Logo

विचार / ब्लग

नेपालमा पर्यटन क्षेत्रको अवस्था र सरकारको नीति



नेपालको पर्यटन क्षेत्र पछिल्लो समय केही खुले पनि कोभिड–१९ को असरले अझै ठप्प जस्तै छ । तेस्रो लकडाउनपछि भर्खर भर्खर खुल्न थालेको बेला पर्यटन क्षेत्रमा बाह्य पर्यटकबाट कोभिडको जोखिम पनि उत्तिकै रहेको छ । यस्तो अवस्थामा ‘घुम्नका लागि नेपाल सुरक्षित गन्तव्य हो, यहाँ घुम्न सुरक्षित छ,’ भन्ने सन्देश बाह्य र आन्तरिक पर्यटकलाई दिन सरकार, निजी क्षेत्र र सरोकारवाला सबैले दिनुपर्ने देखिन्छ ।

नेपाल पर्यटन बोर्डका पूर्व सिइओ दीपकराज जोशीको अनुसार, ‘पहिलो कुरा कोरोनाको महामारीपछि आफू जाने गन्तव्य कति सुरक्षित छ भनेर पनि हेर्नुपर्छ । त्यसका लागि हाम्रो एयरपोर्ट, गाडी, होटल, रेस्टुरन्टदेखि हिमाल, खोलानाला, ताल, मठ–मन्दिर, जंगल सफारी, घुम्ने क्षेत्रहरूमा पर्यटकहरूले त्यहाँचाहिँ एउटा सुरक्षा चाहिँ छ भन्ने खालको कुरा महसुस गर्ने अवस्था बनाउनुपर्छ । कोभिडका कारण अहिले जुनसुकै विभिन्न खालका झन्झटहरू थपिएका छन् अहिले विभिन्न मापदण्डले गर्दा घुम्न जाने गन्तव्य महँगो भएको छ की भन्ने सोचाई हुन्छ । त्यो महँगो छैन है भन्ने हिसाबले सरकारलेपर्यटकलाई बुझउने नीति ल्याउनुुपर्छ ।’

यो पर्यटक घुम्न आउने सिजन हो । यतिबेला आन्तरिक तथा बाह्य पर्यटनलाई प्रोत्साहन गर्न सके आन्तरिक पर्यटनबाटै नेपाल खुल्ला छ भन्ने सन्देश बाह्य बजारमा पु¥याउन सकिनेछ । त्यसका लागि पर्यटन विभाग, पर्यटन बोर्ड तथा मन्त्रालयबाट अनुमति दिएर आन्तरिक पर्यटनलाई चलायमान बनाउनुपर्छ । नेपालमा अहिले २ हजार मिटरभन्दा माथिको अल्टिच्युट सम्ममा यो केस ठीक हुन्छ ।

अन्नपूर्ण क्षेत्रमा सेप्टेम्बर अक्टुबरबाट हाई ट्रेकिङ सिजन हो । बाहिरको ट्रेकिङभन्दा आन्तरिक गन्तव्य मनपराउने नेपालीहरू पनि थुप्रै छन् । त्यसो त केही खुल्ला गरे पनि नेपालमा अहिले पनि विदेशबाट आउने मान्छे कम्तिमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्छ भन्ने नीति रहेको सरकारको छ ।

तर, यस्तो प्रावधानले पर्यटकहरू आउने चाहना राख्दैनन् । यसले गर्दा स्वतः पर्यटन क्षेत्रमा नकारात्मक असर गर्छ, त्यति मात्रै होइन पछिसम्म ती आउन चाहने पर्यटकको मनमा खुल्यो कि, खुलेन कि, खुलेर पनि दुई हप्ता क्वारेन्टाइन बस्नुपर्ने हो कि भने शंका मनमा रहिरहन्छ । यस्तो अवस्थामा पर्यटनको विकल्पको रूपमा क्वारेन्टाइन भन्दा पीसीआर टेस्ट गरेर पर्यटकहरूलाई सहज बनाउनुपर्छ ।

