Logo

अन्तर्वार्ता

कम्यूनिस्टहरु कुरा मिठो गर्ने तर काम उल्टो गर्ने गर्छन : ईन्द्र रिजाल [अन्तर्वार्ता]

कांग्रेस महाधिवेशन केन्द्रीय सदस्य पदका उमेदवार



राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र पुर्ण प्रेस स्वतन्त्रता नेपाली कांग्रेसको मुख्य नारा भन्दै रुपान्तरणसहितको पुस्तान्तरणलाई मुख्य एजेण्डा बनाएर नेपाली कांग्रेसका नेता तथा स्याङजा पत्रकार समाजका अध्यक्ष इन्द्र बहादुर रिजालले आगामी कांग्रेस १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । महाधिवेशनको तयारी कस्तो छ, तपाईले जित्ने आधार के के छन्, आगामी निर्वाचनको रणनीति कस्तो छ, लगायत समसामयिक विषयमा अनलाइनपानाकर्मी रामनाथ कुँवरले रिजालसँग गरेको कुराकानीको सम्पादित अंश :

महाधिवेशनको तयारी कस्तो हुँदैछ ?

हाम्रो स्याङजा लगायत धेरै जिल्लाको अधिवेशन पनि सकियो । १६ र १७ गते देशैभरी प्रदेश अधिवेशन हुँदैछ । त्यसैगरी २४ देखि २७ सम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन हुँदैछ । जिल्ला अधिवेशन रोकिएका जिल्लाहरुमा पनि धमाधम अधिवेशनहरु हुँदैछन् ।

केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ । तपाईको एजेण्डाहरु के—के हुन् ?

म ३३ वर्षदेखि नेपाली कांग्रेसमा निरन्तर क्रियाशील छु । ०४५ सालदेखि नेपाल विद्यार्थी संघको राजनीति शुरुरु गरेर निरन्तर पार्टी राजनीति र एक पत्रकार भएको नाताले प्रेस युनियनको राजनीतिलाई पनि सँगै अगाडि बढाएको छु । आजसम्म पार्टीलाई मैले धेरै योगदान दिएको छु केही लिएको छैन् । निस्वार्थ निष्ठा, ईमान र आदर्शको राजनीति गर्दै आएको छु । हाल पार्टी विचारविहिन र गतिविहिन भएको अवस्थामा हामी जस्तो उर्जाशील विचार भएका धेरै युवाहरुको खाँचो छ । पार्टीमा गहन रुपमा वैचारिक बहसको आवश्यकता छ । पार्टीलाई रुपान्तरणसहितको पुस्तान्तरण गर्नुपर्ने देखिएको कारणले पनि मैले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको हो ।

राजनीतिमा गहन रुपमा होमिएपछि पत्रकारिता छोडनु हुन्छ ?

पत्रकारिता र राजनीतिलाई सँगै लैजाने मेरो अठोट हो । राजनीति गर्दा पत्रकारिता छोड्नुपर्छ भन्ने छैन । म पत्रकारिताको कुर्सीमा बस्दा निष्पक्ष रुपमा पत्रकारिता गरिरहेको हुन्छु । त्यस्तै राजनीतिक रुपमा नेपाली कांग्रेसलाई बलियो बनाउने, संगठन विस्तार गर्ने अभियानमा लागिरहेको हुन्छु । त्यसकारणले राजनीति गर्दैमा पत्रकारिता छोड्नुपर्छ भन्ने छैन् । पत्रकारिता एउटा पेशा हो, म श्रमजीवीको साथसाथै मिडिया उद्यमी पनि हो । केन्दीय सदस्यमा निर्वाचित भए भने राजनीतिक भूमिकाले गर्दा धेरै समय दिन त नसकिएला तर म पत्रकारितामा संलग्न चै सधैं हुनेछु ।

तपाईले केन्द्रीय सदस्यमा जित्ने आधारहरु के—के छन् ?

