Logo

सम्पादकीय

नेतृत्वमा युवाको आगमन



चाडपर्वजस्तो चलिरहेको महाधिवेशनमा नजर घुमाउने हो भने धेरै दलको नेतृत्वमा युवाको अग्रसर भूमिका देख्न सकिन्छ । यो भूमिका भने महाधिवेशनको कार्यकालसम्मको लागि मात्र हो कि भनेर ठम्याउने स्थिति पनि छैन । किनकि युवा भनेर नेतृत्वमा पुगेकाहरूको नजर अन्दाज पनि हामीले गर्दै आएका छौँ ।

अबको स्थितिमा युवाहरू युवा चिन्तनसहित सरकारमा जान पाउनुपर्छ । केही युवा नेतृत्वको कृपाले गएका सत्तामा गएका छन् । हामीले देखेकै हो कि युवाहरूले स्वतन्त्र विचार बनाउन पाएकै छैनन् । अब त्यो सीमा तोडेर युवाहरूले स्वतन्त्र विचार बनाउनुपर्छ ।

युवाले यथास्थितिप्रति प्रश्न गर्ने, नयाँ खोज गर्ने, नयाँ दिशामा युवाहरूलाई लिएर हिँड्ने प्रवृति पूरै निरूत्साहित भएको स्पष्ट देखिन्छ । त्यसैले युवाको फरक फ्लेबर आएको देखिँदैन ।
पितृसत्तात्मक सोचमा सदियौँदेखि चलिराखेको हाम्रो समाजबाट स्वाभाविक रूपमा नयाँ पुस्ताले पनि त्यही सोच ग्रहण गरेको छ ।

“आजको पुस्तासँग ज्यानै दिने गरी लागिपर्ने कुनै मुद्दै छैन । निश्चय नै, विगतको अवस्थामा झैँ भीषण क्रान्ति आजको आवश्यकता नहोला । तर उदार एवं सभ्य समाज निर्माणका बाधक जटिल समस्याहरू आज पनि विद्यमान छन् । ती समस्याको समाधान कुनै एउटा तन्नेरी नेताको सिल्भर बुलेटबाट होइन, सुसूचित नेतृत्व पंक्तिको निरन्तर कार्यकुशलताबाट मात्र सम्भव छ ।” कुनै समयमा प्रदिप गिरिले गरेको यस टिप्पणीलाई आजको युवाले सोच्नु आवश्यक छ ।

लामो समयसम्म सामन्तहरूको चाकडी गर्नुपर्ने अवस्थाबाट गुज्रिएको नेपालको प्रशासनमा लोकतान्त्रिक चेतनायुक्त युवाहरू राष्ट्रसेवामा आजीवन योगदान दिने सङ्ल्प बोकेर प्रवेश गरेको छ । यो पुस्ताले लोकतन्त्रको मूल्य स्थापित गर्नेछ भन्नेमा ढुक्क हुन सकिन्छ । किनकि त्यसलाई सुदृढ बनाउने दायित्व पनि तिनै युवाले लिएका छन् ।

राजनीतिक एजेन्डासहितको विचार बोकेको र लोकतन्त्रप्रति प्रतिबद्ध पुस्तालाई राष्ट्रभावबाट ओतप्रोत गराएर विभिन्न निकायमा प्रवेश गराउनुपर्छ । त्यसपछि मात्रै बुर्जुवा शैलीको कर्मचारीतन्त्रको अवशेष मेटिनेछ । जसबाट युवा व्यवस्थापनमा सहयोग पुग्छ साथै सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको नारा सार्थक हुन्छ ।

आफ्नो दक्षता वृद्धिको सवालमा युवा सधैँ जिम्मेवार र चनाखो बनेका बन्नुपर्छ । अहिले गरिरहेको कामलाई जीवनसँग जोड्दै अझ परिष्कृत गरेर लानुपर्छ । युवालाई प्राविधिक क्षेत्रसँग जोड्ने तारतम्य राज्यले नै मिलाइदिनुपर्छ ।

युवाको सवालमा जीवनोपयोगी शिक्षा दिन राज्यको ध्यान आवश्यक छ । युवाको क्षमतालाई सबैभन्दा बढी सदुपयोग गरेर राष्ट्रिय निर्माणमा योगदान दिने अवसर राज्य नै अघि नसरेसम्म सम्भव छैन । समृद्धिको अभियानमा चलायमान हुने पहिलो पङ्क्ति युवा नै हुन् ।

स्थानीय सरकार र युवा परिचालनको सवालमा पनि राज्यले ध्यान दिनुपर्छ । स्थानीय तहको निर्वाचनले धेरै क्षेत्रमा युवा नेतृत्व छानेको छ, यसको अर्थ अब जनताले युवा नै खोजेको हो भन्ने कुरामा हामी विश्वस्त रहन सक्छौँ ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ५ : २४ बजे