Logo

विचार / ब्लग

ओली र देउवा तन्त्रमा रुमलिएको युवा जनशक्ति



युवा देशको खम्बा हो भनिरहँदा तपाईँले आफूलाई सम्झनु भयो ? आफैँलाई मूल्याङ्कन गर्नुभयो ? आफूलाई युवाको दर्जामा तपाईँले राख्दा तपाईँले आफूलाई युवाको दर्जामा राख्न कत्तिको भूमिका खेल्नुभएको छ जस्तो लाग्छ ?

पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवालले आफ्नो आत्म संस्मरणमा पूर्व राजा वीरेन्द्रको भनाइ राखेका छन् ‘प्रकृतिका हरेक प्राणीहरू अद्वितीय हुने भएकाले एकसँग अर्कोको तुलना गर्नु उचित हुँदैन ।’ यो भनाइसहितको प्रसङ्ग उल्लेख गरेका छन् ।

नदीले कहिल्यै को ठूलो भनेर झगडा गर्दैन । फूलले कहिल्यै को राम्रो फुल्छ भनेर वार्तामा बस्दैन । ढुङ्गाले कहिल्यै को बलियो भनेर लेखाजोखामा व्यस्त हुँदैन । न त यिनीहरूका आसेपासे नै सक्रिय रहन्छन् । तर आफूले आफैँलाई सर्वश्रेष्ठ मानेको मान्छेले आफैँलाई तुलना गरेर बसेको पाइन्छ । तुलना गर्ने क्रम भने कोठाभित्र सीमिर रहेको छैन । सीमित त यहाँ राजनीतिमा देखिएको छ । नेपालमा खेल खासै नफस्टाएका कारण खेलाडीलाई तुलना गर्ने सङ्ख्या कम नै छ । तर राजनीतिमा भने यस्तो छैन । असारको व्यस्ततामा गोरु व्यस्त भएझैँ हामी जनता आफ्ना मानक मानेका राजनीतिज्ञहरूलाई तुलना गर्ने एक समूह नै छ । र त्यो समूह हो, युवा ।

केपी शर्मा ओली सरकारबाट बाहिरिएसँगै नयाँ प्रधानमन्त्रीका रुपमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सत्तारोहण भएको धेरै नै समय भयो । सामाजिक सञ्जालहरूमा ओली र देउवाको तुलना हुनको समय पनि निकै भएको छ । हुन त यो क्रम यसअघि पनि चलिरहेकै थियो । यो सामान्य नै हो । तर कसले तुलना गरिरहेको छ ? किन गरिरहेको छ ?

यही विषयमा लेखक सुर्दशन खतिवडा भन्छन्, “बोल्ने कुरामा ओली ‘खप्पिस’ छन् । लोक प्रचलनका उखान टुक्काहरूको उपयुक्त प्रयोग र प्रभावकारी प्रस्तुतीकरण ओलीका विशेषता हुन् । तर देउवाबाट यसरी मनोरञ्जनात्मक शैलीमा कुराकानी सुन्न पाइने छैन । पञ्चायतविरुद्धको आन्दोलनका क्रममा पाएको यातनाका कारण उनको जिब्रोमा समस्या पनि छ । त्यसैले उनीहरुको बोलीमा समानता छैन । त्यसैले सामाजिक सञ्जालमा ओली र देउवाका बारेमा विभिन्न बिम्बहरू बनेका छन् ।”

हामी युवालाई देशको मतलव छैन ? छ भने हामी किन उनीहरूको पछि छौँ । जसको कार्यकालबाट हामी सन्तुष्ट नै भएका छैनौ । अझै पनि उनीहरूलाई नै नेतृत्वमा ल्याउन किन मरिहत्ते गरिरहेका छौँ ? यो प्रश्न कसलाई गर्ने र के जवाफको अपेक्षा गर्ने ?

