Logo

कर्पोरेट टक

म सबै अटोमोबाइल व्यवसायीहरुको हकहितका लागि काम गर्ने विस्वास दिलाउन चाहान्छु : करण चौधरी [अन्तर्वार्ता]

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल : अध्यक्ष पदका उम्मेदवार



सीजी मोटोकर्प तथा सीजी होल्डिंग्स्का कार्यकारी निर्देशक हुन् करण चौधरी । नेपाल अटोमोबाइल डिलर एसोसिएसन नेपाल (नाडा)को सवारी कमिटिका सभापतिमा समेत भइसकेका छन् । नाडामा कार्यभार सम्हाल्नेमा उनी हालसम्मकै कान्छा उपाध्यक्ष हुन् । नेपाल अटोमोबाइल डिलर एसोसिएसन (नाडा)को आगामी मंसिर २२ र २३ गते हुने ४५ औं वार्षिक साधारण सभा हुँदैछ । सभाले नयाँ कार्यसमितिको निर्वाचन गर्दैछ । निर्वाचनका अध्यक्ष पदका उम्मेदवार चौधरीसँग संघको ४५ औं साधारण सभा र उहाँको उम्मेदवारीकासँग सम्बन्धमा रहेर अनलाइनपानाकर्मी रामनाथ कुँवरले गरेको कुराकानीको सम्पादित अंश :

नाडाको ४५ औं वार्षिक शाधारण सभाको तयारी कस्तो हुँदैछ ?

हाम्रो नाडाको वार्षिक शाधारण सभाको तयारी र आगामी कार्यसमिति चयनको लागि निर्वाचनको तयारी भइरहेको छ । विशेष गरि हामीले सबैसंग भेट्ने छलफल गर्ने गरिरहेका छौं । सर्वसहमतिबाट चयन गर्ने कुरालाई पनि कायमै राख्दै वार्ता पनि भैरहेको छ ।

अध्यक्षमा उम्मेदवार घोषणा गरिसक्नुभएको छ, तपाईका मुख्य एजेण्डाहरु के-के हुन् ?

मेरो आजको दिनमा मुख्य एजेण्डा भनेको नै नाडाको प्रादेशिक संरचना बनेको छ । २ हजार भन्दा बढि मान्छे हामीले समेट्न सकेका छौं । उनिहरुको समस्यालाई समाधान गर्ने मेरो मुख्य एजेण्डा हो । सबैको हक हितका लागि काम गर्ने मेरो उदेश्य हो । त्यस लगायत कोरोनाको महामारीलाई नियन्त्रण गर्दै कसरी व्यवसायमा अगाडि बढाउन सकिन्छ भनेर काम गर्ने, मूल्यसूचि न्यून हुन गएको छ यसलाई माथी उकास्न पहल गर्ने लगायतका अटोमोबाइल व्यवासयीहरुको हक हितका लागि काम गर्ने नै मेरो मुख्य एजेण्डा हो ।

सर्वसहमतिमा कार्यसमिति चयन गर्न छलफलमा जुटेको भन्नुभयो, सर्वसहमतिमा नयाँ कार्यसमिति चयन हुने सम्भावना कति छ ?

मैलै एकदमै सम्भावना देखेको छु । यस विषयमा हामीले हिजो पनि छलफल गर्‍या, आज पनि छलफल जारी छ । म एकदमै सकारात्मक छु । सर्वसहमतिमा चयन गर्दा सबै व्यवसायीहरुलाई पनि राम्रो हुने देखेको छु ।

नाडाले संघीयताको अभ्यास गर्दैछ, संघीयतालाई पूर्णता दिन नाडाको तयारी के छ ?

यो हाम्रो पहिलो अभ्यास हो । यो शाधारण सभाले यसलाई लागू गर्ने हो । यसमा हामी केहि राम्रा प्रयासहरु गरिरहेका छौं । यसले गर्दा नाडा छिटै संघीय संरचनामा जान्छ र लगिनेछ ।

प्यानल बनाएर निर्वाचनमा जाँदा व्यवसायीहरुबीच दरार आउँदैन ?

