Logo

अन्तर्वार्ता

राजनीतिलाई पेसा होइन सेवा र सत्कर्मको रुपमा अगाडि बढाउन जरुरी छ : अजयबाबु शिवाकोटी [अन्तर्वार्ता]

केन्द्रीय सदस्यको उमेदवार अजयबाबु शिवाकोटी



नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका पत्रकार अजयबाबु शिवाकोटी नेपाल प्रेस युनियनका महासचिवसमेत रहेका छन् । शिवाकोटी दोलखा जिल्लाबाट कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचित भइसकेका छन् । शिवाकोटीले दुई दशक भन्दा बढी समय सक्रिय पत्रकारितामा बिताएका छन् ।

उनी २०६२–६३ को जनआन्दोलनका क्रममा आन्दोलनको दृश्य सबै भन्दा पहिले कैद गर्न पुग्ने पत्रकारका रुपमा चिनिन्थे भने पछिल्लो समय तत्कालिन सभामुख कृष्णबहादुर महरा र गोगुल बाँस्कोटाको विषयको समाचार ब्रेक गरेपछि थप चर्चामा रहँदै आएका छन् । शिवाकोटीले आगामी कांग्रेस १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । महाधिवेशनको तयारी कस्तो छ, तपाईले जित्ने आधार के के छन्, आगामी निर्वाचनको रणनीति कस्तो छ, लगायत समसामयिक विषयमा अनलाइनपानाकर्मी रामनाथ कुँवरले उनै शिवाकोटीसँग गरेको कुराकानीको सम्पादित अंश :

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तयारी कस्तो हुँदै छ ?

हाम्रो महाधिवेशनअन्तर्गत विभिन्न जिल्लाहरुको निर्वाचन परिणाम आइरहेको छ । प्रदेश २ का केही जिल्लामा जिल्ला अधिवेशन हुन बाँकी छ । केन्द्रीय महाधिवेशनका लागि विभिन्न समितिहरु बनाइएको छ । ४ हजार प्रतिनिधिहरुलाई बस्ने खाने व्यवस्थाको लागि काम भैरहेको छ । सोमबारसम्ममा प्रदेश २ बाहेकको सबै जिल्लाहरुको परिणाम आउने अपेक्षा गरिएको छ । १५ गते सम्म सबै जिल्लाको अधिवेशन सकेर १६ गते प्रदेश अधिवेशन गर्ने तयारीमा छौं । यस हिसाबले भन्दा महाधिवेशनको तयारी प्रक्रियागत रुपमा भैरहेको छ ।

स्थानिय देखि जिल्ला अधिवेशनसम्म नै विवादहरु धेरै भएको छ । यसमा नेतृत्वको कम्जोरी हो ?

महाधिवेशनका लागि धेरै पक्षहरु एकआपसमा मिल्न पर्ने रहेछ । तर त्यसमा केही कमीकम्जोरीहरु छन् । त्यसलाई हामीले स्विकार्न सक्नुपर्छ । पटक पटक मिति सारियो अब त्यस्तो हुँदैन् । विगतका कम्जोरीलाई विष्लेषण गर्नु भन्दा पनि हाम्रो ध्यान पूर्ण रुपमा महाधिवेशनमा केन्द्रीत हुनुपर्छ ।

महाधिवेशनमा तपाईले केन्द्रीय सदस्यमा उमेदवारी घोषणा गर्नुभएको छ, तपाईको एजेण्डाहरु के छ ?

हामीले पार्टीको स्थापनाकालदेखी नै राष्ट्रियता र प्रजातन्त्रलाई मूल मन्त्र मानेर अगाडि बढेका छौं । ठूला—ठूला राजनीतिक परिवर्तनहरुमा हामीले देशकै नेतृत्व गरेर अगाडि बढेका छौं । नेपाली कांग्रेसलाई संविधानलाई संस्थागत गर्न पर्ने जिम्मेवारी पनि छ । हामी जहिले पनि लोकतन्त्रको पक्षमा सतिसाल भएर उभिनु पर्छ । यो नै हाम्रो एजेण्डा हो । यो व्यक्तिको मात्रै नभएर पार्टीको एजेण्डा हो । विपि कोइरालाले स्थापित गर्नुभएको लोकतांत्रिक समाजवादको सिद्धान्तलाई हामीले लागु गर्नुपर्छ । गरिबी निवारण गर्दै आम नागरिकहरुलाई शिक्षा र स्वास्थ्य जस्तो समस्याको समाधान गर्नुपर्छ । हुनेखाने र हुँदा खानेबीचको दुरीलाई कम गर्नु आजको आवश्यकता हो । राजनीतिलाई पेसा होइन सेवा र सत्कर्मको रुपमा अगाडि बढाउन जरुरी छ । सबैलाई श्रम र उत्पादनसंग जोड्नु पनि हाम्रो एजेण्डा हुने छ ।

१४ औं महाधिवेशनबाट सभापतिमा नयाँ नेतृत्व आउने सम्भावना कति छ ?