आजसम्मको निरन्तरको राजनीति र पत्रकारिताको नाताले पनि धेरै समकालीन साथीहरु केन्द्रीय महाधिवेशन प्रतिनिधि बनेर आउनुभएको छ । मेरो व्यक्तिगत सम्बन्ध देशव्यापी रुपमै अत्यन्त राम्रो छ । सबै साथीहरुसँग म सम्पर्कमा छु । म निष्ठावान र इमानदार मान्छे हो भन्ने कुरा धेरै साथीहरुलाई थाहा छ । इन्द्र रिजाल केन्द्रीय सदस्यमा आयो भने पार्टी गतिशील र चलायमान हुन्छ भन्ने कुरा सबै प्रतिनिधिहरुलाई थाहा छ । पार्टीमा वैचारिक बहस गर्न तपाईले सक्नुहुन्छ, तपाईले उम्मेदवारी दिनु पर्छ भन्ने साथीहरु धेरै छन् । पत्रकारिताको माध्यमबाट पनि देशभरी मैले सम्बन्ध विस्तार गरेको छु । यो पनि अर्को आधार हो । मैले पार्टीलाई गरेको योगदान र भूमिका नेता कार्यकर्ता सबैलाई जानकारी भएको आधारले मैले जित्ने आधार बलियो छ भन्ने मलाई लाग्छ ।

नेतृत्वमा दोस्रो पुस्ता आउने सम्भावना कति छ ?

यो महाधिवेशनमा वडादेखि पालिका, प्रदेश क्षेत्रीयदेखि लिएर जिल्ला अधिवेशनसम्म धेरै ठाउँमा युवाहरु नेतृत्वमा आएका छन् । प्रतिनिधिमा पनि युवाहरु जितेर आएका छन् । त्यसकारण यसपटक केन्द्रीय समितिमा पनि युवाहरुको वर्चस्व अधिक हुने सम्भावना छ । सभापतिमा दास्रो पुस्तालाई नेतृत्व हस्तान्तरण हुन्छ भन्ने बलियो आधार देखिएको छ ।

नेपाली कांग्रेसमा धेरै गुट उपगुटहरु छन्, यो गुटहरुको विवादको कारण पार्टीको जनविश्वास गुम्दै गएको छ । यसमा के भन्नुहुन्छ ?

गुट उपगुटले गर्दा पार्टीमा जुन अवस्था देखिएको छ, त्यसलाई व्यवस्थापन गरेर जानुपर्ने छ । त्यसैले गुटरहित बलियो कांग्रेस, हाम्रो कांग्रेस, राम्रो कांग्रेस अनि सबैको कांग्रेस बनाउने अभियानमा हामी छौं । अहिले जसरी केन्द्रदेखि गाउँसम्म गुट उपगुट देखिएको छ । यसलाई हटाएर स्वच्छ र मर्यादित बनाउन हामी लागि परेका छौं । लोकतन्त्रमा आन्तरिक प्रतिस्पर्धा स्वभाविक हुन्छ तर हाल पानी बाराबारको अवस्था छ । त्यसलाई कम गरेर जान सकियो भने पार्टी बलियो हुन्छ । त्यसैले अहिलेको दुरिलाई समाधान गर्नु अत्यन्त जरुरी छ ।

सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसक्नु गठबन्धन कै कारणले गर्दा हो ?

मैले बेला बेलामा भन्ने गरेको छु । नेपाली कांग्रेस हाल कम्यूनिस्टहरुको घेराबन्दीमा छ । सत्तामाा पनि कम्यूूनिष्ट, प्रतिपक्षमा पनि कम्यूनिष्ट छन् । कांग्रेसलाई सत्तामा बस्न जनताले म्याण्डेट दिएका होइनन्, कम्युनिस्टहरुको आन्तरिक झगडाले नेपाली कांग्रेसलाई सत्तामा पुर्‍याएको हो । नेकपा एमाले सरकारबाट बाहिरिदै गर्दा पनि सत्तामा कम्युनिस्टहरु कै रजगज भएको छ । कम्युनिस्टहरुले मिठा कुरा गर्ने तर काम उल्टो गर्ने प्रवृति जनतालाई थाहा छँदैछ । सरकारले राम्रो काम गरेमा आगामी चुनावमा कांग्रेसलाई नाफा हुन्छ भनेर गठबन्धन भित्रबाट नै सरकारलाई अल्मलाउने काम भैरहेको छ । अर्को कारण सबै पार्टीहरुको महाधिवेशन चलिरहेकोले त्यता ध्यान गएकोले सरकारको काममा कमिकमजोरी भएको हो ।

तपाईको विचारमा एमसीसी पास गर्ने कि फिर्ता गर्ने ?