सरकारले पर्यटकलाई नेपाल घुम्नका लागि सहज वातावरण तयार गर्र्नुपर्छ । यहाँ आउने पर्यटकले आफ्नो देशमा पीसीआर टेस्ट गरेपछि, नेपाल आएर पनि पुनः पीसीआर टेस्ट गर्ने र सात दिनभन्दा बढी बस्ने पर्यटकलाई घुम्दाघुम्दैको अवस्थामा पनि पीसीआर परीक्षण गर्ने वातावरण निर्माण गरे पर्यटनमा अहिले नै राम्रो सम्भावना बढेको छ ।

धेरै देशहरूले आफू घुम्न जाने देशले अहिले के गरिराखेको छ, त्यहाँ कस्तो अवस्था छ भन्ने कुराहरु इन्टरनेटबाट आउनुअघि नै जानिसकेका हुन्छन् । यदि, सात दिनभन्दा बढी बस्ने पर्यटक छ भने गन्तव्यको बीचैमा घुम्दाघुम्दै एउटा पीसीआर टेस्ट गरेपछि, ऊ ढुक्क भएर घुम्छ । क्वारेन्टाइन टुरिजमको विकल्प होइन परीक्षण मात्रै विकल्प हो भन्नेचाहिँ सरकारले एउटा मेकानिजम बनाइदिए पर्यटकहरू स्वतः बिना डर आउन सक्छन् ।

यस्तै, बाह्य पर्यटन प्रवद्र्धनका लागि सहज गर्न भिषा निःशुल्क बनाउने सरकारको नीति हुनुपर्छ । भिषा शुल्क नलिने र पीसीआर परीक्षणलाई अनिवार्य बनाउने हो भने पर्यटनको वातावरण बन्नेछ । ती शुल्कको सट्टामा ३० देखि ५० डलरमा टेस्टिङ शुल्क गरे भने पनि सहज हुन सक्छ ।

आन्तरिक पर्यटनका लागि पनि प्रभावकारी रणनीति आवस्यक छ । सरकार आफू पनि डराउने र निजी क्षेत्रलाई पनि तर्साउने काम गर्दा पर्यटन क्षेत्र थप प्रभावित बन्ने भएकाले निजी क्षेत्रले सिमित स्रोतबाट अधिकतम काम गर्न सक्नुपर्छ ।

नेपालको पर्यटनको इमेज बाहिर अत्यन्तै राम्रो छ । कोरोनाको असरबाट पुनरुत्थान हुने मुलुकमा नेपाल पनि पर्ने भएकाले अहिलेदेखि नै तयारी गर्नुपर्ने देखिन्छ । नेपालको पर्यटन इमेज, पर्यटन ब्रान्ड एकदमै राम्रो छ । कोरोनाको असर पछि रिभाइभ हुने धेरै कम मुलुकमा नेपाल पर्नेवाला पनि छ ।

आव ०७८÷७९ मा पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकारले ५० अर्ब छुट्याएको छ । पर्यटन क्षेत्रलाई चलायमान बनाउन उक्त ५० अर्ब रुपैयाको पुनरुत्थान कोषको परिचालन तत्कालै गर्नुपर्ने देखिन्छ । खर्च गर्ने समय यही हो । जुन आवश्यक परेको बेला हो यो समयमा कोषलाई परिचालन गर्न नसके, पछि परिचालन गरेर कुनै अर्थ हुन्न ।

पछिल्लो समय नेपालमा सामाजिक, राजनीतिक एजेन्डाभन्दा पनि विकासका एजेन्डाले प्राथमिकता पाएको छ । लगानीकर्ताले पर्यटनमा लगानी गर्ने वातावरण पनि बनेको छ । यही बेलामा देशको आर्थिक गतिविधिलाई चलायमान बनाउन पर्यटन क्षेत्र महत्वपूर्ण भएकाले सरकारले निजीसँग हातेमालो गर्दै अघि बढ्नुपर्छ ।

लगभग कोरोना महामारी सुरु हुुनभन्दा अघि नेपालको होटल उद्योगमा लगभग १० खर्ब लगानी भइसकेको थियो । त्यो आधारमा हेर्दा हाल १३ खर्बभन्दा बढी नै नेपालको होटल उद्योगमा लगानी भइसकेको हुनुपर्छ । हुन पनि कैलालीको धनगढीलगायत विभिन्न स्थानमा मात्रै होटल उद्योगमा ८ अर्बभन्दा बढी लगानी भइसकेको छ ।