नाडा एउटा सानो संस्था भएपनि ठूलो संरचना भइसकेको छ । यो सबैलाई समेटेर लिएर जाने संस्था हो । यसमा हामीले सबै व्यवसायीहरुको सुझावले नै प्यानलमा उम्मेदवारी घोषणा गरेको हो । सबैको दुखाइलाई कम गर्ने हो भने यो प्यानल बनाएकै कारणले खासै मनमुटाव हुँदैन । यो निर्वाचनसम्म मात्रै हुन्छ । त्यसपछि सबै व्यवसायीसंग राम्रो सम्बन्ध कायमै रहन्छ । त्यसले गर्दा यस्तो विषयमा दरार आउँदैन भन्नेमा म विस्वस्त छु ।

तपाईले अध्यक्षमा जित्ने आधारहरु केके छ ?

मेरो जित्ने आधार भनेकै मैले सबै व्यवसायीहरुसँग राम्रो सम्बन्ध छ । सबैसँग राम्रो सम्बन्ध नै मेरो मुख्य गहना हो । मैले सबै क्षेत्रका व्यवसायीहरुको पिर मर्कालाई बुझेको छु, समस्या बुझेको छु, समाधन गर्नलाई पहल पनि गरिरहेको छु । अझै धेरै समस्याहरु छन् होलान म त्यसलाई पनि पछिल्ला दिनहरुमा मेरो उदेश्य बनाउने तयारीमा जुटेको छु ।

नाडामा तत्काल सुधार्न पर्ने अथवा गर्नै पर्ने काम के-के देख्नुभएको छ ?

सबै भन्दा पहिले गर्नै पर्ने काम भनेको सबैलाई समेट्न पर्ने छ । हामी संघीय संरचनामा गएपछि उहाँहरुको दायित्व के, गर्ने काम के, अधिकार के र कार्यविधि के ? भन्ने विषयको टुङ्गो लगाउन पर्ने छ । त्यो कुरा सबैलाई बुझाएर त्यसलाई कसरी लागू गर्न सकिन्छ भन्ने कुरामा मेरो मुख्य भूमिका रहन्छ । तयसैगरी हामीले ग्राहाकहरुको समस्यालाई पनि सम्बोधन गर्न जरुरी छ । यस्ता कुराहरुमा छिटो काम गर्नुपर्ने देखिएको छ ।

नेपाल सरकार र नाडाबीचको सम्बन्ध कस्तो छ, र अब कस्तो हुनुपर्छ ?

सरकारसँग हाम्रो सधैँ राम्रो सम्बन्ध छ । त्यसमा अझै समधुर सम्बन्ध बनाउनमा हाम्रो भूमिका हुनेछ । सबै कामहरु सरकार र संघका व्यवसायीहरुको हित हुने गरि हुन्छ ।

सवारी प्रदुषण नियन्त्रणमा आगामी दिनमा नाडाको भूमिका कस्तो हुन्छ ?

यो विषयमा सरकारले नाडालाई ध्यानाकर्षण पनि गरिरहेको छ । यसमा खुसि लाग्छ । यसमा हामीले कसरी नियन्त्रण गर्न सकिन्छ भन्नेमा हाम्रो ध्यान हुने नै छ । देशवासीहरुको हकहितमा कसरी यसलाई नियन्त्रण गर्न सकिन्छ भनेर सम्पूर्ण नाडाका सदस्यहरु लागि पर्नुभएको छ । यसमा हाम्रो अझै गम्भिर ध्यानाकर्षण हुन्छ ।

अन्त्यमा, तपाईलाई मतदान गर्ने प्रतिनिधिहरुलाई के भन्न चाहानुहुन्छ ?

उहाँहरुलाई म एउटै कुरा भन्न चाहान्छु । म सबै अटोमोबाइल्स व्यवसायीहरुको हकहितका लागि काम गर्ने विस्वास दिलाउन चाहान्छु । यदि म सक्षम नेतृत्व हो भन्ने लाग्छ भने मतदान गर्दिनुहोला । यदि सक्षम छैन भन्ने लाग्छ भने जो सक्षम लाग्छ उसैलाई गर्नुस मलाई पर्दैन् ।

प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार  ७ : ३० बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।