एमसीसीलाई यथास्थितिमा पास गर्न पनि मिल्दैन, फिर्ता गर्न पनि मिल्दैन । किनभने यो पूर्वाधार विकासको महत्वपूर्ण रकम हो । त्यसो हुनाले त्यसमा भएको केही शर्तहरु संशोधन गरेर पास गर्नुपर्छ भन्ने मेरो अनुरोध र आग्रह हो । अमेरिकाले संसोधन नगर्ने भन्ने जुन विषय छ । यसमा राम्रो कुटनीतिक सम्वाद गरेमा अमेरिका लचिलो हुन्छ भन्ने मलाई लाग्छ ।

कांग्रेसका नेताहरुले आगामी निर्वाचनहरुमा बहुमत ल्याउछौं भनिरहँदा, बहुमत ल्याउने आधारहरु के—के छन् ?

एउटा बलियो आधार भनेको नेपाली कांग्रेसको विगतदेखि नै जनमत विग्रिएको छैन । गत निर्वाचनमा कम्युनिस्टहरुको एकताले केही असर पुर्‍यायो । हाल नेकपा एमालेले सत्तामा बस्दा गरेको भ्रष्ट्राचार, विकृति र विसंगतिले जनता आजित भएका छन् । त्यसले गर्दा पनि जनता कांग्रेसलाई विजयी गराउनु पर्छ भन्ने सोचमा छन् । स्थानीय निर्वाचनदेखि सबै निर्वाचनमा कांग्रेसले गठबन्धन गरेर होईन एक्लै भिड्नु पर्छ भन्ने मेरो आग्रह छ ।

राजनीतिमा को कतिबेला मित्र र कतिबेला सत्रु हुन्छ भन्ने निश्चित हुँदैन । कांग्रेसले एक्लै चुनावमा होमिने भन्दा फेरि कम्युनिस्टहरु एक भए भने त पहिले जस्तै केही सिटमा चित्त बुझाउन पर्ला नी ?

कम्युनिस्टहरु मिलेर पनि अब जनताले पत्याउने कुरा छैन् । उहाँहरुको झगडाले सढे ३ वर्षको समय व्यर्थमा गयो । यसले जनता वाक्क भएका छन् । पद र पावरको लडाईले जनतालाई कुनै सेवा प्रदान नगरेको कारणले, भ्रष्टचार र विकृति बढाएको कारणले जनताले कम्युनिस्टको विकल्प खोजेका छन् । नेपाली कांग्रेसले स्पष्ट नीति, विकास र कार्यक्रमसहित जनतामा जानुपर्छ भन्ने मनोभाव जनताको छ । यदि कम्युनिस्टहरु मिले पनि फुटेको सिसालाई गमले जोड्न खोजे जस्तो मात्र हुन्छ । अब चुनावमा कम्युनिस्टहरुले जतिसुकै रणनीति बनाए पनि सहज बहूमत नेपाली कांग्रेसले ल्याउछ । त्यसका लागि कांग्रेस भित्र सहमति, सहकार्य र एकताको वातावरण हुनुपर्छ । हालको जस्तो गुटगत राजनीतिलाई कम गरेर जानुपर्छ ।

अन्तमा, महाधिवेशनको विषयमा जनतालाई र मतदाताहरुलाई के भन्न चाहानुहुन्छ ?

आम जनतालाई म अनुरोध गर्न चाहान्छु की नेपाली कांग्रेसलाई भोट हालेर जिताउनुभयो भने जनताले चाहे जस्तो सुशासन र विकासको लहर चल्ने छ । १४ औं महाधिवेशनबाट चयन भएको नयाँ नेतृत्वले नयाँ कार्ययोजना ल्याउंछ । त्यसैगरी मलाई मतदान गर्ने प्रतिनिधिहरुलाई कांग्रेसलाई गुटरहित बनाउने र वैचारिक बहसको प्रारम्भ गर्ने र कांग्रेसलाई संस्थागत रुपान्तरणमा पुर्‍याउने मेरो लक्ष्य छ । त्यसमा साथ दिन म सबै प्रतिनिधिहरुलाई अनुरोध गर्दछु ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आईतवार १६:२१   :  बजे

1.4K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।