नेकपा एमालको जस्तो प्रतिनिधि छनोटको सम्पूर्ण अधिकार केपी ओलीले लिएको जस्तो नेपाली कांग्रेसले गरेको छैन् । नेपालको पुरानो र ठूलो लोकतांत्रिक पार्टीको हिसाबले आफ्नो महाधिवेशनबाट चुनिएर आएका प्रतिनिधिहरुको विस्वास गर्छ । हालै कस्ले सभापतिमा जित्छ भनेर अड्कलबाजी गर्न जरुरी छैन् । हामीलाई प्रतिनिधिहरुको विवेक प्रति विस्वास छ । समग्रमा हेदा सभापतिमा पनि कडा प्रतिस्पर्दा हुने देखिएको छ ।

राष्ट्रिय राजनीतिको पछिल्लो घटनाहरुबाट जनताहरुमा राजनीतिक दलहरु प्रतिको विस्वास गुमेको छ, यसमा के भन्नुहुन्छ ?

प्रत्येक ठाउँमा असन्तुस्टी छ । प्रत्येक घटनाहरुमा राजनीति जोडिएको हुन्छ । राजनीतिक नीतिहरुको राजा हो । यसहिसावले पनि राजनीतिप्रती जनताको गुनासो हुनु जरुरी छ । राजनीतिक दलहरुले जनताको भावना र चाहानामा खरो रुपमा उत्रिनुपर्छ । यसरि खरो उत्रिन नसक्दा असन्तुस्टीहरु बढ्छ । त्यसको समाधान गर्नु राजनीतिको मूल धेय हुनुपर्छ । यसतर्फ हाम्रो पार्टीको कमीककमजोरी छ भने त्यसलाई सच्याउन हाम्रो नेतृत्व लाग्ने छ । यसका लागि हामी अब आउने नेतृत्वलाई घचघचाउने छौं ।

वर्तमान सरकार पूर्ण रुपमा असफल भएकै हो ?

विरोधीहरुले आरोप लगाउनु सामान्य कुरा हो । पछिल्लो समय नेकपा एमाले २ तिहाईको सरकार बनेको थियो । हाल आफ्नै कारणले विभाजन भएर बाहिरन परेको छ । यसले पनि यो सरकारलाई असर परेको छ । यधपी आम नागरिकका गुनासोहरु पनि छन् यसलाई समाधान गर्न हाम्रो पार्टीको नेतृत्वमा रहेको सरकारले काम गरिरहेको छ । यसमा हामीले पनि सचेत ढंगले पहल गरिरहेका छौं । जनताको माग पूरा गर्न सरकार प्रतिवद्ध छ ।

एमसीसीको विषय सामान्य जनतामा पनि बहसको विषय बनेको छ, तपाई विचारमा एमसीसी पास गर्ने की फिर्ता गर्ने ?

यस विषयमा प्रत्येक पार्टीहरुले आफ्नो दृष्टिकोण प्रस्तुत गरिरहेका छन् । पार्टीहरुले आम जनताको धाराणालाई सम्बोधन गर्नुपर्छ । जुन विषयमा विवाद भैरहेको छ त्यस विषयमा गम्भिर बहस गर्न जरुरी छ । किनभने यो विषयलाई टुङ्गोमा पुर्‍याउन छलफलले सजिलो हुन्छ । हालको पक्ष र विपक्षले आगामी विकासलाई असर नपरोस भनेर त्यसतर्फ पनि ध्यान दिन जरुरी छ । आम नागरिकको भावनालाई पनि ठेस पुर्‍याउन हुँदैन । नागरिकको भावना र वैदेशिक समबन्ध दुबैलाई ध्यानमा राखेर निष्कर्ष निकाल्नपर्छ ।

समूह—समूहको विभाजनले नेपाली कांग्रेस कमजोर दल बन्दै गएको हो ?

लोकतान्त्रिक अभयासमा चुवानको बेलामा गुटहरु बन्नु स्वभाविक हो । कुनै पनि विषयलाई हेर्ने दृष्टिकोणको आधारमा गुटहरु बन्छ तर त्यो अस्थाई हुनुपर्छ स्थाई हुन हुँदैन् । गुटलाई बलियो बनाउने नाममा पार्टीहरु कमजोर हुन्छन् । हाल नेकपा एमालेमा त्यस्तै भएको छ । आन्तरिक अभ्यासमा जे भए पनि बाहिर सहमतीमा जानुपर्छ । गुटको अभ्यासलाई कम गर्न हाम्रो ध्यान केन्द्रीत हुने छ ।

प्रकाशित मिति : मंसिर १३, २०७८ सोमबार  १० : ५९ बजे

162
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।