सुशासन दुवै नेताको मन्तव्यमा महत्वपूर्ण प्राथमिकतामा पर्छन् । तर व्यवहारले भने त्यस्तो पुष्टि गर्न सकेको छैन । दुवै नेता यो सवालमा परीक्षित हुन् । दुवै नेताको शासनकालमा केही काण्डहरू जोडिएर आएका छन् । बोली र व्यवहारबीचको अन्तरले दुवै नेताले आफ्नो विश्वसनीयताको ग्राफ घटाएकै छन् ।

नेपाली राजनीतिको सेरोफेरोमा ओली र देउवाको राज कति भएको छ भनेर हामी आफैँ अनुमान गर्न सक्छौँ । हामी ओली र देउवाको फेरो समाएर नेता मन्त्री बनाएको पुस्ताका सन्तान हौँ । हामीले पनि उनीहरूकै जय जयकार गाउँदै हिँड्नु पर्ने बाध्यता किन सृजना भइरहको छ ? हामीले कहिल्यै यो विषयमा सोचेका छौँ ?

विश्व सर्वहारा वर्गका महान शिक्षक कमरेड माओ त्से तुङ्गले ‘यो संसार तिमीहरूको पनि हो, हाम्रो पनि हो तर अन्त्यमा यो तिमीहरूकैं हो ।’ भनेर संशलेषण गरेका थिए । यसबाट पनि के प्रष्ट हुन्छ भने, युवा केवल भविष्यको भागीदार मात्र नभई वर्तमान समयको साझेदार पनि हो । तर युवा राजनीतिमा आउन खोज्दा केले बाधा गरिरहेको छ ? प्रश्न यहाँनेर छ ।

देशको शासन व्यवस्था परिवर्तन देखि लिएर हरेक खाले क्रान्ति र बदलावको अग्रमोर्चाहरुमा युवा वर्गको त्याग, बलिदान, संघर्ष र सहभागिता अतुलनीय रहदै आएको छ तरपनि हाम्रो देशमा परिवर्तित व्यवस्थाको व्यवस्थापक बन्ने अवसर अहिलेसम्म युवा वर्गले पाउन सकेका छैनन् । यसमा दोष कसको हो ? निसन्देह दोष हाम्रो नै हो । दोष हामी युवाको नै हो ।

हामी युवालाई देशको मतलव छैन ? छ भने हामी किन उनीहरूको पछि छौँ । जसको कार्यकालबाट हामी सन्तुष्ट नै भएका छैनौ । अझै पनि उनीहरूलाई नै नेतृत्वमा ल्याउन किन मरिहत्ते गरिरहेका छौँ ? यो प्रश्न कसलाई गर्ने र के जवाफको अपेक्षा गर्ने ?

युवा अब पनि सचेत रहेनन् भने देशको भविष्य अन्धकारमय छ । जोबाट उचित विकाशको काम भएन उसैलाई नै देवत्व बनाउँदै हिँड्नु आजको स्थितिमा जायज भने छैन ।

विगत हेर्ने हो भने दुईवटा शासकीय कालखण्डपछिका लोकतान्त्रिक अभ्यास अवरूद्ध भएका थिए । पहिलो, राणा शासनको अन्त्यपछि संक्रमण पार गर्दै नेपाली कांग्रेसको दुईतिहाइ बहुमतको सरकार बनेको थियो । त्यसलाई विस्थापित गरेको सक्रिय शाही शासन पञ्चायतको रूपमा ३० वर्ष रह्यो । त्यसको अन्त्यपछि लोकतन्त्रको दोस्रो इनिङ– २०४७ सालको संविधानअनुसार संवैधानिक राजतन्त्र सहितको बहुदलीय प्रजातन्त्रमार्फत आरम्भ भएको थियो ।त्यसको तीन वर्षमै मध्यावधि चुनावमा गयो देश ।

तत्कालीन संविधानविरुद्ध औपचारिक रूपमा सरकार गठन भएको चार वर्षपछि बन्दुक उठ्यो, माओवादी विद्रोहको रूपमा । तर विद्रोही दलको उस बेलाको इतिहास, बहस र निर्णय हेर्ने हो भने बहुमतको सरकार गठनसँगै विद्रोहको जग बसाइसकेका थिए प्रचण्ड–बाबुरामले । अस्थिरताको चक्र चल्दै जाँदा २०५६ सालमा कांग्रेसले फेरि बहुमत प्राप्त ग¥यो ।

