Logo

कर्पोरेट फोकस

टेलिकमले आठ दुर्गम स्थानमा थप्यो टुजी र फोरजी सेवा



नेपाल टेलिकमले विगतमा जस्तै हेलिकप्टरबाट उपकरण ढुवानी गरी यो आर्थिक वर्षमा अति दुर्गम र विकट आठ स्थानहरुमा जिएसएम टुजी र फोरजी सेवा प्रवाह गरेको जनाएको छ ।

टेलिकमले सोलुखुम्बु जिल्लाको लुक्ला, स्याङबोचे (एयरपोर्ट), नाम्चेबजार र ताक्सिन्दु, गोरखा जिल्लाको छेकम्पार, बिही (गज्र्याङ डाँडा) र न्याक तथा मनाङ जिल्लाको ओडार भ्यू–प्वाइन्ट हेलिकप्टरबाट उपकरणहरु ढुवानी गरी नयाँ टावरबाट सेवा सञ्चालन गरिएको हो ।

यी टावरबाट कम्पनीले सेवाग्राहीलाई टुजी र फोरजी सेवा उपलब्ध गराएको टेलिकमले जनाएको छ । सोलुखुम्बुको लुक्ला साइटबाट खुम्बु पासाङल्हामु गाउँपालिकाका वडा नम्बर २ र ३ का लुक्ला, सुर्के, मुसे, नाजिपाङ, चौरीखर्क, स्याङमा र सगरमाथा पदमार्ग लगायतका क्षेत्रमा टुजी र फोरजी सेवा उपलब्ध भएको हो ।

स्याङबोचे एयरपोर्ट साइटबाट सोही गाउँपालिकाको वडा नम्बर ४ का वस्तीहरु र नाम्चेबजार साइटबाट वडा नम्बर ३ र ५ का नाम्चे, कोङदे, जोरसल्लो लगायतका क्षेत्रमा सेवा उपलब्ध भएको टेलिकमले जनाएको छ ।

त्यसैगरी टाक्सिन्दु साइटबाट वडा नम्बर १ का नुनथला, खरिखोला, थामडाँडा, बुप्सा, पान्गोम र सगरमाथा पदमार्ग लगायतका क्षेत्रमा सेवा उपलब्ध भएको छ । गोरखाको छेकम्पार साइटबाट चुमनुब्री गाउँपालिका वडा नम्बर ४ अन्तर्गतका छेकम्पार, छोकाङसहित छिमेकी राष्ट्र चीनसँग जोडिएका पर्यटकीय क्षेत्रहरुमा सेवा उपलब्ध भएको टेलिकमले जनाएको छ ।

गोरखाकै बिही (गज्र्याङ डाँडा) नयाँ साइटबाट सोही गाउँपालिकाको वडा नम्बर ५ अन्तर्गत क्वाकडाँडा, बिही गाउँ, सराङ गुम्बा ल्हो, प्रोक, सामा, लार्केपाससहित मनास्लु ट्रेकिङ रुटलगायतका क्षेत्र र न्याक साइटबाट वडा नम्बर ३ अन्तर्गत न्याक, लिक्पा, डेंग, सिर्दिबास फिलिम, भान्सिङ र मनास्लु ट्रेकिङ रुटलगायतका क्षेत्रहरुमा सेवा उपलब्ध भएको पनि कम्पनीले जनाएको छ ।

त्यस्तै मनाङको ओडार भ्यु प्वाइन्ट साइटबाट न्यासो गाउँपालिका अन्तर्गत ओडार, नाचे, थोंचे, धारापानी, तिल्चेलगायतका क्षेत्रमा सेवा उपलब्ध भएको छ ।

यसैगरी अन्य ३ (तीन) दुर्गम र विकट स्थानहरुमा हेलिकप्टरबाटै सामान ढुवानी गरी निकट भविष्यमा नेपाल टेलिकमले टुजी र फोरजी सेवा सञ्चालन गर्ने तयारी गरिरहेको टेलिकमले जनाएको छ । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिकाको फाक्दिङ र नाचिपाङ र दार्चुला जिल्लाको व्यास गाउँपालिकाको छाङरु साइटमा टावर स्थापना गरी सेवा सञ्चालन गरिने उसले जनाएको छ ।

हाल यी स्थानहरुमा संरचना निर्माण भइरहेको छ ।सेवा सञ्चालनमा आए पश्चात यी क्षेत्रका सेवाग्राहीले गुणस्तरीय भ्वाइस तथा डाटा सेवा प्रयोग गरी लाभ लिन सक्ने टेलिकमको विश्वास छ ।

तुलनात्मक रुपमा लगानी बढी हुने तर व्यावसायिक रुपले प्रतिफल प्राप्त नहुने यस्ता अति दुर्गम र विकट स्थानहरुमा समेत नेपाल टेलिकमले दूरसञ्चार सेवा विस्तार गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ ।

मुलुकका अत्यन्त दुर्गम र विकट स्थानमा रहेका वस्तीहरुमा दूरसञ्चार र सूचना प्रविधिको पहुँच पुर्याउन नेपाल टेलिकमले दशकौं अगाडिदेखि नै परिवहनका विभिन्न उपायहरु अपनाउँदै आएको छ ।

प्रकाशित मिति : मंसिर १३, २०७८ सोमबार  ११ : १५ बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।