त्यस्तै, सन् २०१८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुस्ताङ जिल्लामा रहेको हिन्दूहरूको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिर भ्रमण गरेपछि मुक्तिनाथको भ्रमण गर्ने भारतीय पर्यटकहरूको घुइँचो नै लाग्न थालेको छ । यसरी, भारतीयलगायत अन्य देशका पर्यटकहरूको चाप बढ्न थालेपछि हाल मुुस्ताङ जिल्लाको मुक्तिनाथ रारा ताललगायत विभिन्न हिमाली पर्यटकीय क्षेत्रमा समेत नयाँ होटल खुल्ने क्रम बढेको छ ।

पहिले नेपालका मुख्य पर्यटकीय क्षेत्रमा होटेल वा लज उपलब्ध थिएनन् । होटेल तथा लज नहँुदो क्याम्पिङ ट्रेक गर्नुपर्ने हुन्थ्यो । त्यो बेला मुक्तिनाथ दर्शन गर्न आउने भारत युरोप, अमेरिकालगायत विकसित देशका देशबाट आउने पर्यटक तथा पदयात्रीहरूलाई क्याम्पिङ गरेर बस्नुपर्ने बाध्यता थियो ।

यसरी हेर्दा गत वर्षको तथ्यांकअनुसार मात्रै पनि नेपालले वार्षिक २५ लाख विदेशी पर्यटकहरू धान्न सक्ने बेड क्षमता रहेको छ । यसबीचको एक वर्षमा केही नभए तापनि १०-१२ हजार बेड क्षमता बढेको हुन सक्छ । यसरी हाम्रो देश नेपालमा होटल उद्योगले अपेक्षितभन्दा छिटोछिटो गति लिएको मान्न सकिन्छ । तर, त्यहीअनुसार विदेशी पर्यटकहरू नेपाल भ्रमणमा आएनन् भने होटल उद्योगले नाफा कमाउने त कता हो कता सञ्चालन खर्चसमेत उठाउन कठिन पर्ने देखिन्छ । त्यसमाथि ‘होस्टेल’ र ‘होम स्टे’ ठूला व भनौं तारे होटलहरूका लागि प्रतिस्पर्धी रहेको देखिन्छ । यसरी हेर्दा काठमाडौंजस्तो सुविधा सम्पन्न क्षेत्रमै ‘होस्टेल’ र ‘होम स्टे’ चलाउन दिनु हुँदैन भन्ने ठूला वा भनौं तारे होटलका सञ्चालकहरूले राखेको मागलाई पनि सम्बोधन गर्ने हो कि ? यसतर्फ सरकारको मातहतमा रहेको निकायले सोच्नुपर्ने देखिन्छ ।

अहिले नेपालमा १४ वटा त पाँचतारे होटल मात्रै सञ्चालनमा आएका छन् । त्यस्तै चारतारे होटलको संख्या ८ छ भने तीनतारे होटल ३७ वटा छन् । उता दुईतारे होटलको संख्या पनि ४३ छ । उता एकतारे होटलको संख्या ३३ छ भने पर्यटकस्तरीय होटलको संख्या ५ सय ७ रहेको छ । यो होमस्टे र होस्टलबाहेकको संख्या हो । होटल सञ्चालकहरूको संस्था (हान) ले दिएको जानकारीअनुसार अरू तीन–चारवटा ठूला होटलहरू बन्दैछन् ।

हाल कोरोनाका कारण बन्द रहेका होेटेल रिसोर्ट, मठ मन्दिर, पर्वत, खोला नाला, ताल, जंगल सफारीलगायत विभिन्न पर्यटकीय गन्तव्यलाई सरकारले विस्तारै सहज वातावरण बनाउँदै लैजाने हो भने पर्यटन क्षेत्र पुरानै अवस्थामा फर्किन धेरै समय लाग्दैन । यसका लागि सरकार तथा निजी एकजुट भएर लाग्नुपर्छ ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ५ : ०९ बजे