तर सत्ताधारी दलभित्र सल्किन थालेको देखिने आशङ्का र असझदारी, नेत्रविक्रम चन्द र सीके राउतका गतिविधि विगतका विफल राजनीतिक अवस्थासंग दुरुस्तै मिल्दाजुल्दा छन् । जहाँ युवाको नै हात रहेको छ । देशलाई जहिल्यै युवा चाहिएको छ । युवाले हरेक आन्दोलन र हरेक समयमा राजनैतीक सङ्ग्राम साथ दिएको नै छ । तर के त्यसको प्रतिफल पाएको छ ?

हामी युवा लोभमा चुर्लुम्म भएका छौँ भन्दा कुनै अतिसुयोक्ति नहोला । हरेक नारा र जुलुसमा हामी अग्रपङ्क्तिमा आउँछौँ । चर्को आवाजमा नारा लगाउँछौँ । हामीले लगाएको नाराले कोही सत्तामा पुग्छ । हामी फेरि बेरोजगार बन्छौँ । हामीलाई कसैले केही सान्तवना भाषणमा दिन्छ । हामी पत्याउँछौँ र ताली बजाउँछौँ । सत्तामा खुट्टा तानातान हुन्छ । एकले अर्कोलाई लडाउँछ । उनीहरू सडकमा आइपुग्छन् । हामी उनीहरू आइपुग्दा नपुग्दै उनीहरू उचालेर फेरि सत्तामा पुर्याउँछौँ । तर यो कहिलेसम्म हुन्छ ?

चुनाव आउँछ । हामी युवा त्यसको तामझाममा लाग्छौँ । यो पार्टी राम्रो र त्यो पार्टी सही भन्दै हामी उफ्रन्छौँ । जसको कुनै गरिमा छैन । किनकि हामी सचेत छैनौँ । हामी एकले अर्कालाई तुलना गरेर बसेका हुन्छौँ । अन्तिममा यसै पनि हात लाग्यो शून्य नै हुन्छ ।

हरेक जुलुसमा हाम्रो साथ देखेर आज पनि राजनीतिक दल र नेताहरू आफ्नो र्बचश्व कायम राख्न आनन्दित छन् । हामी त अलिकति पेट्रोल, अलिकति मासु र अलिकति रक्सीमा दौडिन्छौँ । हामीलाई के मतलब ? यो देशको भविष्यको । यो देशको विकाशको । हामीलाई हल्ला भए पुग्छ ।

जसले चालीस वर्ष राजनीति गरेर पनि देशको उन्नतीमा माखो मारेको कुनै छाती फुलाएर भन्न सक्ने उदाहरण छैन । हामी उनीहरूलाई नै पटक पटक नेतृत्व सुम्पन खोजिरहेका छौँ । गल्ती कसको र कहाँनेर हो भन्नेकुरा हामी आँखा चिम्म गरेर नै पत्ता लगायउन सक्छौँ । त्यसैले हामीलाई एक सभ्य नेतृत्वकर्ताको खाँचो छ ।

जुलुसमा युवा चाहिन्छ । महाधिवेशनमा युवाको खाँचो रहन्छ । यिनीहरूले जागिर खाए भने बिदा नपाएर कार्यक्रम नै स्थगित हुने हो कि भन्ने डरले रोजगारको वातावरण सृजना नभएको होला भन्ने सोझो अनुमान लगाउन सकिन्छ ।

हामीले हामीभित्र गडिएर रहेको पुरानो सोचलाई बदल्न सक्यौँ भने मुलुकमा नयाँ राजनीतिक दलहरू र नयाँ नेतृत्वलाई अवसर दिन सकिन्छ । यिनै पुराना दलको भरोसामा परेर आँखा चिम्लेर सहयोग र साथ हुनाले पनि युवा आमनागारिकले यो दूरदशा भोग्नु परिरहेको छ । यसबाट उन्मुक्ति पाउनको लागि युवा जमात नै सचेत रहनुपर्ने आवश्यकता रहेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ५ : १० बजे