुभवलाई स्वदेशमा उत्पादनमूलक क्षेत्रमा लगाउन प्रोत्साहन गर्ने नीति राज्यले लिएको छ ।

हालसम्म कति गए वैदेशिक रोजगारमा ?

पछिल्लो २८ वर्षमा सबैभन्दा बढी नेपाली कामदार मलेसिया पुगेका तथ्याङ्क भेटिन्छ । मलेसियामा हालसम्म वैदेशिक रोजगारीमा सिलसिलामा १२ लाख ५८ हजार ६२९ जना पुगेको देखिन्छ भने वैदेशिक रोजगार विभागका अनुसार सो अवधिमा कतारमा १२ लाख पाँचहजार ९८, साउदी अरबमा नौलाख ३४ हजार ४११, युएईमा ६ लाख ३५ हजार ७९२, कुवेतमा एकलाख ४९ हजार १८० र बहराइनमा ५६ हजार १७५ जना पुगेको तथ्याङ्क रहेको छ ।

नेपालले हालसम्म मुलुकबाहिर कामको खोजीमा जानका लागि ११० मुलुक खुला गरेको छ भने संस्थागत व्यवस्थाअन्तर्गत श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग र मातहतका कार्यालयहरू, वैदेशिक रोजगार प्रवर्धन बोर्ड, व्यावसायिक तथा सीप विकास तालिम केन्द्र तथा कूटनीतिक नियोगहरूले प्रत्यक्ष रुपमा वैदेशिक रोजगार प्रवर्धन र व्यवस्थापनमा कार्य गरिरहेको छ ।

रोजगारीमा जानुको कारण

जनसङ्ख्याको वृद्विदरको अनुपातको तथ्याङ्कलाई मध्यनजर गर्ने हो भने प्रत्येक वर्ष लगभग चार लाखको हाराहारीमा जनशक्ति उत्पादन हुने गर्दछन् । यसरी हरेक वर्ष श्रमबजारमा आउने श्रमशक्तिलाई श्रम दिन नुसक्नुको परिणाम नै वैदेशिक रोजगारीमा जानुको कारण बन्न पुगेको छ । र उत्पादित श्रमशक्तिलाई रोजगारी वा आयमुलक व्यवस्था गर्न नसक्नू पनि राष्ट्रको लागि चुनौती बन्दै आएको छ ।

अन्य केही कारणहरू यसप्रकार छन् :

– लामो समयसम्म रहेको द्वन्द्व र राजनीतिक अस्थिरताका कारण अझै पनि देशमा रोजगारीका अवसर पर्याप्त सिर्जना नहनु

– मुलुकभित्र लगानी गरेर आयआर्जन गर्न सकिन्छ भन्ने विश्वासको वातावरण नहुनु

– नेपालमा श्रमलाई सम्मान गर्ने संस्कृतिको विकास नहुनु

– न्यून ज्याला र बढ्दो महँगो जीवनशैली

– गरिबीबाट मुक्त हुन छिटो धन कमाउने लालसा बढ्दै जानु

– कृषि पेसाप्रतिको आकर्षण घट्दै जानु

– अन्तर्राष्ट्रिय श्रमबजारमा नेपाली कामदारको माग बढ्नु

– विदेशबाट फर्केकाहरूको जीवनस्तर र आर्थिक उन्नतिले अन्य मानिसमा विदेशप्रति मोह बढ्नु

वैदेशिक रोजगारमा देखिएका केही समस्या

प्रत्येक वर्ष ठूलो सङ्ख्यामा नेपाली युवा रोजगारीका लागि विदेसिने अवस्था रहेकाले यसको व्यवस्थापन गर्न सरकारले विभिन्न नीति, कार्यक्रम र संयन्त्र निर्माण गरी कार्यान्वयनमा छ । वैदेशिक रोजगारी क्षेत्र समस्यामुक्त र सुशासनयुक्त भने हुन सकेको छैन । वैदेशिक रोजगारीमा सीपयुक्त र दक्ष श्रमशक्तिको न्यूनताका कारण रोजगारीमा जाने कामदारहरू सोझै ठगिएको देखिन्छ । सीप, दक्षता र क्षमता भएका श्रमशक्तिको आपूर्ति नहुनुले न्यून पारिश्रमिकमा नेपाली कामदारले काम गर्नुपरेको पनि भेटिएको छ । वैदेशिक रोजगारमा रहेको समयमा दुर्घटनामा परी अङ्गभङ्ग परी स्वदेश फर्केपछि उनीहरूको आर्थिक अवस्था झनै सङ्कटमा परेको देखिन्छ ।

सरकारले चाल्नुपर्ने केही नीति

वैदेशिक रोजगारका लागि सरकारले केही नीति र नियम ल्याउनुपर्ने अत्यावश्यक रहेको देखिन्छ । आफ्ना मुलुकका नागरिकलाई पठाउँदा सीप सिकाएर वा कुनै पनि काममा दक्ष बनाएरमात्र श्रमस्वीकृति दिनुपर्ने देखिन्छ । असमायिक दुर्घटनामा परेकालाई दूतावासबाट पहल गरी कम्पनीबाट आवश्यक क्षतिपूर्ति प्रदान गर्न सरकारले आवश्यक भूमिका खेल्नुपर्ने देखिन्छ । रोजगारमा जाने कामदारहरू विचौलियाको हत्केलामा ठगिने क्रमलाई न्यनीकरण गरी सरकारले आफ्नो स्थानबाट आवश्यक पहल गर्नुपर्ने देखिन्छ ।

अन्त्यमा, समस्यामा जेलिएको वैदेशिक रोजगारलाई न्यूनीकरण गर्नको लागि सरकारले आवश्यक कदम चाल्नु आवश्यक रहेको छ । देशमै आयमुलक अवस्था सृजना गरेर जनशक्तिलाई उचित उपयोग गरेको खण्डमा देशले विकाशको लय समात्ने थियो । विदेश जान बाध्यता नभइ एक रहर बनाउको लागि हरेक नेपालीको आर्थिक हैसियतमा सुधार ल्याउन आवश्यक रहेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  १० : ५१ बजे