Logo

अनलाइनपाना खोज

दुधपोखरी पर्यटकीय गन्तव्य



गोरखा र लम्जुङको शिरमा अवस्थित दुध पोखरी ऐतिहासिक र पवित्र धार्मिक स्थलको रुपमा प्रसिद्ध छ । दुधपोखरीबाट बगेर आएको चेपेखोलाले गोरखा र लम्जुङको सिमाना छुट्टाएको छ । पोखरी समुन्दी सतहबाट ४५ सय ६० मिटरको उचाईमा रहेको छ । विशेष गरि जनै पूणिमामा त्यहाँ हजारौं तिर्थालुहरु जाने गर्छन् ।

जनै पूर्णिमाको दिन दुधपोखरीमा नुहाउँदा सम्पूर्ण पापबाट मोक्क्ष हुने र पुन्य मिल्ने धार्मिक विस्वास रहेको छ । यस पोखरीमा नुहायमा भारतको कासी जान नपर्ने धार्मिक मान्यता रहेको छ । जनैपूणिमाको दिन त्यहाँ भक्तजनहरुको ठूलो घुईचो लाग्छ । दुधपोखरी हिमालचुली र बौद्ध हिमालको काँखमा रहेको छ ।

दुधपोखरी जानेबाटोमा हिमाली फूलहरु फुलीरहेका हुन्छन् । पहेलो, सेतो, रातो, निलो, गुलाबी रङ्गका फूलहरुले दुधपोखरी जाने पर्यटकहरुलाई स्वागत गरिरहेको हुन्छन् । डाँडै—डाँडाको बाटो जताततै हरियाली वतावरण जस्ता प्रकृतिक सुन्दरताले पर्यटकहरुलाई नतमस्तक बनाउन कुनै सर्त बाँकी राख्दैन् ।

दुधपोखरी जान गोरखाको बाह्रकिलोबाट भच्चेक सिरानडाँडा हुँदै र तनहँको डुम्म्रबाट लम्जुङको पाउँदी गउँडाहुँदै पनि जान सकिन्छ । दुधपोखरी जाने बाटोमा भेडा गोठहरु, गाई र भैसीका गोठहरु पनि धेरै भेटिन्छ । जेठ देखि असोजसम्म मात्रै भेडा त्यहाँ राख्न मिल्ने भेडा खोठालेहरुले बताएका छन् ।

असोज देखी बैशाखसम्म भने हिउँ पर्ने र चिसो हुने भएकोले भेडाहरु बेसी झार्ने गर्छन । पर्यटकहरुले त्यहाँ भेडाको उनबाट बनाएको बखु र गाई भैसीको दुधबाट बनेका परिकारहरु किन्न पाउँछन् । पहिले पहिले बस्ने व्यवस्था नगरी गएका पर्यटकहरु गोठहरुमा र बाटोमा भेटिने ओडारहरुमा बास बस्ने गर्दथे ।

लम्जुङको बाटो जाँदा लिपे लेक, चित्रे बन, बाङ्गे ओडार हुँदै ४ हजार मिटर माथि पुग्दा एउटा दायाँ—वायाँ पहरा भएकोबीचको खोल्सा बाटो पार गर्न पर्ने हुन्छ । एउटा रामाईलो कुरा त्यहाँ पुगेपछी, “ढोका खोल्नु बजै” भन्न पर्छ भन्ने प्रचन छ । बाटोमा ठुला पहराहरु, भिर जस्ता केही कठिन बाटोहरु पनि छन् । साहासी पर्यटकहरु धेरै मात्रामा दुध पोखरी जाने गरेको पाइन्छ ।

गोरखाकोबीचभागमा बग्ने दरौंदी नदिको शिर नारद पोखरी, मिमे पोखरी, बारात पोखरी पनि दुधपोखरी जाने बाटैमा पर्छ । लम्जुङको बाटो जाँदा इलिम पोखरी लगायतका पोखरीहरु अवलोकन गर्न पाइन्छ भने गोरखाको बाटो जादा नारद पोखरीको भ्रमण गर्न पाइन्छ । पर्यटकहरुले गोरखाको बाटो जाँदा लम्जुङबाट फर्किने र लम्जुङको बाटो जाँदा गोरखाबाट फर्किने गरेमा धेरै ठाउँहरुको भ्रमण हुन्छ ।

दुधपोखरीमा धेरै पर्यटकहरुको आकर्षण बढाउनको लागि स्थानिय सरकारहरुले बाटो बनाउन सुरु गरेका छन् । पोखरीसम्मै बाटो पुराउन धेरै बजेटको आवश्यक्ता पर्छ यसमा पर्यटन क्षेत्रको विकास गर्ने उदेश्यले केन्द्र सरकारको नै ध्यान जान जरुरी छ ।

दुधपोखरी जाँदा आफूले खाने र बस्ने व्यवस्था आफै गर्न पर्ने हुनाले यात्रा केही कठिन छ । बाटोमा धर्मशाला बनाउने र पोखरी पुरिदै गएकोले यसमा पनि सरकारको ध्यान जान जरुरी छ । पोखरीको संरक्षण र प्रचारप्रसारमा कमि भएको विगत देखी दुधपोखरी नुहाउदै आएका भक्तालुहरु बताउछन् । यति धेरै विषेशताहरु बोकेको दुधपोखरीको संरक्षणमा सम्बन्धित निकायको ध्यान गएन भने आगामी पुस्तालाई पुरीदै गएको दुधपोखरी एकादेशको कथा हुने छ ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ४ : ३० बजे